close

कसरी बिताउँछन् महिला जनप्रतिनिधिले शनिबार ?

कसरी बिताउँछन् महिला जनप्रतिनिधिले शनिबार ?

Trulli
ADVERTISEMENT

काठमाडाैं। शनिबार कहिले आउँला! यो आराम, घुमघाम गर्ने दिन भएकाले सबैलाई 'शनिबार'ले रमाइलो ल्याउँछ । अझ विद्यार्थी र जागिरेको लागि त शनिबारको नै पर्खाई विशेष हुन्छ । परिवार मिलेर कतै घुम्न जाने अथवा घरमा केही विशेष कार्यक्रम गर्नुपर्यो भनेपनि शनिबार नै सबैको रोजाइँकाे दिनमा  पर्छ। 

स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छन्। स्थानीय तह जनताको नजिकको सरकार हो । त्यसैले पनि हाेला, स्थानीय सरकार सञ्चालनको जिम्मेवारी पाएका जनप्रतिनिधिलाई जनताको सेवाबाट सायदै फुर्सद मिल्छ । अझ महिला जनप्रतिनिधिका लागि त स्थानीय सरकारसँगै परिवारकाे पनि धेरै जिम्मेवारी हुन्छ । शनिबार सरकारी कार्यालय बन्द रहने भएकाेले पनि परिवारले उनीहरुसँग धेरै आशा पनि राखेकै हुन्छन् हाेला । तर परिवारकाे आशा बमाेजिम शनिबारका दिन समय दिन पाउँछन् हाेला त ? यही उत्सुताकाे जवाफका लागि महिला जनप्रतिनिधिले कसरी शनिवारको सदुपयोग गर्छन् भन्ने विषयमा हामीले बुझ्न खोज्यौँ। 

सप्तरीको सुरुङ्गा नगरपालिकाकी प्रमुख गिता चौधरी जनप्रतिनिधिको लागि बिदाको दिन कहिल्यै पनि नहुने बताउँछिन्। अरु दिन बिहानै सहभागी हुनुपर्ने कार्यक्रम छैनन् भने नौ/दश बजेमात्र घरबाट निस्किन्छिन्, उनी । तर शनिबार भने बिहानै घरबाट निस्किन्छिन् र पालिकाभित्रका टोलटोलमा चिया पिउँन पुग्छिन्। एघार/बाह्र बजे घर फर्किन्छिन्। दिउँसो कार्यक्रम भएको दिन उनको त्यतै दिन बित्ने उनले बताइन् । 

‘बिहानै घरबाट निस्किँदा वृद्ध व्यक्तिहरुसँग भेट हुन्छ, उहाँहरुको कुरा सुन्छु । महिलाहरु त चिया पिउनकै लागि घरबाट खासै निस्किएका हुँदैनन्’ उनले भनिन्। वृद्धवृद्धाको सेवालाई आफूले पहिलो प्राथमिकतामा राखेको उनले सुनाइन्। नियमित चेकजाँच गर्ने, बैँकसम्म वृद्धभत्ता लिन जान नसक्ने ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा घरमै वितरण गर्न बैंकसँग सहकार्य गरेको उनले जानकारी दिइन्। 

पुरै नगरपालिकाका स्थानीय आफ्नो परिवार भएको उनले बताइन्। ‘श्रीमान बाहिर बस्नुहुन्छ । बच्चाहरु पनि अध्ययनको क्रममा घर बाहिर नै छन्। घरमा ससुरा बुबा हुनुहुन्छ । उहाँ आफ्नै काममा, म आफ्नै काममा व्यस्त हुन्छु’, उनले सुनाइन् । 

अरु दिनमा नगरपालिकाका विभिन्न काममा बढी व्यस्त हुने उनले बताइन्। ‘सँधै कार्यालयमा नै बस्नुपर्ने बाध्यता त छैन तर काम भ्याइनभ्याई हुन्छन् नै,' उनले भनिन्, 'शनिबार भने अफिस जानु पर्छ भन्ने छैन । निर्धक्क भएर मन लागेको ठाउँमा स्थानीयका कुरा सुन्न पुग्छु।’ शनिबार फुर्सदिलो भने हुने नगरेको उनले बताइन्। 

यस्तै, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि कुनैपनि शनिबार घरमा नबिताएकाे अनुभव सुनाइन् । 

