close

भरतपुर महानगरः  सडक निर्माण तीब्र

भरतपुर महानगरः  सडक निर्माण तीब्र

Trulli
ADVERTISEMENT

चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । 

भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र  भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । 

ती दुबै सडक निर्माणका लागि महालक्ष्मी/ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ  । वडा नम्बर २५ को सडक निर्माणका लागि करबाहेक रु १० करोड ८६ लाख ५३ हजार चार सय ३५ र वडा नम्बर ९ को सडक करबाहेक रु दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्दै  महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताए। उनले भने, 'अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।' महानगरपालिकाभित्र रिङरोड र लिङ्क रोड निर्माण अघि बढिरहेको उनको भनाइ छ । 

कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए  । उनले भने, 'समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।' सडक कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।