close

अख्तियार कार्यालयमा स्थानीय तहका उजुरी बढ्दै

अख्तियार कार्यालयमा स्थानीय तहका उजुरी बढ्दै

Trulli
ADVERTISEMENT

हेटौंडा । देशमा स्थानीय तह आएपछि विगतमा सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा पुगेको छ । स्थानीय तहहरू स्थानीय सरकारकै रूपमा कार्यरत छन् । तर, तिनै सरकारविरुद्ध भ्रष्टाचारका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बढी पर्ने गरेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै स्थानीय तहको बजेट परिचालनमा अख्तियार दुरूपयोग गरेका उजुरी बढ्दै गएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको तथ्यांकले यस्तो अवस्था देखाएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा आयोगको हेटौंडा कार्यालयमा १ हजार ६ सय वटा उजुरी परेको थियो । जसमा अधिकांश उजुरी शिक्षा र स्थानीय तहले परिचालन गर्ने बजेटको हिनामिनासँग सम्बन्धित छन् । गत आवका १ हजार ६ सय वटा उजुरी मध्ये ७ सय ७८ उजुरी स्थानीय तह सम्बन्धित र २ सय ८९ उजुरी शिक्षासँग सम्बन्धित छन् ।

कार्यालयको क्षेत्राधिकार भित्र पर्ने ११ जिल्लामा सबैभन्दा बढी उजुरी बाराबाट ३ सय ९१ र सबैभन्दा कम उजुरी रसुवाबाट ३ वटा मात्र परेको छ । आयोगले गत आर्थिक बर्षमा ७० दशमलब ७५ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । आयोगको हेटौंडा कार्यालयमा परेका १ हजार ६ सय वटा उजुरी मध्ये एक हजार एक सय ३२ वटा उजुरीको फछ्र्यौट गरेको छ ।

स्थानिय तहमा उजुरी बढ्ने क्रम बर्षेनी बढ्दो क्रममा रहेको आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी उपसचिव विष्णु प्रसाद सापकोटा बताउँछन् । उनका अनुसार निर्माणमा अनियमितता सम्बन्धी उजुरी सबैभन्दा बढी पर्ने गरेका छन् ।

सापकोटाका अनुसार उजुरीको प्रकृति हेर्दा विद्यालयको भवन निर्माणमा अनियमितता, राजस्व हिनामिना, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता जस्ता विषयमा उजुरी धेरै रहेका छन् । त्यसैगरी उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता, सार्वजनिक जग्गा अतिक्रमण, खर्चको अपारदार्शिता, कर्मचारी नियुक्तिमा अनियमितता, वडाका अध्यक्षले सिफारिस गरेर राजस्व हिनामिना गरेको, कर्मचारीको सुविधाका लगायत विषयमा उजुरी पर्ने सापकोटा बताउँछन् ।

'स्थानीय तहमा उजुरी बढ्नुको कारणमा स्थानिय सरकार जनताका बीचमा रहेर काम कार्वाही गर्ने भएकाले आफ्ना वरिपरी भए गरेका कार्यमा जनताले चासो राख्न सक्दछन्, प्रश्न गर्दछन् । उनीहरुले उजुरी गर्न सक्छन्', सापकोटाले भने । अघिल्लो आव जस्तै यो आवमा समेत उजुरीका प्रकृति उस्तै रहेको उनी बताउँछन् । स्थानीय तहले पारदर्शी र व्यवस्थित तवरले कार्य गर्ने भए यस्ता उजुरीको संख्या कम हुने उनले बताए ।

७१ प्रतिशत उजुरीको फछ्र्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको कार्यालयद्वारा गत आर्थिक वर्ष २०७८/०७९ मा ७० दशमलब ७५ प्रतिशत उजुरीको फर्छौट गरेको छ । १ हजार ६ सय वटा उजुरी मध्ये एक हजार एक सय ३२ वटा उजुरीको फछ्र्यौट गरेको छ । फछ्र्यौट हुन बाकी ४ सय ६८ वटा उजुरी चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको छ । आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएका ८७ वटा उजुरीको फछ्र्यौट गरेको छ । विस्तृतमा गएका उजुरी मध्य ७ दशमलब ६९ प्रतिशत उजुरीको मात्र फछ्र्यौट गरेको सापकोटाले जानकारी दिए ।

स्थानीय तह (सङ्घीय मामिला) अन्तर्गत परेको ७ सय ७८ उजुरीमा ५ सय ८ फर्छौट भएको छ भने बाँकी २ सय ७० उजुरी चालु आवमा सरेर आएका छन् । त्यस्तै स्थानीय तह (शिक्षा)मा २ सय ८९ वटा उजुरी परेकामा २ सय ३५ उजुरीको छिनोफानो भएकामा ५४ उजुरी बाँकी रहेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा परेको १ सय २१ उजुरीमा ९२ उजुरी फछ्र्यौट भएका थिए, भने २९ उजुरी बाँकी रहेका छन् ।

त्यस्तै प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण (वन वातावरण मात्र) तर्फ ९७ उजुरी परेकोमा ८० उजुरीको फछ्र्यौट भएको छ,भने १७ उजुरी फछ्र्यौट हुन् बाँकी छ । प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायातमन्त्रालय मात्र) तर्फ भने ३९ उजुरी परेका थिए । जसमा २२ उजुरीको फछ्र्यौट भएको छ, भने १७ उजुरी बाँकी थिए । त्यस्तै अन्यमा २ सय ७६ उजुरी परेको थियो । जसमा १ सय ९५ उजुरी फछ्र्यौट भएको छ, भने ८१ उजुरी बाँकी छ ।

अख्तियारको हेटौंडा कार्यालयको क्षेत्राधिकार भित्र पर्ने रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा गरी ११ जिल्लामा सबैभन्दा धेरै बारामा ३ सय ९१ उजुरी परेको छ भने सबैभन्दा कम रसुवामा ३ वटा उजुरी परेका छन् । त्यस्तै रौतहटमा ३ सय ७४, मकवानपुरमा ३ सय १०, पर्सामा २ सय ८६ वटा उजुरी परेका छन् । त्यस्तै चितवनमा १ सय ६६, दोलखा र धादिङमा १८९१८,काभ्रेपलाञ्चोकमा १५,रामेछापमा अघिल्लो आवबाट सरि आएको १२ ,नुवाकोटमा ४ र सिन्धुपाल्चोकमा ३ वटा उजुरी परेका थिए । जसमा कुल १ हजार १३२ वटा उजुरीको फछ्र्यौट भएको छ भने ४ सय ६८ उजुरी फछ्र्यौट हुन बाँकी रहेको प्रवक्ता सापकोटाले बताए ।