close

विकासको मोडल हेर्न सोलुदुधकुण्ड आउनुस्

विकासको मोडल हेर्न सोलुदुधकुण्ड आउनुस्

Trulli
ADVERTISEMENT

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अबको कार्यकाल आधाउधि मात्र छ । यो उत्तरार्द्धसम्म आइपुग्दा कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफूले  प्रतिवद्धता  जनाएका काम पूरा गर्न नसकिएला कि भन्ने चिन्ताले पिरोलेको छ । यो बीचमा साढे तीन वर्ष कानुन, कर्मचारी, कार्यालय भवन, स्रोत व्यवस्थापनमा अल्झिए । पछिल्लो समय कोरोना संक्रमणबाट विभिन्न खाले जटिलता झेल्नु परेका जनप्रतिनिधिहरूलाई सबै काम आजै र अहिले नै गर्नुपर्छ भन्ने लागेको सोलुको दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा सुनाउँछन् । नगरपालिकाले हालसम्म गरेका विकास निर्माण र नागरिकका सरोकारबारे  सोलु दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पासँग शिव अधिकारीले गरेको कुराकानी  

 

 

कोरोना संक्रमण नियन्त्रणका लागि सोलुखुम्बुमै सोलु दूधकुण्ड नगरपालिकाले उत्कृष्ट प्रयत्न गरेको छ । नगरपालिकाले निःशुल्क पीसीआर, निःशुल्क क्वारेन्टाइनदेखि लिएर ६ हजार ५ सय घरधुरीका नगरबासीलाई सरकारको बजेट नै खर्च नगरी प्रत्येक घरमा राहत पुर्‍याउने काम कसरी सम्भव भयो ? 

 

सोलु दूधकुण्ड नगरपालिका सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्ये सदरमुकाममा रहेको छ । हामीले गत चैतदेखि कोरोना फैलिएपछि यसलाई नियन्त्रण गर्न नगरबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर निःशुल्क पीसीआरदेखि राहत र क्वारेन्टाइन निर्माण गर्‍यौँ । यसले गर्दा नगरबासीलाई सहज भयो । 

 

नगरपालिकाले लकडाउनका कारण विभिन्न ठाउँमा फँसेका नगरबासीका साथै सम्पूर्ण सोलुबासीलाई निःशुल्क उद्घार गर्‍यो । बाहिरबाट आएकालाई निःशुल्क क्वारेन्टाइन व्यवस्थापन गरेर हरेक किसिमका सेवासुविधा उपलब्ध गरायौँ । उनीहरूलाई निशुल्क पीसीआर पनि गर्‍यौँ । 

 

अहिलेसम्म हामीले नगरपालिकाभित्रबाहेक सोलुखुम्बुमै र बाहिरका स्थानीय तहसमेतमा गरी करिब ७ सय जनाको निःशुल्क पीसीआर परीक्षण गरेका छौँ । लकडाउनका कारण अप्ठेरोमा परेका नगरभित्रका करिब ६ हजार ५ सय घरधुरीलाई राहत उपलब्ध गराएका छौँ । यी सबै व्यवस्थापन गर्न नगरपालिकाको कोरोना शीर्षकमा भएको खर्च करिब ३० लाख रुपैयाँ मात्र छ । 

 

अन्यत्रका पालिकाहरू हेर्ने हो भने निःशुल्क पीसीआर पनि गरेका छैनन् । क्वारेन्टाइन पनि व्यवस्थित छैनन् । राहत रकम प्रत्येक घरसम्म नपुग्दा पनि डेढ÷दुई करोडको खर्च देखाएका छन् । तपाईंले ३० लाख रुपैयाँमै कसरी यति धेरै काम गर्न सम्भव भयो ? 

 

हामीले गरेको कोरोना खर्च एकदमै पारदर्शी छ, । प्रभावकारी ढंगले नगरपालिकाकै स्रोतसाधन परिचालन गर्‍यौँ । यसले गर्दा पनि हामीले थोरै खर्चमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्यौँजस्तो लाग्छ । 

 

तपाईंले थोरै रकम (३० लाख) मा यति धेरै काम गरिरहँदा अन्यत्रका पालिकाहरूले ५० लाख÷१ करोड खर्च भएको फेहरिस्त प्रकाशित गरिरहेका छन् । यसले गर्दा खर्च गराइमा प्रश्नचिह्न खडा भयो भन्ने लाग्दैन ?

