close

‘त्रियुगा नगरका २१६ कर्मचारीको कामै छैन’

बसन्त कुमार बस्नेत, मेयर, त्रियुगाा नगरपालिका

‘त्रियुगा नगरका २१६ कर्मचारीको कामै छैन’

बसन्त कुमार बस्नेत, मेयर, त्रियुगाा नगरपालिका

Trulli
ADVERTISEMENT

आज शनिवार भएपनि उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको फुर्सदै छैन । औपचारिक कार्यक्रम नभए पनि विभिन्न वडा तहमा कार्यकर्ता र नगरवासीसँग भेटघाट गर्ने तयारी छ । 

‘मेयरको दैनिकी कस्तो हुन्छ र ? त्रियुगााका नगरवासीको र मेरो दैनिकीमा केही फरक छैन’ मेयर बस्नेतले थपे, ‘फरक यत्ति हो, नगरवासीको दैनिकी नेतृत्वसँगको अपेक्षाबाट सुरु हुन्छ, मेरो दैनिकी ति अपेक्षा पुरा गर्ने चिन्तनबाट सुरु हुन्छ ।’

मेयर बस्नेत विहान ६ बजे उठ्छन् । घरमै आएका नगरवासीसँग भलाकुसारी गर्दा घण्टा होइन, घण्टौं बित्छ । गुनासोको सम्बोधन र सुझाव सबै ग्रहण गरिसकेपछि मेयर बस्नेतको औपचारिक जिम्मेवारी सुरु हुन्छ– कार्यालय, कार्यक्रम, मिटिङ । बेलुकी ८ बजे अगाडि नै घर पुग्ने गरेका मेयरको अध्ययन समय पनि यहि हो । उनी बेलुकी ८ देखि ९ बजेसम्म अध्ययन गर्छन् । ढिलोमा १० बजे सुतिसक्ने मेयर बस्नेत खाना र निन्द्रामा भने सौखिन छन् । 

मेयर हुनुअघि अरुको कमजोरी देख्ने आँखा आज फेरिएका छन् । नगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने विषयले नै अहिले एकोहोर्याईदिन्छ । शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, आर्थिक विकास जस्ता विषयमा धेरै गर्नुपर्ने आवश्यकता देख्छन्, मेयर बस्नेत । 

काम धेरै छन्, कर्मचारी पनि टन्नै छन्, तर काम ज्यूँकात्यूँ देखेर मेयर बस्नेतलाई उदेक लागेको धेरै भईसकेछ । त्रियुगा नगरपालिकामा जम्मा ३८६ कर्मचारी कार्यरत छन् । तर मेयरलाई ति सबै कर्मचारी आवश्यक जस्तो लाग्दोरहेनछ । ‘जम्मा १७० जना कर्मचारी भएपुग्छ, २१६ जना कर्मचारीको कामै छैन, हेरालु, रुँगालु समेतलाई कर्मचारीका रुपमा राखिएको छ, यो अन्त्य गर्छु’ मेयर बस्नेतले भने, ‘यि अनावश्यक कर्मचारी राख्नेलाई कारवाहीको लागि सिफारिस गर्छु ।’

ज्यालादारी र करारमा भर्ति केन्द्र बनाएको आरोप लगाएका मेयर बस्नेतले आफुले कर्मचारी भर्ना नगर्ने भनेर भन्न चाहिं सकेनन् । उनले आवश्यक कर्मचारीबारे समिति बनाएर अध्ययन गराउने र त्यही रिपोर्टका आधारमा आवश्यक कर्मचारी भर्ना गरिने बताए । 

मेयर बस्नेतलाई नगरपालिका पुग्दा कार्यालय जस्तो नै लाग्दोरहेनछ । सबैतिर भताभुङ्ग, लथालिङ्ग देखेर अत्यन्तै पीडा हुने गरेको मेयरले बताए । ‘जहाँ जे हुनुपर्ने, जसले जे गर्नुपर्ने त्यहि छैन के, लेखा शाखा, योजना शाखा अस्तव्यस्त छ, स्टोरमा के सामान आयो, के गयो भन्ने थाहै हुँदोरहेनछ, न खरिद आदेश छ, न त माग फाराम नै, यस्तो पाराले कसरी चल्छ नगरपालिका ?’

मेयर बस्नेतले कार्यालय व्यवस्थापन नै पहिलो चुनौती देखेका छन् । विगतमा प्रशासन सुधार समिति बनेको, ५ लाख भुक्तानी गरेको देखिए पनि रिपार्ट नै नरहेको मेयरले जिकिर गरे । 

पहिलो बर्षको बजेट ल्याइसकेको त्रियुगा नगरपालिकाका मेयर बस्नेतले आफुले गरेको प्रतिबद्धता अनुरुपका कतिपय योजना यसै बर्ष समावेश भएको बताए । तर, जनअपेक्षा अनुरुप सबै काम आफ्नो ५ बर्षे कार्यकालमा सम्पन्न हुन नसक्ने मेयर बस्नेतको बुझाई छ । उनी भन्छन्, ‘सबै पूरा गर्न त भगवानले त सक्दैनन्, मैले सक्छु त ? अमेरिका, जापान जस्ता देशले त सक्दैनन् ।’ 

संघ, प्रदेशसँगै अन्तर्राष्ट्रिय दातृ संस्थासँग समेत सहयोग लिएर जनअपेक्षा पुरा गर्ने दिशामा आफु अनवरत लागिपर्ने मेयर बस्नेतले बताए । तर, सकिएन भने ‘मैले सकिन है’ भनेर जनतालाई भनिदिने मेयर बस्नेतको तयारी छ । 

विहानै भेटिएका मेयर बस्नेतसँग विदा माग्दै गर्दा उनले भने, ‘मेरो ५ बर्ष हो, त्यो भन्दा १ दिन पनि बढ्न सक्दैन, त्यसैले हरेक दिनलाई महत्वका साथ हेरेर संवेदनशिल भएर काम गर्नेछु ।’

मेयर बस्नेतको दिन शुभ होस् ।