close

बिनाप्रतिस्पर्धा अध्यक्षकी पत्नीलाई जागिर

बिनाप्रतिस्पर्धा अध्यक्षकी पत्नीलाई जागिर

Trulli
ADVERTISEMENT

अछाम । रामारोशन गाउँपालिकामा गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई बिनाप्रतिस्पर्धा भान्सेमा नियुक्ति गरेका छन् । 
गत असार १५ गतेदेखि लागू हुने गरी गुपचुप नियुक्ति गरेका खुलासा भएको हो । गाउँपालिका उपाध्यक्ष सिर्जना देवी बुढाले पालिका खबरसँग भनिन्,'क्वाटरमा बसेर खाना पकाउनुहुन्थ्यो, तर हामीलाई केही थाहा छैन तर आलोचना हुन थालेपछि बुझ्दा नियुक्त गर्नु भएकै रहेछ ।'

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएपछि आलोचना भएको हो । करार सेवा अन्तर्गत ६ महिनाका लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकाबाट मासिक २१ हजार ३०० तलब र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन् ।

करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको विषयमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै असार १५ गते नियुक्ति गरिएको बताए । 

यस विषयमा बुझ्न गाउँपालिकाका अध्यक्ष साउँदलाई फोन गर्दा उनले सुरुमा फोन उठाएनन् भने पछि फोन काटेर पन्छिए ।