close

मेरो प्राथमिकता ‘सुशासन’ : अध्यक्ष (मीना कार्की, लिखुपिके)

मेरो प्राथमिकता ‘सुशासन’ : अध्यक्ष (मीना कार्की, लिखुपिके)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालको संविधानमा स्थानीय तहमा प्रमुख पुरुष भएमा उपप्रमुख महिला अनिवार्य हुनु पर्ने व्यवस्था छ ।

तर, यही व्यवस्थाको आधारमा  ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत् सबै स्थानीय तहमा संवैधानिक व्यवस्था लागू हुन सकेको छैन।

त्यसमा पनि स्थानीय सरकार प्रमुखमा महिलाको उपस्थिति अत्यधिक  न्यून छ।

धेरै स्थानीय तहको प्रमुखको रूपमा पुरुषकै वर्चस्व छ ।

त्यसका बावजुत पनि केही स्थानीय तहमा प्रमुखको रूपमा महिलाको उपस्थिति रहेको छ ।

त्यसमध्ये एक हुन् सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी मीना कार्की बस्नेत । नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई पराजित गर्दै उनी पालिका प्रमुख भएकी हुन् । बस्नेत निर्वतमान अध्यक्षसमेत थिए ।

आफूले समाजमा गरेको सेवा र व्यक्तिगत प्रभावका कारण पालिकाप्र मुखको रुपमा निर्वाचित भएको अध्यक्ष कार्की बताउँछिन् । ‘मलाई पार्टीले टिकट दिन्नँ भन्यो । तर, ढिँपी गरेर उम्मेद्वारी दर्ता गरेँ,’ उनले भनिन्, ‘र, जितेँ पनि ।’ समाजसेवाको भावना रहेकाले सेवाका लागि नै आफू राजनीतिमा आएको उनले बताइन् ।

समाजसेवाप्रतिकोे लगाव देखेर आममतदाताले आफूलाई कार्यपालिकाको कार्यकारीणी भूमिकामा पुर्‍याएको उनको भनाइ छ ।

३० वर्ष शिक्षण पेसामा आबद्ध भएकी उनी कुशल शिक्षिकासमेत हुन् ।

पितृसतात्मक मूलक समाज भए पनि काम गर्न असहज नभएको अनुभव सुनाइन् ।

पालिका प्रमुखको जिम्मेवारी पाएसँगै उनले पालिकामा सुशासन र पारदर्शिता कायम गर्नका लागि नीति बनाएर कर्मचारी र जनप्रतिनिधिसँग समन्वय गर्दै आएकी छिन् ।  

पालिकामा सुशासन र कार्यप्रणालीको अभाव रहेको बताउँदै उनले आफू सुशासनका लागि अगाडि बढेको बताइन् ।  यसअघि पालिकामा सुशासन नरहेको बताउँदै भनिन्, ‘सुशासन कायमका लागि लागेका छौँ । अब हुनेछ,’ उनले भनिन् ।

उनी पालिका र स्थानीयको विकासका लागि शिक्षाको विकास हुनुपर्छ भन्ने मान्यता लिन्छिन् । सोहीअनुरुप अन्य क्षेत्रको तुलनामा शिक्षाको विकास र सुधारलाई जोड दिँदै आएकी छिन् ।

यसका लागि सर्वप्रथम शिक्षित समाज निर्माणका लागि आफूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै सोहीअनुरुप काम गर्दै आएको बताइन् ।

‘शिक्षक दरबन्दी मिलान हुन सकेको छैन । विद्यालय भवन निर्माण हुन सकेका छैनन्,’ उनले भनिन्, ‘शिक्षा क्षेत्रको समस्याको समाधानको लागि छलफल गर्दै आएका छौँ ।’

शिक्षकलाई मर्यादित बनाउन विद्यालयमा इहाजिरीको व्यवस्था गरिएको छ । परीक्षणको रुपमा तीन सामुदायिक विद्यालय र नगरपालिका कार्यालयमा इ–हाजिरी प्रणाली लागू गरिएको उनले बताइन् । पालिकाभित्रका २२ वटै विद्यालयमा ई–हाजिर प्रणालीको लागू उनको योजना छ ।

