close

बाचा गरेभन्दा पहिल्यै काम गरेँ: नगरप्रमुख सुवेदी

बाचा गरेभन्दा पहिल्यै काम गरेँ: नगरप्रमुख सुवेदी

Trulli
ADVERTISEMENT

झापा। ‘गौरादह नगरपालिकाका बासिन्दालाई कुनैपनि पछुतो नहुनेगरि काम गर्छु।’ झापाको गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले २०७९ काे स्थानीय तहकाे निर्वाचनमा नगरप्रमुखकाे पद जित्ने बित्तिकै भनेको पहिलो वाक्य हो यो। 

आफूले बाेलेकाे पहिलो वाक्य पूरा गर्नका लागि निर्वाचनमा बाचा गरे अनुसार नगर अस्पताल बनाएको उनी बताउँछन्।  उनको अनुसार नगर अस्पतालको लागि आवश्यक जनशक्ति करारमा दिएर २४ घण्टा सेवा सञ्चालन गरिएको छ । 

यस्तै पछिल्लो एक वर्षमा बीमा संस्थाको लागि सबै प्रकृया पूरा गरिएको र अब बीमा संस्थाले अनुगमन गरेपछि नागरिकको स्वास्थ्य बीमा गर्न थालिने उनले जानकारी दिए। शिक्षा क्षेत्रलाई प्राविधिकरण गर्दै लैजाने प्रकृया अघि बढाएको उनले बताए। उनले भने ‘ पालिकाभित्रका दुई ओटा विद्यालयमा सिटिइभिटी अन्तर्गत रहेर प्राविधिक शिक्षा पठनपाठन गर्न थालिएको छ।’

नगरपालिकाले सडक मापदण्डको प्रयोग गरेर सडक पूर्वाधार विकासको काम गरिरहेको उनले जानकारी दिए। ‘पालिकाभित्रको अधिकाशं सडक ग्राबेल गरि सकिएको छ।  १३ किलोमिटर सडकलाई कालोपत्रे गर्नका लागि पूर्वाधार तयार भइसकेको छ ।’ उनले भने।  भु–वर्गिकरण अन्तर्गतको पालिका भित्रका जग्गाको वर्गिकरणको काम सम्पन्न भएको उनले बताए। 

स्थानीय सरकारको अर्को महत्वपूर्ण कार्य भनेको कानुनको निर्माण रहेको उनी बताउँछन्। नगरपालिकाले नगर शिक्षा ऐन, सम्पत्ती कर ऐन लगायताका सात ओटा कानुनको निर्माण गरिएको उनले जानकारी दिए। 

वडा नं ५ का संस्थापक वडाध्यक्ष समेत रहेका सुवेदीले तत्कालिन समयमा सुरुवाती चरणमा रहेकाले साना साना योजनामा बढी ध्यान दिनुपर्ने अवस्था रहेको बताए। त्यस्ता योजनालाई वडालाई बजेटको आवश्यकता पर्ने, वडाले ती योजनाको कार्यान्वयन गर्नुपर्ने, प्राथमिकरण गर्नुपर्ने मान्यता रहेको उनको अनुभव छ। 

अहिले आफू नगरप्रमुख भएपछी अन्य राजनैतिक दलबाट चुनिएका वडाध्यक्षले पनि वडामा कम बजेट आएको भनेर गुनासो नगरेको उनले बताए। 

राजस्व बाँडफाँडमा स्थानीय सरकारलाई दिएको अनुदान संघीय सरकारले कटौती गरेको छ । यस्तो समयमा नगरपालिकाले चाहे अनुसारको काम गर्न सक्ने अवस्था छैन। तर, जनतालाई आफूले निर्वाचन जितेकाे बेलामा भनेझैँ पछुताउनु पर्ने अवस्था सिर्जना हुन नदिने उनको दाबी छ।

उनी भन्छन्, ‘ म भ्रष्टाचार गरेर दुङदुङ गनाएँ, अनियमितता गरेँ भने पो जनता पछुताउनु पर्छ। काम कम गरेपनि इमान्दारिताका साथ गरेँ भने मुल्यांकन पनि राम्रो हुन्छ।’

(गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीसँग पालिकाखबरले गरेको कुराकानीको सम्पादित अंश। विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्।)