close

उज्यालो अपि बनाउने योजना पूरा हुँदै छ : अध्यक्ष मन्याल

उज्यालो अपि बनाउने योजना पूरा हुँदै छ : अध्यक्ष मन्याल

Trulli
ADVERTISEMENT

दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्याल पालिकामा आर्थिक स्रोत कम हुँदा विकासदेखि शिक्षा, स्वास्थ्यका पूर्वाधार निर्माणमा गाह्रो परिरहेको बताउँछन् । अध्यक्ष मन्यालसँग पालिकामा चार वर्ष काम गर्दाको अनुभव, विकास निर्माणमा भएका प्रगति, काम गर्दा आइपरेका कठिनाइलगायत बारे केन्द्रित रहेर गरिएको कुराकानी :

 

तपाईं गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि विकास निर्माणलाई अघि बढाउन के–के पहल गर्नुभयो ? 


खासगरी हामी यो पालिकामा आउनुअघि निश्चित पार्टीबाट निर्वाचित भएका हौँ । हामीले पार्टीको घोषणापत्रमार्फत जनतासँग भोट मागेर विजेता भएका थियौँ । ती घोषणापत्रमा उल्लेख भएका बुँदाअनुसार ९० प्रतिशत घोषणा पूरा गरेका छौँ । हामीले केही कुरा वाचा गरेका थियौँ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई मुख्य जोड दिने बताएका थियौँ । त्योबाहेक महिला, बालबालिकालाई पनि सँगसँगै लग्नुपर्छ भन्ने अवधारणाअनुसार घोषणापत्र तयार गरेका थियौँ । हामी आउँदा यो पालिकामा २१ विद्यालय थिए । त्यहाँ शिक्षक अभाव थियो । जनताको घरदैलोबाट चन्दा उठाएर विद्यालय सञ्चालनमा थिए । जनताको माग पनि विद्यालयमा शिक्षक थियो । हामी आउनेबित्तिकै शिक्षा क्षेत्र सुधार कार्यक्रममार्फत १०० शिक्षक र कर्मचारी नियुक्त गर्‍यौँ। प्राविधिक धारमा लग्नुपर्छ भनेर बालविज्ञान धार प्राविधिक शिक्षा कक्षा ९ देखि सुरु गर्‍यौँ। वडा नम्बर ५ मा मावि थिएन, हामीले मावि स्थापना गरेका थियौँ । तीन ठाउँमा आवासीय मावि स्थापना गर्‍यौँ। भौगोलिक रूपमा एउटा बस्तीबाट अर्को बस्ती जान ३ देखि ४ घन्टा लाग्ने गर्दछ । त्यहाँका बालबालिकाको विकास गर्न सामुदायिक बालविकास अवधारणा लिएर गयौँ । 

 

विकास निर्माणका लागि चाहिने बजेट पर्याप्त छ कि छैन ? 


बजेटको हिसाबमा सबैभन्दा कम प्राप्त गर्ने हामी हौँ । ६ करोड रुपैयाँ वित्तीय समानीकरणको बजेट आउने गरेको छ । गाउँपालिकाको ५० प्रतिशत बजेट शिक्षामा लगानी भएको छ । हामीले प्रत्येक वडामा बर्थिङ सेन्टर बनाउने घोषणा गरेका थियौँ । अहिले ५ वटा थपेका छौँ । ६ वटा स्वास्थ्य केन्द्र पनि निर्माण गरेका छौँ । जनताले स्वास्थ्यमा ग्यारेन्टी पाएका छन् । हामीले अस्पतालको टेन्डर आह्वान गरेर काम सुरु गरेका छौँ । बहुक्षेत्रीय पोषण समपुरक कार्यक्रम सञ्चालन गरेका छौँ । संविधानमा रहेको स्वच्छ खानेपानी पिउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न १३ सय घरधुरीमध्ये ११ सय घरधुरीमा धाराको व्यवस्थापन गरेका छौँ । हामीसँग बजेटको एकदमै अभाव छ । मोटर र बाटो पुगेको छैन । तर, ७ किलोमिटर घोरेटो बाटो, ११ किलोमिटर पीसीसी बाटो बनायौँ । अपिको बस्ती, हिलोमुक्त बस्ती घोषित कार्यक्रमअन्तर्गत सडक बनाएका हौँ । 

 

निर्वाचनका बेला जनतासँग के–के गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ? ती कति पूरा भए ? 


हामीले नागरिकसँग वाचा गरेका ९० प्रतिशत काम पूरा भएका छन् । केही काम अधुरा हुने वाला छन् । तर, त्यसको कारण छ । हामी निर्वाचित भएर आइरहँदा कर्मचारी थिएनन् । वडामा सचिव थिएनन् । सामाजिक परिचालकबाट डेढ वर्ष काम गर्‍यौँ। केही कर्मचारी आउनुभयो । तर, अहिले पनि हाम्रोमा कर्मचारी अभाव उस्तै छ । 

 

दार्चुलामा चिसो मौसममा जनजीवन कष्टकर हुने गर्छ । चिसो र हिमपातबाट आइलाग्ने विपद्बाट पालिकाबासीलाई जोगाउन गाउँपालिकाले के–कस्ता कार्यक्रम लागू गरेको छ ? 


भौगोलिक रूपमा हिमपात हुने क्षेत्र हो, यो । हिमपात अहिले कम छ तर सबै पालिकामा हिमपात हुन्छ । हामीले जनताका लागि केही गर्न सकेका छैनौँ ।  तर, ज्येष्ठ नागरिक, दीर्घ रोगीका लागि थर्मस, ज्याकेट वितरण गर्ने गरेका छौँ । अबको दुई साताभित्र हामीले ट्राउजर उपलब्ध गराउने योजना बनाएका छौँ । 

 

पर्यटन पूर्वाधार निर्माणमा काम गर्नुभएको छ कि छैन ? 


नेपालकै लामो पर्यटकीय पदमार्ग हाम्रो पालिकामा सबैभन्दा ठूलो बनाउने लक्ष्यसहित ८ हजार ४ सय ८२ खुड्किलासहितको बाटो निर्माण गरेका छौँ । अब डेढ किलोमिटर बाँकी छ । अपि बेस क्याम्पम्म पर्यटकीय पदमार्ग बनाउनुपर्छ भनेर डिपीआर बनाएर काम गरेका छौँ । 


अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा के–कस्ता योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? 


सुरुदेखि नै दीर्घकालीन योजना बनाएका थियौँ । अहिले चुनावमुखी कार्यक्रम छैनन् । नियमित कार्यक्रम सञ्चालनमा छन् । हामीले उज्यालो अपि कार्यक्रम घोषणा गरेका थियौँ । पाथाघट्टे खोलामा त्यो निर्माण सम्पन्न उन्मुख छ । मंसिरमै टेन्डर हुने गरी १ र २ नम्बर वडामा ९८ किलोवाटको सोलार मिनिग्रेट जडान गर्ने योजनामा छौँ । अबको ५ महिनामा उज्यालो अपि बन्ने निश्चित छ ।