समुह, समुदाय, संघ संस्था, विद्यालय, सहकारीको विभिन्न कार्यक्रम शनिबार नै आयोजना हुने र त्यस्ता कार्यक्रममा सहभागी हुने गरेको उनले बताइन्।  स्थानीय तहको जनप्रतिनिधि भएपछि जनतालाई नै समय दिनु आफ्नो जिम्मेवारी रहेको उनले बुझेकी छिन्।  'शनिबार बिदाको दिन म कार्यक्रममा आउँदिन भन्न नमिल्ने' उनले सुनाइन्।

उनी भन्छिन्, ‘शनिबार भनेर घरमा बस्न पाइँदैन। कार्यक्रममा नै व्यस्त हुन्छु। जनप्रतिनिधि भएदेखि कुनै पनि दिन घरमा बस्न पाएको छैन । एकपटक बिरामी हुँदा घरमा बसेकी थिएँ, त्यत्ति हो।’

दोलखाको भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत पनि अन्य दिनको तुलनामा शनिबार झन व्यस्त हुने गरेको बताउँछिन्। अरु दिन कार्यपालिकाको काम हुन्छ । शनिबार अरुले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुपर्ने उनले सुनाइन्। परिवारको लागि छुट्याउने समय नहुने उनले सुनाइन् । 

शनिबार अरुको लागि आराम गर्ने, परिवारको लागि समय दिने दिन हुन्छ। तर जनप्रतिनिधिका लागि भने कुनैपनि दिन बिदाका दिन नभएको उनको अनुभव छ। ‘२४ घण्टा नै जनताको सेवाको लागि तयार रहनु पर्छ, खाली वा फुर्सदिलो समय भन्ने नै हुँदैन’ उनले भनिन्। कुनैकुनै शनिबार संघसंस्था क्लबहरूले कार्यक्रमको आयोजना गरेका रहेनछन् भनेँ चाहीँ संयोगवश घर बस्न पाइएको उनले सुनाइन्। 

उनी भन्छिन्, ‘परिवारका सबैजना सदस्य आ–आफ्नै काममा व्यस्त हुनुहुन्छ, घरमा समय नदिएको भन्ने खासै गुनासो आएको छैन । छोराछोरीलाई भने चाहेजति समय दिन सकिरहेकी हुदिनँ। दिनभरि समय दिन नसकेपनि सन्तानको लागि बेलुकाको समय छुट्याउँछु। बेलुका छोराछोरी सँगै सुत्छु।’

यस्तै कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभ लक्ष्मी शाक्य (सुनिता)को पनि अन्य महिला जनप्रतिनिधिको भन्दा खासै फरक अनुभव छैन। प्राय जस्तो नगरपालिकाको कार्यक्रम शनिबार राख्ने गरेको उनले बताइन्। नगरपालिकाले सञ्चालन गरेको समुदाय स्तरमा वृहत सरसफाई अभियान शनिबार बिहान सञ्चालन हुन्छ । 

‘कतिपयलाई कार्यक्रम हामी आफै पनि शनिबार राख्न सुझाब दिन्छौँ। पालिका भित्रका संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागि पनि हुनपर्यो। वडाले सञ्चालन गरेका स्वास्थ्य शिविर जस्ता कार्यक्रममा सहभागी हुन्छु।’ नगरपालिकाका विभिन्न गतिविधिमै सहभागी भएर नै हरेक शनिबार बित्ने उनले सुनाइन् । 

पाँच वर्षका लागि नगरपालिकाको उपप्रमुख भएदेखि आफ्नो व्यक्तिगत काममा भनेर उनले समय छुट्याएकी छैनन् । अरु दिनमा पनि बिहानैबाट नगरपालिकाका योजना अनुगमनदेखि विभिन्न कार्यक्रममा लागि हिड्ने गरेको उनले बताइन्। शनिबार प्राविधिकको बिदा हुने भएर योजना अनुगमनको काम भने गर्ने नगरेको उनले जानकारी दिइन्। 

आफ्नो र परिवारको लागि समय भनेको बेलुका घर पुगेदेखि बिहान घरबाट ननिस्किँदा सम्मको समय मात्र हुने उनको अनुभव छ। ‘परिवार पहिल्यै देखि सामाजिक काममा खटिएको भएपनि घरमा समय दिन नसकेकोमा गुनासो गर्नु भएको छैन। जुनसुकै समयपनि मैले आफ्नो स्थानिय तह र जनताको लागि समय दिन सकिरहेकी छु ,’ उनले भनिन्।