close

नगरको २ करोडको वार्षिक स्रोतलाई साढे ८ करोड पुर्‍याउन सक्यौँ

नगरको २ करोडको वार्षिक स्रोतलाई साढे ८ करोड पुर्‍याउन सक्यौँ

Trulli
ADVERTISEMENT

राजेन्द्रकुमार पोखरेल
नगरप्रमुख कनकाई नगरपालिका, झापा

 

झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल चार वर्षे अवधिमा नगरभित्र विकास निर्माणका प्रशस्तै योजना कार्यान्वयनमा लगिएको बताउँछन् । नगरभित्र कृषि, स्वास्थ्य, विपद् व्यवस्थापन आदि क्षेत्रमा उदाहरणीय काम भएको दाबी गर्ने नगरप्रमुख पोखरेलसँग गरिएको कुराकानी :

 

संघीय सरकारले दिनुपर्ने बजेट नदिँदा पनि विकास निर्माणलाई अगाडि बढाइरहनुभएको छ । स्रोत व्यवस्थापन कसरी गरिरहनुभएको छ ?


 
अहिले हामीसँग वार्षिक आयस्रोतबाट ८ करोड रुपैयाँ प्राप्त हुने गर्छ । विगतको केही मौज्दात रकम थियो । त्यसैबाट काम गरिरहेका छौँ । योजना सम्झौता, बजेटले सम्बोधन गरेका विकासका योजनालाई टेन्डर प्रक्रियामा लैजाने काम गरेका छौँ । सम्झौता भएअनुसारको काम भएको छ । 

 

नगरपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि के–कस्ता योजना अगाडि सार्नुभएको छ ? 


खासगरी करको दर बढाउनेभन्दा पनि दायरा बढाउनेमा हामी संवेदनशील रह्यौँ । दायरा बढाउने क्रममा करिब २ करोड रुपैयाँ नगरपालिकाको वार्षिक स्रोत थियो । अहिले साढे ८ करोड रुपैयाँ वरपर पुगेका छौँ । केही कर घटाएर भए पनि सबैलाई करको दायरामा ल्याउने प्रयास गरेका छौँ । त्यसले हामीलाई सफलता दिएको छ । 

 

अक्सिजन प्लान्ट निर्माणका लागि आफूले सेवा सुविधाबापत पाउने रकम पनि लगानी गर्नुभयो । अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थाल्यो ? 

 

छैन । प्रक्रियाको कुरामा कठिन भएको छ । हामीले टेन्डर गरेका थियौँ । युरोपियन शैलीमा बनाउने हाम्रो योजना बनाएका थियौँ । हामीसँग डेढ करोड मात्रै रकम छ । हामीले मागेअनुसारको मापदण्डमा टेन्डर परेन । अब छिट्टै अर्को सुरु गर्छौं । 

 

तपाईंले निर्वाचनका बेला नागरिकसमक्ष गरेका प्रतिबद्धता कति पूरा भए ? 


हामीले कतिपय कुरा प्रतिबद्धता गरेभन्दा पनि धेरै गरेका छौँ । केही विषय पूरा गर्न बाँकी छ । प्रमुख रूपमा प्रतिबद्धता गरेको कुरामा ऐलानी जग्गामा बसेकालाई धनीपुर्जा दिने हाम्रो घोषणा पूरा गर्न सकेनौँ । तर, तीन वटा वडामा हामीले नापी सकेका छौँ । थप ५ वटामा पनि काम सकिन्छ । संघीय सरकारमा देखिएको परिवर्तनले असर पुगेको हो ।  तपाईंहरूका  माध्यमबाटै सुकुम्बासीलाई जग्गाधनी बनाउने, पुर्जा दिने काम यो सरकारले पूरा गरोस् भन्न चाहन्छु । 

 

जनप्रतिनिधिका रूपमा चार वर्ष काम गर्दा सबैभन्दा कुन–कुन क्षेत्रबाट अप्ठेरा आइलागे ? 

 

कानुन अभावका कारण हामीले कतिपय काम गर्न अप्ठ्यारा आए । कानुन बनाएर, निर्देशिका, नियमावली बनाउन समय लाग्छ । हामीले अहिलेसम्म १० वटा जति मात्रै कानुन बनाउन पाएका छौँ । 

 

कृषिलाई व्यावसायिकीकरण गर्न नगरपालिकासँग के–कस्ता योजना छन् ? 

 

खासगरी हामीले कृषिलाई तरिकारले अघि बढाउन खोजिरहेका छौँ । एउटा, कृषि भनेको स्वास्थ्यसँग पनि जोडिनुपर्छ भनेर अर्गानिक खेतीलाई जोड दिएका छौँ । व्यावसायिकीकरण गर्नेतर्फ पनि धेरै काम अघि बढाएका छौँ । नगरपालिकामा कृषिको व्यवस्थापन गरेका छौँ । अर्गानिक खेती स्वस्थवद्र्धक हुने भएकाले अभियानलाई सँगसँगै लगेका छौँ । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । कुन–कुन योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? 

 

अहिले हामीले फोहोरमैला व्यवस्थापन गर्न प्रशोधन गरेर ग्यास चुल्हो बाल्ने अभियानलाई विशेष जोड दिएका छौँ । संघीय र स्थानीय सरकारको साझेदारीमा सञ्चालन हुने पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कनकाईका सामुदायिक वनअन्तर्गतको बोटानिकल उद्यान, विज्ञान पार्क निर्माणमा जोड दिएका छौँ । तर, सम्झौता भएको रकम अहिलेसम्म संघीय सरकारबाट आएको छैन ।