close

बेथानचोकमा सुरुङमार्ग अध्ययनको लागि सम्झौता

बेथानचोकमा सुरुङमार्ग अध्ययनको लागि सम्झौता

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरिएको छ । 

उक्त अध्ययनका लागि आज विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्राडा मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला–च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौँ विश्वविद्यालयको प्रविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक अध्ययन गर्ने र त्यसका लागि गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोगस्वरुप रु १० लाख उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने  तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

गाउँपालिका अध्यक्ष अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताए। उनका अनुसार सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको छ । 

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सुरङमार्ग अध्ययन स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताए । उनले सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइ हुने तथा खोजमूलक विषय हुने बताए।