 

महामारी फैलिरहेका बेला केही जननिर्वाचित प्रतिनिधिहरूले अवसरको रुपमा लिए । कोरोनाको नाममा व्यापक भ्रष्टाचार भएको भन्ने सुनियो पनि । यसो हुनुमा कोरोना खर्चमा पारदर्शिता नभएरै हो ।

 

तपाईंकै नगरपालिकामा पर्छ, फाप्रे एयरपोर्ट । विगतमा यो एयरपोर्टमा जहाज अवतरण गर्ने बेला मैदानमै कुकुर, बस्तुभाउ कुदेपछि दुर्घटनासमेत निम्तिन्थे । अहिले एयरपोर्ट व्यवस्थित भएछ । कसरी सम्भव भयो ?

 

तपाईंले भनेजस्तै म निर्वाचित हुँदा फाप्रु एयरपोर्टको अवस्था एकदमै नाजुक थियो । निर्वाचित भएलगत्तै मैले नागरिक उड्डयन प्राधिकरणमा डेलिगेसन गएर फाप्रु एयरपोर्टको स्तरोन्नति गर्न वा उडान बन्द गर्न माग गरेँ ।

 

पछि उड्डयन प्राधिकरणका महानिर्देशक टोली लिएरै आउनुभयो । मैले फाप्रु एयरपोर्टको स्थलगत अवस्थाबारे उहाँहरूलाई जानकारी गराएँ । त्यसपछि नागरिक उड्डयन प्राधिकरणले आवश्यक बजेट विनियोजन गर्‍यो । अहिले फाप्रु एयरपोर्टको पार्किङस्थलसहित पूर्वाधार निर्माण सम्पन्न गरेर स्तरोन्नति भएको छ । 

 

तपाईंको नगरपालिकामा ढल, बाटाघाटा र खानेपानीका समस्या पनि थिए, छन् । अहिले यसमा के प्रगति भएको छ ?

 

सोलु दूधकुण्डमा पनि सहरीकरण बढ्दो क्रममा छ । मान्छे बढेपछि घर बन्ने नै भए । नगरमा व्यवस्थित ढलका लागि बजेट विनियोजन भइसकेको छ । ट्रिटमेन्ट प्लानसहितको ढल निर्माणको काम सुरु गरिन लागेको छ ।

 

बिग्रेभत्केका बाटाघाटा पनि निर्माण हुँदै छन् । मुख्य बजार क्षेत्रका सडकमा बत्ती राख्ने योजना बनाएका छौँ । सदरमुकाममा रहेको जिल्ला अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । त्यसलाई ३० सय शय्याबाट पछि ५० शय्यामा विस्तार गर्न सकिने गरी अहिले भवन बनिरहेको छ । 


सदरमुकामदेखि प्रत्येक वडाको टोलटोलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ । दूधकुण्ड नगरपालिकाको वडा केन्द्रबाट पनि टोलटोल, गाउँगाँउमा बनेका सडकमा अहिले सवारीसाधन गुड्न थालेका छन् ।


नगरपालिकाको वार्षिक बजेट जम्मा १३ करोड रुपैयाँ रहेछ । आन्तरिक स्रोत पनि खासै छैन । अन्यत्रका पालिकाहरूले वडा केन्द्रसम्म बाटो पुर्‍याउन नसकिरहेका बेला तपाईंले टोलटोलमै बाटो पुर्‍याउने अवस्था कसरी बन्यो ? 


नगरपालिकालाई प्राप्त न्यून स्रोतसाधनलाई हामीले प्रभावकारी ढंगले हामीले परिचालन गरेकै कारण नगरपालिकाको प्रत्येक टोलको, प्रत्येक वडाको टोलटोलमा बाटो पुगेको छ । सवारीसाधन गुड्ने वातावरण बनेको छ । अहिले सोलु दूधकुण्ड नगरपालिकामा चार वटा मोटरेबल पुल निर्माण गरिसक्यौँ ।

 

मलाई लाग्छ, नगरपालिकाको एकल लगानीमा चार वटा मोटरेबल पुल निर्माण हुनु चानचुने हुँदै होइन । ७ सय ५३ स्थानीय तहमा यस्तो काम कहीँ पनि भएको मेरो जानकारीमा छैन । हाम्रो स्रोतसाधन प्रभावकारी र पारदर्शी ढंगले परिचालन गरिए यो सम्भव छ । नगरपालिकासँग उपलब्ध स्रोतसाधनलाई प्रभावकारी ढंगबाट परिचालन गर्‍यौँ ।

 

