close

‘पार्टीले टिकट नदिए पनि जनताले जित्ने भोट दिए'

‘पार्टीले टिकट नदिए पनि जनताले जित्ने भोट दिए'

Trulli
ADVERTISEMENT

हुम्ला । लामो समय माओवादी केन्द्रमा आबद्ध प्यारीलाल शाहीले स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार हुन पाएनन् ।  गठबन्धनका साझा उम्मेद्वार  गोविन्दबहादुर शाही बने । 

तर, उनले स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णय गरे । उनले चंखेली गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए । उनले गठबन्धनका उम्मेदवार शाहीलाई नै पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

करिब २४ वर्ष केन्द्रमा बसेर राजनीति मात्रै गरेनन्, पालिकाभित्रका ससाना समस्या केलाएर जनताको सेवा पनि गरे । त्यसैले पनि उनी जनताको प्रिय बने । उम्मेदवारीको लागि पार्टीले टिकट नदिए पनि जनताले साथ दिए । र पालिका अध्यक्ष पनि भए । 

‘पार्टीमा उम्मेदवारी दावी गरे । तर टिकट दिएन,’ उनले भने, ‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दावी गरे । जनताले साथ दिए र जितेँ ।’ 

आफूलाई जनताले मत दिएर विजयी गराएर जिम्मेवारी बहन गर्न अवसर दिएको उनले बताए । मसँग पालिकाको जिम्मेवारी छ । जनताको आशार भरोसा छ । जुन मैले पुरा गर्र्नुपर्छ, उनले थपे । उनका अनुसार पालिकाका स्थानीय बासिन्दाले लामो समयदेखि परिवर्तन र विकासको अपेक्षा गर्दै आएका छन् ।

‘मैले राजनीतिमा लागेर समाजसेवा गरेँ । जनताको समस्या लिएर विभिन्न कार्यालयमा धाएँ,’ उनले भने, ‘जनताको सेवा र पीडा मेरोजस्तै लाग्थ्यो । अनि सहयोग गरे । सायद त्यसैको परिणामले जितेँ ।’ 

उनले पालिकाको विकासको लागि मास्टर प्लान बनाएर अगाडि बढेको बताए । तर स्थानीय सरकारसँग आवश्यक बजेट नभएकोले संघ र प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक योजना बनाएर कार्यान्वयन हुने अध्यक्ष शाहीले पालिका खबरलाई बताए । 

‘पालिकामा सडक, शिक्षा, स्वास्थ्य र बत्ति लगायतको पूर्वाधारको समस्या छ,’ उनले भने, ‘सोही क्षेत्रको विकास परिवर्तनको लागि हामी लागेका छौँ ।’

उनका अनुसार पालिकमा गुणस्तरी शिक्षाको अभाव, सडकको अभाव, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको समस्या भौग्दै आएका छन् । उनले पालिकाभित्रका शैक्षिक स्तर भद्रगोल रहेको बताए । ‘गुणस्तरीय शिक्षा कायम हुन सकेको छैन । शिक्षक दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन,’ उनले भने,  ‘गाउँपालिका आफैंले शिक्षक व्यवस्थापन गरेर अध्यापन गराउँदै आएका छौँ ।’ विद्यालयप्रति आर्कषण गर्नको लागि पालिकाले दिवा खाजाको कार्यान्वय गर्ने योजना उनको छ । 

उनले शिक्षा भएको लापरबाही हटाउनका लागि योजनाबद्ध रुपमा काम गर्दै आउने बताए । पालिकामा स्वास्थ्य चौकी रहे पनि गुणस्तरीय सेवा दिन सकेको छैन । स्वास्थ्य सेवा सुधारको लागि नीति बनाएर कर्मचारी र आवश्यक सामग्रीको व्यवस्थापन गर्दै आएको अध्यक्ष शाहीले बताए । 

गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक र मोटरेवल पुल नपुगेको उनले सुनाए । संघ र प्रदेश सरकारको समन्वयमा पालिकामा पुल र सडक निर्माण गर्ने योजना उनको छ ।  उनका अनुसार पाँच वर्षभित्र पालिकाको विभिन्न स्थानमा पुल निर्माण हुनेछ । 

चंखेली गाउँपालिका सूचना र प्रविधिमा पछाडि परेकोमा उनले दुखेसो पोखे । ‘यहाँका जनताको घरमा बत्ती पुगेको छैन । नेटवर्क पुग्दैन,’ उनले भने, ‘बत्ती व्यवस्थापनको योजनाको कार्य पनि भइरहेको छ ।’ 

उनले केही समयपछि घट्टेखोलाका तीन बस्तीमा बत्ती जडान हुन लागेको बताए । गाउँपालिकाको आफ्नो निजी प्रशासकीय भवन नभएकोले कार्य सम्पादन गर्न केही समस्या भएको र आफ्नो कार्यकालमा भवन निर्माण हुने सुनाए । 

‘हामी भाडाको घरबाट सेवा दिँदै आएका छौँ । प्रशासकीय भवनको शिलान्यास भएको छ,’ उनले भने । उनले पाँच वर्षमा भवन सम्पन्न भई सेवा प्रवाह पनि हुनेछ ।