close

निजी जग्गामा सरकारी भवन निर्माण गरेको रहस्य फेला

निजी जग्गामा सरकारी भवन निर्माण गरेको रहस्य फेला

Trulli
ADVERTISEMENT

महोत्तरी। सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँको लगानी गरेर सरकारी भवन निर्माण गरेको रहस्य फेला परेको छ ।

गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा तीन व्यक्तिको नाउँमा दर्ता कायम रहेको एक जग्गामा पालिकाको रु १४ लाखको लगानीमा सरकारी भवन निर्माण गरेको भेटिएको छ ।

साविक सुन्दरपुर गाविस–३ बस्ने उसमान नदाफ, वारिस नदाफ र इसलाम नदाफको नाउँमा मालपोत कार्यालयबाट जारी भएको जग्गाधनी दर्ता प्रमाणपूर्जामा सुन्दरपुर–३ ख कित्ता नम्बर ३८६ को क्षेत्रफल ०–०–४१/२ र कित्ता नं ३८७ को क्षेत्रफल ०–०–१/२ दुवै गरी जम्मा पाँच धुर जग्गा कायम रहेको जग्गामा गाउँपालिकाले रु १३ लाख ९७ हजार तीन सय ३० को लागतमा मदर्सा भवन निर्माण गरेको कार्यस्थलमा जडान गरेको होर्डिङबोर्डमा उल्लेख छ । 
    
गापाको आर्थिक वर्ष २०७९/८० को योजनामार्फत सोनमा–६ मगरथाना गाउँको वारिस नदाफको घर नजिकै ‘मदिना मदर्साको भवन निर्माण’ योजना २०७९ मङ्सिर २० गते सञ्चालन गरेर २०८० वैशाख ३० गते सम्पन्न गरेको छ ।
    
गापाले जग्गाधनीमध्ये वारेस नदाफलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाएर सात सदस्यीय समितिमार्फत सो योजना सम्पन्न गरेको तथ्य फेला परेको हो ।     

वडा नं १ का वडाध्यक्ष अशोककुमार यादवले गापा अध्यक्ष विशेश्वर यादवले आर्थिक अनियमितता गर्ने उद्देश्यले व्यक्तिगत जग्गामा सरकारी पैसा लगानी गरेर मदर्सा भवन निर्माण गरेको आरोप लगाए।
    
गापा उपाध्यक्ष जहिदा खातुनले आफूलाई सुरुमा सो योजना व्यक्तिगत जग्गामा सञ्चालन भएको जानकारी नै नभएको र पछि आफूलाई अनुगमन गर्न उपभोक्ता समितिका अध्यक्षलगायतले भन्न आउँदा मात्रै आफूले व्यक्तिगत जग्गामा सरकारी लगानी गरिएको थाहा पाएपछि आफूले अनुगमनसमेत नगरेको बताइन्।