close

सकुम्बासी र अव्यवस्थित बसोबास समस्या एक वर्षमै समाधान गर्छु : पाण्डे (अन्तर्वार्ता)

सकुम्बासी र अव्यवस्थित बसोबास समस्या एक वर्षमै समाधान गर्छु : पाण्डे (अन्तर्वार्ता)

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट खेलराज पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । 

 

नेपाली कांग्रेस बुटवल नगरसभापतिसमेत रहेका उनी गठबन्धनको तर्फबाट उपमहानगरको प्रमुख पदका लागि मैदानमा उत्रिएका हुन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । 

 

पछिल्लो तीन दशकयता सक्रिय राजनीतिमा रहेका उनी बुटवलको मुख्य बजार क्षेत्र, मोतीपुर, सेमलार, बेलभरिया, नयाँगाउँ, बेलबास, झोलुंगे पुल, नहरपुरलगायत क्षेत्र र घरायसी समस्या र समाधानका उपायबारे विवेक भएका व्यक्तिका रूपमा चिनिन्छन् । 

 

विद्यार्थी संघको सदस्य लिएर राजनीतिक यात्रा सुरु गरेका उनी यसअघि  नेविसंघको सचिव, तरुण दल रुपन्देहीको अध्यक्ष, तरुण केन्द्रीय सदस्य भइसकेका छन् । हाल उनले कांग्रेस बुटवल नगरसभापतिको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । 

 

प्रस्तुत, छ तिनै बुटवल उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेसँग हाम्रा सहकर्मी चन्द्रकान्त खनालले गरेको कुराकानी :

 

बुटवल उपमहानगरपालिकाको प्रमुखमा लड्दै हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

 

जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेको छु । उहाँहरूले ठिक मान्छेले टिकट पाउनुभएको छ भनी प्रशंसा गर्नुभएको छ । सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनु सुझाव र शुभकामना दिनुभएको छ । र, अवसरका लागि प्रतिबद्धता पनि जनाउनुभएकाे छ । 

 

यसअघि विश्वास गरेका दलले पटक–पटक निराश बनाएको र ठूला-ठूला सपना देखाएर कामै नगरेको भन्ने उहाँहरूको गुनासो छ । 

 

यसअघिका प्रतिनिधिले जनताको मतबाट चुनाव जिते पनि जनताको मन जित्न नसकेको पाएको छु । मतदाताहरूले पाठ पढाउनेभन्दा पनि गुनासा सुन्ने र समाधान खोजिदिने जनप्रतिनिधि खोज्नुभएको छ । 

 

तपाईंलाई किन जिताउने ?  

 

म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्न चाहन्छु । 

 

नदीका किनारमा बसोबास गरिरहेका बासिन्दालाई आफ्नै जग्गामा सुरक्षित बसोबास गराउनु मेरो मूल कर्तव्य हुनेछ । म यहाँका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासलाई बुटवलभित्रै व्यवस्थापन गर्छु । 

 

यहाँ मोतीपुर औद्योगिकजस्ता क्षेत्रमा समस्या छ । यिनै कारण विगतमा मेरो गढ भन्ने जनप्रतिनिधि यहाँबाट लखेटिएका छन् । तसर्थ, चिढ्याएरभन्दा पनि स्थानीय जनतालाई सुरक्षाको अनुभूति दिलाएर समस्या समाधान गर्नुपर्छ भन्नेमा म सचेत छु । त्यसकारण म स्थानीयबासिन्दाको मन दुख्ने काम कहिल्यै गर्ने छैन । 

 

तिनाउ–दानव करिडोरका बासिन्दाको समस्या, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडकको दूरावस्था, शुद्ध पिउनेपानी समस्या समाधान, भ्रष्टाचार अन्त्य, सेवा प्रवाहमा देखिएको समस्या समाधान मेरो पहिलो प्राथमिकता हुनेछ । म भ्युटावरजस्तो अनुत्पादक काममा ध्यान दिने छैन ।, 

 

म पार्टीको बुटवलको घोषणापत्र, राष्ट्रिय एजेन्डा र कार्यक्रमप्रति प्रतिबद्ध छु । 

 

गठबन्धनमा अबद्ध दलबीचको तालमेल कस्तो छ ? 

 

गठबन्धनप्रति सुरुसरुमा बुझाइमा समस्या थियो । अहिले ती सबै समस्या समाधान भएका छन् । जसका कारण अहिले गठबन्धन बलियो भएको छ । गठबन्धनबीच आपसी सम्बन्ध र सद्भाव बढेको छ । स्पष्ट रूपमा भन्दा गठबन्धनमा आबद्ध दलबीचको तालमेल दर्विलो र गर्विलो छ । 

 

चुनाव सहजै जित्छौँ भन्नुभयो, आधार के छन् ? 

 

यसअघिको निर्वाचनमा हामी करिब दुई हजार ३०० मतले पराजित भएका थियौँ । चुनावमा पराजित भए पनि म जनताका समस्या समाधानाका लागि लडिरहेको छु । त्यसबेला मलाई भोट नदिनेहरू पनि मेरो काम देखेर गलत मान्छेलाई भोट दिइएछ भनेर पश्चतापत गरिहनुभएको छ ।

 

यसपालि २३ हजारजति नयाँ मतदाता थपिनुभएको छ । त्यसमा युवाको संख्या बढी छ । युवालक्षित कार्यक्रमलाई मैले प्राथमिकतामा राखेको छु । 

 

म उपमहानगरपालिकालाई सबै दल, समुदाय, उमेर, भेग समूहका मानिसले बुटवल उपमहानगरलाई आफ्नो ठान्ने वातावरण बनाउनेछु ।    

खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौँ । हामी जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ । यसकै आधारमा मलाई जित सुनिश्चित छ भन्ने लाग्छ ।

 

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासका मुद्दा सधैँ उठ्छन्, तर समाधान हुँदैनन् । कसरी समाधान गर्नुहुन्छ ? 

 

सुकुम्बासी समस्या समाधानबारे अल्पकालीन र दीर्घकालीन उपाय प्रयोग गरी समाधान गर्न सकिन्छ । अल्पकालीन उपायअन्तर्गत वडामार्फत् सुकुम्बासी दर्ता प्रक्रिया अघि बढाइ मापदण्ड बनाएर समाधान गर्न सक्छौँ । जसले यसअघि देखिएका विकृति हटाउन सहयोग गर्नेछ । 

 

अर्को दीर्घकालीन उपाय भनेको लालपूर्जा वितरण हो । जुन हाम्रो मुख्य उद्देश्य पनि  हो । भूमिसम्बन्धी कार्यालय गठन भएका छन् । त्यसमार्फत् यो समस्याको टुंगो लगाउँछौँ । 

 

म सकुम्बासी समस्या तथा अव्यवस्थित बसोबास समस्या एक वर्षभित्रै सम्बोधन गरी समाधान गर्नेछु ।