close

भिजन भए पनि जनताले साथ नदिँदा असफल भए मिश्र

भिजन भए पनि जनताले साथ नदिँदा असफल भए मिश्र

Trulli
ADVERTISEMENT

भक्तपुर । जनप्रतिनिधि वा सरकार प्रमुख सफल हुन आफ्नै भिजन र राजनीतिक संरक्षणले मात्रै पुग्दैन । त्यसको लागि जनताको साथ पनि अनिवार्य हुन्छ । अवैध संरचना हटाउने कार्य होस् वा विकासका निर्माणको कार्य जनताको सहयोगबिना अधुरै हुन्छ ।  

यसको एक उदाहरण हुन्, चाँगुनारायण नगरपालिकाका पूर्वनगरप्रमुख सोमप्रसाद मिश्र । मिश्र स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । निर्वाचित भएको दुई वर्षपछि अर्थात् २०७६ असोजमा नगरपालिकाको वडा नम्बर ६ नगरकोट क्षेत्रमा अवैध रूपमा निर्माण भएका घर तथा टहराहरू भत्काए । 

तीन वर्ष अघि नै उनले सरकारी जग्गाको संरक्षणको लागि अवैध रूपमा बनेका टहरा तथा घर हटाउन निर्देशन दिएका थिए । तर उनीविरुद्ध नगरवासीले विरोधमात्रै गरेनन्, पुत्ला दहनसमेत गरे ।

अहिले अवैध संरचना हटाउने कामलाई काठमाडौं महानगरपालिकाले अगाडि बढाएका छन् । गत बैसाखमा निर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गत भदौ ६ गतेदेखि अनधिकृत रूपमा निर्माण भएका संरचना भत्काउन सुरु गरिएका छन् । 

लामो समयदेखि प्रयोगमा हुँदै आएका संरचना भत्काउने अभियान शाह विगत एक महिनादेखि लागेका छन् । नक्सा पास भएबमोजिम संरचनाको प्रयोग नभएको भन्दै काठमाडौं महानगर क्षेत्रभित्रका अधिकांश क्षेत्रमा संरचना डोजरको प्रयोग गरी भत्काइएका छन् ।

अण्डरग्राउण्ड पार्किङसहितको नक्सा पास भए पनि व्यावसायिक प्रयोजनको लागि प्रयोग भएका संरचनामा शाहको नेतृत्वमा भत्काइँदै आएको छ ।  भवन भत्काइरहँदा नगरप्रमुख शाहलाई जनताको साथ र सहयोग छ । 

अधिकांशले उनका कामलाई वाहवाही गर्दै आएका छन् । शाहको नेतृत्वमा डोजर प्रयोग गरिरहँदा पनि उनको समर्थनमा ताली बजाउनुका साथै नारासमेत लगाइँदै आएको छ । शाहको कार्यलाई लिएर मुलुकमा विकासमा नयाँ मोडेल स्थापित भएको बताउँदै आएका छन् । 

तर, त्यहीँ काम तीन वर्ष अघि काठमाडौंकै छिमेकी जिल्लामा हुँदा भूमिहीन नागरिक माथि ज्यादती गरिएको रूपमा हेरियो । 

चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रलाई तत्कालीन वडाध्यक्ष सन्तबहादुर वाइवा र केही स्थानीय बासिन्दाले सहयोगसमेत गरेका थिए । मिश्रको नेतृत्वमा वन क्षेत्र र बाटोको दायाँबायाँ अनधिकृत रूपमा अतिक्रमन गरी बनाइएका २०५ वटा घर तथा अस्थायी टहरा डोजरको प्रयोग गरी भत्काइयो । 

मिश्रका अनुसार नगरकोटदेखि महादेव पोखरीसम्म र भट्टेडाँडा क्षेत्रमा निर्माण भएका अवैध संरचनाहरू भत्काउन लगाइएको बताए । टहरा भत्काइएपछि स्थानीयले पुत्ला दहन गरेका थिए । ‘हामीले पनि नगरकोट क्षेत्रको संरक्षण गर्नको लागि अवैध रूपमा निर्माण भएका टहरा भत्काएका थियौँ,’ पूर्वनगरप्रमुख मिश्रले पालिका खबरलाई भने, ‘तर हामीलाई स्थानीयले सहयोग गर्नुको सट्टा पुत्ला जलाइयो ।’

सार्वजनिक क्षेत्र संरक्षणको लागि आफूले गर्दा विरोध गर्ने व्यक्तिले अहिले दोहोरो भूमिका निर्वाह गर्दै आएको आरोप उनको छ । ‘हामीले त्यहीँ काम पहिला गर्दा पूर्वाग्रहमा आएर मुर्दावाद भनियो । मेरो पुत्ला पनि जलाइयो,’ उनले भने, ‘अहिले बालेनले गर्दा उनीहरू नै वाहवाही गर्दैछन् ।’

मिडियामा प्रचार–प्रसार गर्न नसकेको वा अन्य कुनै कारणले गर्दा आफूले जनताको समर्थन पाउन नसकेको हुन सक्ने उनले बताए । तीन वर्ष अघि संरचना हटाएको क्षेत्रमा गत वर्ष नगरपालिकाको नेतृत्वमा व्यवस्थित संरचनाहरूको निर्माण कार्य भइरहेको उनले सुनाए । 

हाल सो क्षेत्रमा सार्वजनिक शौचालय, पर्यटक बसपार्क निर्माण, जनजाति संग्राहलय निर्माण र पसल सञ्चालनको लागि सटर निर्माण भइरहेको स्थानीय राजकुमार लामिछानेले बताए । उनका अनुसार निवर्तमान नगरप्रमुख मिश्रको आतिथ्यमा नै निर्माण कार्यको शिलान्यास भएको र हाल पनि निर्माण भइरहेको छ । सो संरचनाबाट स्थानीयसँगै पर्यटकलाई पनि सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । 

आफ्नो कार्यकालमा स्थानीय सरोकारवाला निकायको सहकार्यमा काम भए पनि आफूहरूविरुद्ध विरोध भएको निवर्तमान वडाध्यक्ष वाइबाले बताए । ‘हामीले कार्यपालिका बैठकमा सहमति गरेरै अवैध संरचना भत्काएका थियौँ,’ उनले भने, ‘बैठकमा संरचना किनबेच गर्ने व्यक्ति, स्थानीय राजनीतिक दल र स्थानीय बासिन्दाको सहभागिता पनि थियो ।’ 

सहमतिमा काम गरे पनि भवन भत्काइसकेपछि आफूहरूलाई मात्रै ‘टार्गेट’ गरिएको उनले पालिका खबरलाई बताए । राजनीतिक रूपमा पूर्वाग्रह भएर बैठकमा सहमति दिने व्यक्तिले नै आफूहरूविरुद्ध विरोध गर्न लगाएको आरोप उनको छ । 

उनले स्मरण गर्दै भने, ‘हामीले राम्रो काम गर्नको लागि टहरा हटाउन लगाएका थियौँ ।’ तर पनि आफूहरूविरुद्ध नराम्रो काम गरेको जस्तै व्यवहार गरिएको उनले बताए । 

‘पहिले विरोध गर्ने व्यक्तिहरू अहिले पनि सो क्षेत्रमा व्यवस्थित रूपमा काम गर्दै आउनु भएको छ,’ उनले भने, ‘पहिले हाम्रो कामको विरोध गरेर पुत्ला जलाएका थिए । तर आफैँ राम्रो काम भयो भन्दै हिँड्छन् ।’