तर, पालिकासँग आवश्यक बजेट नभएकाले गर्दा योजनाअनुरुप काम हुन नसकेकोमा दुखेसो पोखिन् । ‘हामीसँग बजेट छैन । विकास गर्न आर्थिक पक्ष महत्त्वपूर्ण हो, उनले भनिन्, संघ र प्रदेश सरकारसँग हामीले बजेट माग गर्दै आएका छौँ।’

आफ्नो कार्यकाल सुरु हुनुभन्दा पहिले नै संघ र प्रदेशले बजेट विनियोजन गरेकाले चालू आवमा संघ र प्रदेशबाट कम बजेट आएको बताउँदै उनले आगामी वर्षदेखि संघ र प्रदेशबाट आउने बजेट बढाउन प्रयत्न गर्ने योजना रहेको उनले सुनाइन् ।

पालिकाको विकास र योजना कार्यान्वयनका लागि कर्मचारीसँग समन्वय गर्दै आएको उनी बताउँछिन् । आफ्नो कार्यकाल सुरु भएदेखि नै पालिकाभित्रका कर्मचारीले आवश्यक सहयोग गर्दै आएको उनले बताइन् ।

आफू महिला प्रमुख भए पनि पुरुष प्रतिनिधिसरह नै काम गर्न सकेकोमा उनी खुसी छिन् । ‘समाजमा महिलालाई काम गर्न समस्या छ । गर्न सक्दैन भन्ने धारणा छ । तर, मैले गरेर देखाएँ,’ उनले भनिन् ।

वडाध्यक्ष र अन्य जनप्रतिनिधिले सच्चा र राम्रो व्यवहार गरी सहयोग गर्दै आएको उनले बताइन् । पालिकाभित्रका सबै वडामा बत्ती नपुगेको नपुगेको बताउँदै उनले वडागत रुपमा बत्ती जडान गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय भइरहेको बताइन् ।

‘गाउँपालिकामा काठेपुल हटाएर फलामे पुल जडान गरिएको छ । पालिकालाई रंगरगोन गर्नका लागि काम भएको छ,’ उनले भनिन्  । अघिल्ला अधुरो योजनालाई बजेट विनियोजन सम्पन्नको अन्तिक चरणमा पुगेको उनले पालिकाखबरलाई सुनाइन् ।

राष्ट्रपति सुधार कार्यक्रममार्फत पालिकाका केही विद्यालयको शैक्षिक सुधार र भौतिक संरचना निर्माणको पहल भइरहेको उनले बताइन् ।आफ्नो सय दिनको कार्यवधिमा गाउँपालिकाको आधारभूत अस्पताल सञ्चालनको अन्तिक चरणमा पुगेको उनको दाबी छ ।

वडा नम्बर भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले सार्वजनिक र सरकारी जग्गाको संरक्षणको लागि नक्सांकन र रेखांकनको कार्य भएको जानकारी दिइन् ।

गाउँपालिकाका सबै वडामा कृषि समूह गठन, शैक्षिक गुणस्तर सुधारको लागि इसिड शिक्षकको तालिम, विव्यसको गठन र पुनर्गठन, आवधिक निर्माण कार्य भएको अध्यक्ष बस्नेतले बताइन् ।

सडक विस्तारका लागि पालिकाले छिमेकी जिल्लासँग समन्वय गर्दै आएको छ । ‘छिमेकी जिल्लासँग सडक निर्माणको लागि सम्झौता भएको छ,’ उनले भनिन् ।

उनले आफूले सुरुवाती काम गरेकाले सबै योजना एक पटक पूरा नहुने बताइन् । त्यसका लागि जनताले पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्ने सुनाइन् ।

कार्यपालिकाको भूमिका निर्वाहमा अहिलेसम्म कुनै व्यवधान नआएको बताउँदै सहज वातावरणमा पालिकाबासीको काम भइरहेको उनले बताइन् । ‘हामी पालिका र जनताको विकासका लागि आएका हौँ । समस्या आए पनि समाधान गर्दै अगाडि बढ्नेछौँँ,’ उनले भनिन् ।

पालिकाबासीले आफूलाई विश्वास गरेर पठाएकोले सोहीअनुरुप काम गर्ने  उनले बताइन् ।