close

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्ष

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्ष

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले आफ्नो एक वर्षीय कार्यकालको समीक्षा गरेको छन् । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी दोस्रो कार्यकालको पहिलो वर्ष पुरा गरेका जनप्रतिनिधिले समीक्षा गरेका हुन् । 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले कार्यक्रमको उदघाटन गरेका थिए । उनले  नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु आफ्ना नागरिकहरुको हितमा चौबिसैं घण्टा एम्बुलेन्स र दमकलजस्तै खट्नुपर्ने धारणा राखे ।

नगरपालिकाका कर्मचारीहरुले आफ्ना सेवाग्राहीप्रति गरिने भाषा र व्यवहारमा सुधार गर्नुपर्नेतर्फ इंगित गर्दै अध्यक्ष बिजुक्छेँले कार्यालय समयमा व्यक्तिगत कामलाई प्राथमिकता दिन नहुने र कर्मचारीलाई कर्तव्य पालनामा कडाइ गर्नुपर्ने विचार राखे ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको स्तरोन्नति सँगै नगरपालिकाले नगरका वडा वडाहरुमा रहेको पुस्तकालयहरुको  पनि सुधारमा आवश्यक पहल गर्नुपर्ने बताउँदै उनले भक्तपुर विशिष्ट पाहुनाहरुले अवलोकन गर्ने राजधानी सहर भएको हुँदा यो सहरलाई सँधै सफा र सुग्घर राख्नुपर्ने सुझाव दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताउँदै उहाँले यो देशद्रोही कदम हो र यस प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गरी जनतामाझ उदांग्याउनु जरुरी रहेको बताए । 

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता पूरा गर्न भक्तपुर नपा कटिबद्ध भइ लागिरहेको बताए । उनले नेपालमा संघीयता कार्यान्वयनपछि संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई व्यापक जनताको हितमा काम गर्दै आएको बताए ।

 नगरपालिकाले संघीयताको मर्म र भावनाअनुसार निरन्तर जनताको सेवामा समर्पित हुँदै समाजवादउन्मुख काम गर्र्दै आएको उनले बताए । 

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दोस्रो कार्यकालको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै बाँकी कार्यकाल अझै उदाहरणीय रहने विश्वास व्यक्त गरे ।
स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै उहाँले उपलब्ध स्रोतसाधनको अधिकत्तम उपयोग गरी जनताको हितमा अझ सशक्त ढंगले काम गर्न नपा अग्रसर हुनुपर्ने बताए ।


ख्वप ई. कलेज प्राचार्य सुजन माकले कलेज स्थापनादेखि हालसम्ममा भक्तपुर नपाका १,८५५ जना विद्यार्थीले विविध विषयमा ई. अध्ययन गर्ने अवसरमा प्राप्त गरेको बताए । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले स्थापित ख्वप इ. कलेजमा ७७ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै उनले ख्वप ई. कलेज नेपालकै उत्कृष्ट कलेजको रुपमा अगाडि बढिहरकेो अवगत गराए ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले विगत ९ महिनामा ख्वप अस्पतालले १ लाख ७९ हजार बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै अस्पतालले प्रसुती सेवाको पनि बिस्तार गरिसकेको अवगत गराए ।

जनस्वास्थ्य सेवा केन्द्र हुँदै हाल १०० शैय्याको ख्वप अस्पताल सञ्चालन आफैमा भक्तपुर नपाको ठूलो उपलब्धी भएको बताउँदै उनले ख्वप अस्पतालले दैनिक ७५० जना बिरामीहरुलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएको एक वर्षको अवसरमा आज भक्तपुर नपाले जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ गरेको छ ।