सुरुमा पहिलो नगरसभामै हामीलाई उपलब्ध बजेटबाट नगरपालिकाको सडकको ट्रयाक खुलाउन र सडक स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिन उपकरण, डोजर, रोलर, टिपरलगायतका उपकरण खरिद गर्‍यौँ । 

 

अरु पालिकामा के भइरहेको छ भने सडकमा बजेट विनियोजन गर्ने अनि मेसिन उपकरण आफँैले, पालिका प्रमुखहरूले किन्ने र घुमाउरो ढंगले पालिकासँग सम्झौता गरेर घुमाउरो पाराले त्यो बजेट अन्ततः पालिका प्रमुख र उपप्रमुखको खल्तीमा जाने गरेको छ ।

 

हामीले नगरपालिकाकै स्वामित्व हुने गरी विकास निर्माणका लागि चाहिने मेसिन उपकरण खरिद गरेर विकास निर्माणका कार्य आगाडि बढाएको हुनाले थोरै लगानीमा धेरै उपलब्धि हासिल भएको हो । 


सिंहदरबार अब गाउँगाउँ पुग्यो । त्यो सरकार भएको महसुस तपाईंका नगरवासीले कत्तिको गरेका छन् ? जस्तो, भौगोलिक कठिनाइका कारण तपाईं पनि सबै नागरिकका घर पुग्न सक्नुहुन्न, उनीहरू पनि तपाईंलाई भेट्न आउने पहुँचमा छैनन् । ज्येष्ठ नागरिक, गर्भवती महिला र वर्ग-समुदायका लागि तपाईंले लक्षित गरेका महत्त्वपूर्ण कार्यक्रम के छन् ?


सिंहदरबार अब गाउँगाउँ पुग्यो भन्नुभन्दा पनि अहिले सिंहदरबारका सिंहहरू गाउँगाउँमा पुगे भन्न थालिएको छ । हाम्रो नगरपालिकामा सिंहदरबारको सिंह गाउँगाउँ नपुगेर जनताको सिंह गाउँगाउँ पुगेको छ । 

 

अहिले ज्येष्ठ नागरिक विशेषगरी ७० वर्ष पार गरेकाहरूका लागि प्रत्येक तीन महिनामा घरघरमै स्वास्थ्य सेवा दिन हामीले स्वास्थ्यकर्मीहरू खटाइरहेका छौँ । ६ महिना पार गरेका गर्भवती महिलाहरूका लागि घरघरमै स्वास्थ्य जाँचका लागि नगरपालिकाबाट स्वास्थ्यकर्मीहरू खटाएका छौँ । 

 

अपांगता भएकाहरूलाई स्वास्थ्यकर्मीसँगै औषधी पनि निःशुल्क उपलब्ध गराइरहेका छौँ । सामाजिक सुरक्षा भत्ता पनि घरघरमै वितरण गरेका छौँ । त्यस कारण यहाँका नागरिकले सरकार भएको महसुस गरेका छन् ।

 

नगरपालिकामा नगरप्रमुख तपाईं एउटा पार्टीको हुनुहुन्छ, उपप्रमुख अर्को पार्टीका । वडाअध्यक्षहरू पनि ५/६ जना अर्को पार्टीका छन् । यस्तो अवस्थामा पनि नगरपालिकाले गर्ने निर्णय सर्वसम्मत हुँदा रहेछन् । यस्तो अभ्यास धेरै कम नगरपालिका देखिन्छन् । बहुमतभन्दा सर्वसहमत निर्णय कसरी सम्भव छ ?

 

सर्वसहमतिमा निर्णय गर्ने भनेको एजेन्डा पारदर्शी बनाउने र त्यसलाई नगरपालिकाको कार्यपालिका बैठक अर्थात् नगरसभामा प्रस्तुत गर्ने गरिएको छ । सबैको अभिमत लिएर निर्णय गर्दा नै सर्वसहमत हुन्छ । हामीले पनि गरेको त्यहीँ अभ्यास हो । 


निर्णायक तहमा त कार्यकारी अधिकार नगरप्रमुखसँगै छ । यसमा नगरप्रमुखको भूमिका कस्तो हुँदो रहेछ ?

