close

बाह्रैमास गाडी गुड्ने सडक बनाएका छौँ 

बाह्रैमास गाडी गुड्ने सडक बनाएका छौँ 

Trulli
ADVERTISEMENT

शेरबहादुर लिम्बू
अध्यक्ष, छथर जोरपाटी गाउँपालिका, धनकुटा


धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू निर्वाचित भएर आएपछि पालिकामा पूर्वाधार निर्माणले गति लिएको बताउँछन् । लिम्बूसँग पालिकाको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन, योजना, कार्यकालको समीक्षालगायत विषयमा गरिएको कुराकानी :



यो आर्थिक वर्षको बजेटमा तपाईंहरूले स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकता दिनुभएको छ । के–के छन् कार्यक्रम बताइदिनुस् न ?


पहिलो चौमासिक समाप्त भएको छ । खासगरी कोभिडका कारणले पनि स्वास्थ्य क्षेत्रलाई बढी जोड दिएका छौँ । त्यसबाहेक शिक्षा, पूर्वाधार क्षेत्रमा हाम्रो उच्च प्राथिमकता छ । यो चौमासिकमा खासै काम गर्न सकेका छैनौँ । तर, सभाले पारित गरेका कार्यक्रमलाई अघि बढाउने तयारीमा छौँ । स्वास्थ्य क्षेत्रमा कोभिड अस्पताल सञ्चालन गरेका छौँ । त्यसको जनशक्ति व्यवस्थापन गर्ने, ल्याब सेवा विस्तार गर्ने योजना बनाएका छौँ । सबै गाउँको स्वास्थ्य सेवामा पहुँच पु¥याउने तयारी गरिरहेका छौँ । त्यसैगरी स्वास्थ्यसँगै जोडिएका अपांगता रोकथाम, उपचार र पुनस्र्थापना कार्यक्रम पनि अघि बढाएका छौँ । 

 

कृषि र पशुपालनमा अनुदान मात्र दिनुभएको छ कि उत्पादनको बजार पनि खोजिदिनुहुन्छ ? 


अनुदान मात्रै होइन, यसको विविध पक्षलाई केलाउँदै अघि बढेका छौँ । हामीले जोसँग जोश, जाँगर छ, क्षमता छ तर स्रोत–साधन छैन । उनीहरूलाई स्रोत भर्ना सापटी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसमा समूह खोलेर वा फार्म खोलेर अघि बढेकालाई सहयोग गरिरहेका छौँ । नमुना खेती, पकेट खेती कार्यक्रम अघि सारेका छौँ । उहाँहरूको बजारीकरणका लागि एउटा सहकारीसँग सहकार्य गरेर हरेक शुक्रबार उत्पादनको बिक्री वितरण गरिदिनेलगायत काम गरिरहेका छौँ । 

 

पूर्वाधार विकासमा छथर जोरपाटीले हासिल गरेका उपलब्धिलाई कसरी सम्झनुहुन्छ बताइदिनुस् न ? 


यो पालिकामा अहिले पनि हाम्रो कार्यालय भाडामा छ । कार्यपालिकाको भवन बन्दै छ । दुई वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । जीर्णोद्धार भएका स्वास्थ्यका भवन बनाएका छौँ । सडकको क्षेत्रमा हामीले २ किलोमिटर जति सडक पक्की बनाएका छौँ । २३ किलोमिटर सडकको काम पनि छिट्टै सञ्चालनमा आउँदै छ । अहिलेसम्म हामीले २ किलोमिटर सडक बनाएका छौँ । ३० किलोमिटर ग्राभेल र २२ किलोमिटर सोलिङ गरेर १२ महिना सवारीसाधन चल्न मिल्ने बनाएका छौँ । साँघुरो सडकलाई फराकिलो बनाएका छौँ । २८ किलोमिटर नयाँ सडक बनाएका छौँ । ६ वटा सबै वडामा अहिले गाडी गुड्न सक्ने भएको छ । 

 

छथर जोरपाटीले आफ्नो पालिकाको भूमिलाई वैज्ञानिक तरिकाले उपयोगमा ल्याउन भू–उपयोग नीति लागू गर्ने नीति लिएको छ, कहाँ पुग्यो काम ?


