close

अफगानिस्तानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, भूकम्पपछिको वर्षाले उद्धारमा कठिनाई

अफगानिस्तानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, भूकम्पपछिको वर्षाले उद्धारमा कठिनाई

Trulli
ADVERTISEMENT

शक्तिशाली भूकम्पबाट क्षतविक्षत भएको अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अफगानिस्तानमा बुधबार बिहान ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पबाट अहिलेसम्म एक हजार जनाको मृत्यु भए पनि भूकम्पले भत्काएका संरचनाभित्र कति मानिस पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन ।

घाइतेहरूको उपचार र घरबास विहिनहरूलाई सुरक्षित स्थानमा राख्ने काम नै चुनौतीपूर्ण भएकाले भत्किएका संरचनामा पुरिएकाहरूको खोजी गर्नै कठिन भएको तालिबान सरकारले बताएको छ ।

उद्धार, पुनस्थापना र खोजीका लागि आवश्यक स्रोतका लागि तालिवान सरकारले गुहार मागेको हो । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, छिमेकी देशहरू र केही दाता राष्ट्रहरूले तत्काल मानवीय सहयोग गरेको भए पनि कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको अफगानिस्तान सरकार पीडितहरूका आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्थानमा नरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि भईरहेको ठूलो वर्षाले पनि उद्धार र खोजीमा व्यवधान पुर्‍याएको छ । दक्षिण पूर्वी पक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा बढी क्षत विक्षत भएको छ । दुर्गममा रहेका गाउँहरू पूरै ध्वस्त भएको राष्ट्रसंघीय एजेन्सीहरूले बताएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।