 

नगरसभालाई सफल बनाउने, त्यहाँ पेस हुने एजेन्डा प्रस्तुत गर्ने र त्यसलाई सर्वसम्मत निर्णय गराउने काममा नगरपालिका प्रमुखको निर्णायक भूमिका रहन्छ ।

 

कतिपय निर्णय अथवा एजेन्डालाई कहिलेकाहीँ कार्यपालिका सदस्यहरूले अहिले नगरौँ, पछि गरौँ भन्दा त्यसलाई नगरपालिका प्रमुखले सहजीकरण गरे उनीहरू सहमतिमा आउँछन् ।

 

महत्त्वपूर्ण कुरा के भने कुनै पनि एजेन्डामा पालिका प्रमुखको कुनै सर्त रह्यो भने मात्र कहिलेकाहीँ त्यो बैठक विवादित हुन सक्छ । 

 

भुस्याहा कुकुरको व्यवस्थापन गर्न करिब ५ सयभन्दा बढी कुकुरहरूको बन्ध्याकरण गराइसक्नुभएको रहेछ । किन महत्वमा पर्यो यो विषय ?

 

नगरपालिकाको कार्यक्षेत्रभित्र छाडा पशुचौपाया र सडकका कुकुरहरूलाई व्यवस्थापन गर्नैपर्छ । सोलु दूधकुण्ड नगरपालिका सदरमुकाममा रहेको कारणले यहाँ धेरै छाडा र भुसिया कुकुरको बिगबिगी थियो । यसले गर्दा ससाना स्कुल जाने बाबुनानीहरू मात्र नभई बाटो हिँड्ने बटुवाहरू पनि कुकुरबाट असुरक्षित थिए ।

 

नगरपालिकाले यसलाई व्यवस्थापन गर्न एनिमल रेस्क्यु एसोसिएसनसँग सहकार्य गर्‍यौँ । एसोसिएसनको सहकार्यमा ५ सयभन्दा बढी कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।

 

यो काम गर्दा कतिपय स्थानीय गर्दा व्यवस्थापनको नाममा कुकुरलाई समातेर, हिर्काएर मार्ने गरिएपछि विवादित पनि भयो । त्यो पशु अधिकारको दृष्टिले पनि गलत थियो । हामीले पशु अधिकारको पनि रक्षा गर्दै व्यवस्थापन गर्न सफल भएका छौँ ।

 
तपाईं दुवै जना नगरप्रमुख र उपप्रमुखले नगरपालिकाको बजेटबाट गाडी किन्नु भएको रहेनछ । बरु दमकल, एम्बुलेन्स किन्नु भएको रहेछ । तपाईंहरूलाई गाडीमा हिँड्नुपर्छ भन्ने लागेन ?


यो सुविधाको गाडी भनेको निर्वाचित जनप्रतिनिधिहरूको अचरणसँग जोडिएको विषय हो । मेयर, उपमेयर चढ्ने गाडी किन्नुभन्दा पनि हामीले त्यसको रकमबाट विकास निर्माण, दमकल, एम्बुलेन्स खरिदमा खर्च गरेका छौँ । 


सोलु दूधकुण्ड नगरका जनप्रतिनिधिविरुद्ध अहिलेसम्म अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा पनि उजुरी परेको रहेनछ । तपाईंहरू इमानदार भएरै हो ?

 

सदरमुकाममै रहेको महत्वपूर्ण पालिका भएकाले यहाँ राजनीतिक दल, विभिन्न संघसंस्थादेखि लिएर सबैको आँखा पर्छ । नगरबासी सोझा भएर अख्तियार या अदालतमा उजुरी नदिएका होइनन् । नगरपालिकाले नै हरेक कुरा पारदर्शी ढंगले अगाडि बढाउने हुँदा कुनै पनि भ्रष्टाचार नभएपछि हाम्रो नगरपालिका अहिलेसम्म कुनै मुद्दा, मामिलामा फँसेको छैन । 


तपाईंले धेरै उदाहरणीय काम गर्नुभएको रहेछ । यति भन्दै गर्दै जनताको अभिमतचाहिँ कस्तो पाउनुभएको छ ?

 

चुनावका बेलामा उम्मेदवारी दिन जाँदा नगरपालिकाको आधा जनसंख्याले मलाई चिन्दैनथ्यो । नाम्गेल जाङ्बु भन्ने कस्तो मान्छे हो भन्ने धेरै थिए । निर्वाचित भएर नगरबासीको सेवा गरेकै कारण अहिले सोलुखुम्बुका ८ वटै स्थानीय तहमा मलाई नचिन्ने कोही छैन ।

 

अर्को कुरा, स्थानीय तहमा, प्रदेशमा, जिल्लाबाट जितेका माननीयहरू सबै अरु पार्टीका छन् । आफुना पक्षको सरकार नहुँदा पनि यति उपलब्धि हासिल गर्न सकियो । अहिले नगरबासीले हामीले सही मान्छे चुनेका रहेछौँ भनिरहेका छन् । यसमै खुसी लाग्छ ।