त्यसका लागि हामीले भू–उपयोग नक्सा बनाउन लागिरहेका छौँ । हाम्रो प्रारम्भिक कार्य सुरु भएको छ । पूर्ण प्रतिवेदन आएपछि हामी ५० प्रतिशत सम्पन्न कामलाई थप अघि बढाउँछौँ । 

 

पालिकाभित्र रहेको बेरोजगारहरूको सूची पक्कै पनि तयार भएकै होला । रोजगारका लागि खाडी धाउने युवा जमात पनि उत्तिकै छ । यी समस्यालाई दीर्घकालीन रूपमै समाधान गर्न पालिकाले कस्ता कार्यक्रम ल्याएको छ ?


प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ सय ९२ युवाको नाम सूचीकृत गर्‍यौँ । तर, २ सयले मात्रै रोजगार पाए । वैदेशिक रोजगारीमा जान बाध्य युवालाई रोक्न हामीले कृषि क्षेत्रमा संलग्न हुन सोधभर्ना कार्यक्रम, मेट्का कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । युवालाई स्वरोजगार बनाउने काम गर्दै आएका छौँ । ३ सय युवाले अहिलेसम्म तालिम लिएर उद्यमी बन्ने तरखरमा छन् । लोकसेवाको तयारी कक्षा पनि सञ्चालन गर्ने काम गरिरहेका छौँ । युवा उद्यम कार्यक्रम पनि सञ्चालनमा छ । त्यसमा मापदण्डमा परेका युवालाई उद्यमी बनाउने नीति अघि सारेका छौँ । हाम्रो निरन्तर चलिरहने पूर्वाधार आयोजनाका लागि युवा शक्ति परिचालन गरिरहेका छौँ । 

 

कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिइसकेको छ । तपाईंको पालिकाले कसरी तयारी गरिरहेको छ ?


हामीले कोभिड अस्पताल सञ्चालन गरेका छौँ । कोभिड अस्पतालमा ल्याब सञ्चालन गर्ने तयारी गरेका छौँ । ६ वटै वडामा स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड, चिकित्सकको व्यवस्था गरिएको छ । हामीसँग १८ हजार जनसंख्या छ । त्यसमध्ये ११ हजारले पहिलो र दोस्रो डोज खोप लगाइसकेका छन् । कोभिडले गर्दा रोजगारी गुमाएकालाई राहत व्यवस्थापन गरेका छौँ । भविष्यमा महामारी भित्रिए हामी त्यो कार्यक्रमलाई फेरि सुरु गर्नेछौँ । 

 

अन्त्यमा, निर्वाचनका बेला जनतासँग के–के गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ? ती कति पूरा भए ?


हाम्रा सबै बाटो हिलाम्य र धुलाम्य थिए । हामीसँग १२ महिना सडक चल्ने अवस्था थिएन । हामीले १२ महिना सडकमा सवारी गुड्ने अवस्था ल्याउने वाचा गरेका थियौँ । त्यो पूरा भएको छ । शिक्षा क्षेत्रमा समस्या थियो । शिक्षाको गुणस्तर कायम ग¥यौँ । बालविकास केन्द्रलाई बलियो बनाउन जोड दियौँ । त्यहाँ पढाउने शिक्षकको व्यवस्था, मन्टेश्वरी तालिमसमेत दियौँ । कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । अब कसैले गुणस्तरीय शिक्षाका लागि बसाइँसराइ गर्नु नपर्ने अवस्था छ । हामीले विज्ञान विषय पढ्नेलाई छात्रवृत्ति लागू गरेका छौँ । मातृभाषाको संरक्षण गर्न मातृभाषको शिक्षा लागू गरेका छौँ । तीन वटा नयाँ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाएका छौँ ।