close

विकास निर्माणमा जुट्दै जनप्रतिनिधि 

विकास निर्माणमा जुट्दै जनप्रतिनिधि 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - कोरोना संक्रमणको जोखिम बढेपछि ओखलढुंगाका सबै कार्यालयका काम ठप्प छन् । स्थानीय तहमा पनि अत्यावश्यक बाहेक अरु काम भएका छैनन् । 


तर, केही वडा अध्यक्षहरू भने वडाभित्र चलिरहेका विकासे काममा जुटेका छन् । न्यूनतम सुरक्षालाई ख्याल गरेर रोकिएका काममा जुटेको उनीहरूको भनाइ छ । 


चिसंखुगढी गाउँपालिकाको २ नम्बर वडामा रोकिएका विकासे योजना पूरा गर्ने गरी काम भइरहेको छ । विद्यालय भवन निर्माण, अधुरा पूर्वाधारका वडास्तरका योजना पूरा गर्न कोरोना संक्रमणकै बीच काम थालिएको वडा सदस्य जीवन थापाले बताए ।


उनले भने, ‘अत्यावश्यक बाहेक अन्य कार्यालयका काम रोकिएका छन् । स्थानीय जनशक्तिले हुने विकासका काम यही समयमा सम्पन्न गर्ने गरी भइरहेका छन् ।’ कोरोनाले गाउँ पसेका युवाहरूलाई परिचालन गरे विकासका काममा लगाउन थालिएको वडा सदस्य थापा बताउँछन् ।

 


‘गाउँमै जनशक्ति उपलब्ध छन् । सधैं घरैमा परिवारसँग बस्नेहरूबीच संक्रमणको जोखिमसमेत न्यून हुने भएकाले उपलब्ध जनशक्तिबाट अधुरा काम वडाले पूरा गर्न काम थालेको छ’, थापाले भने । 


त्यस्तै, मानेभन्ज्याङ गाउँपालिका वडा– २ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा व्यवस्थापन र घडेरी सम्याउने काम भइरहेको छ । वडाध्यक्ष उमेश  कार्कीले बन्दाबन्दीका बीचमा घडेरी जुटाउनेदेखि सम्याउनेसम्मको काम सम्पन्न हुने जानकारी दिए ।


सहज अवस्था हुनासाथ भवन निर्माणको काम सुरु हुने त्यसको तयारीमा लागेको कार्कीको भनाइ छ । अहिले चार रोपनी जग्गा स्वास्थ्य चौकीका नाममा स्थानीय दाताबाट पास गरेर घडेरी सम्याउने काम भइरहेको छ । 


यस्तै, मोलुङ गाउँपालिकाको वडा–७ मा विद्यालय भवन निर्माणका लागि वडाले घडेरी सम्याउने काम गरिरहेको छ । कोरोनाका कारण अन्य काम प्रभावित भए पनि वडाका महत्वपूर्ण काम भने नरोकिएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए ।


कोरोना कहरकै बीचमा एक आधारभूत विद्यालयको नयाँ भवन निर्माणका लागि घडेरी सम्याउन स्थानीय जनशक्ति परिचालन गरिएको छ । एक सातामा पूरा हुने सुनुवारले जानकारी दिए । उक्त वडामा स्वास्थ्य चौकीसमेत नरहेकाले जग्गा व्यवस्था गरेर स्वास्थ्य चौकी बनाउन घडेरी सम्याउने तयारी छ ।  वडा कार्यालयको भवनका लागि ७ रोपनी जग्गा पनि स्थानीयसँग समन्वय गरेर रजिस्ट्रेसन पास भइसकेको छ । 


तीनै वडाका वडाध्यक्ष युवा र पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचित भएका हुन् । उनीहरू स्थानीय तहमा काम गर्न दिनरात नभनी खटिरहेका हुन्छन् । चिसंखुगढी गाउँपालिका– २ का वडाध्यक्ष नरेन्द्र बस्नेत भन्छन्, ‘आलोचना हुन्छ, सुन्नुपर्छ । अपेक्षा धेरै भएकाले एकसाथ पूरा हुन सक्दैनन् ।’ 


मोलुङ–७ का वडाध्यक्ष हेमबहादुर सुनुवार जनयुद्धका छापामार हुन् । उनी पछि पर्यटन व्यवसायमा पनि जोडिए । स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जितेका उनी वडाका नागरिकलाई घरैमा पुगेर सेवा दिन्छन् । अशक्तलाई घरैमा पुगेर आवश्यक कागजात बनाइदिने, सामाजिक सुरक्षाभत्ता लगेर दिने गरेको उनले सुनाए । ‘जनतासँगै काम गर्ने बानी पर्यो । अब फुर्सद हुँदा पनि दिक्क लाग्छ,’ उनले भने ।