close

काठमाडौंबाट झिमरुक हेर्दा...

काठमाडौंबाट झिमरुक हेर्दा...

Trulli
ADVERTISEMENT

काठमाडौं । कला परिषद‍्को पहिलो तलाको एक प्रदर्शनीकक्षमा पुग्दा प्युठानको झिमरुक पुगेजस्तै लाग्छ । झिमरुक कहिल्यै नपुग्ने र नदेख्नेहरूको आँखा अनौठो तथा सुन्दर संस्कृतिले झल्किएको तस्विरमा पुग्छ । सुन्दर तस्विर देखेर हरेक क्यानभासको क्याप्सनमा घोत्लिन्छन्, अनि झिमरुकबारे बुझ्छन् । 

त्यही कोठाभित्र कलाकार कुन्ती श्री थापामगर व्यस्त छिन् । परिषद‍्मा आएकालाई आफूले बनाएका चित्रबारे जानकारी दिन उनलाई भ्यानभ्याई छ । उनी गत वर्ष प्युठानस्थित झिमरुक गाउँपालिकामा पुगेकी थिइन् । करिब पाँच दिनको बसाइमा देखेका प्युठाने जीवनशैलीलाई उनले क्यान्भासमा उतारेर अहिले उक्त कलाईलाई प्रदर्शनीमा राखेकी छन् ।

‘मैले त्यहाँ परम्परागत शैलीको घर देखेँ, अनि केही वर्षपछि लोप हुन्छजस्तो लागेपछि क्यान्भासमा उतारे ।’ उनले पालिका खबरलाई भनिन्  । उक्त चित्रमा त्यहाँको रहनसहन, संस्कृति र परम्परा झल्किएको उनी बताउँछिन् ।

उनका अनुसार झिमरुकको परम्परागत शैली लोप भए पनि उक्त चित्रबाट त्यहाँको संस्कृति झल्किने छ । केही गरी ती घर मासिए पनि आफ्नो तस्बिरले झिमरुकको मौलिकता जोगाउनेमा उनी  विश्वस्त छिन् ।  उनले झिमरुक गाउँपालिकाको आयोजनामा आफूसँगै १० जना कलाकार सो क्षेत्रमा पुगेको र त्यहाँका संस्कृति झल्काउने तस्बिर कला परिषद‍्मा राखिएको बताइन् । 

गाउँपालिकाको आयोजनामा गत शनिबारदेखि सुरु ‘झिमरुकतिर’ चित्रकला, उत्कीर्ण छापाकला, काष्ठ छापाकला तथा आलोकचित्र प्रर्दशनी २०७९ झिमरुकको ऐतिहासिक, परम्परागत संस्कृति, जीवनशैली तथा रहनसहन झल्किन तस्बिर प्रर्दशन गरिएको छ । 

प्रदर्शनीमा राखिएको तस्बिरले झिमरुकको संस्कृति र परम्परालाई उत्थान गरिने चित्रकार नरेशसुन्दर सैँजुले बताए । उनले आफूले प्रदर्शनीमा भिमरुकको रक गार्डेनको डाँडाको दृश्यलाई क्यान्भासमा उतारेर तस्बिर राखिएको बताए । 

‘झट्ट हेर्दा मानिसको टाउको जस्तो लाग्छ । तर यो चट्टानको डाँडा हो’,उनले भने, ‘मलाई रोचक लाग्यो । त्यहीँ बसेर अन द स्पट मैले उक्त दृश्यलाई क्यान्भासमा उतारेँ ।’ 

गाउँपालिका एउटै भए पनि गाउँ अनुसार त्यहाँको रहनसहन, गरगहना फरक रहेको फोटोग्राफर सुदर्शन कार्कीले बताए । तीनवटा गाउँमा पुग्दा फरक फरक परिवेश पाएको उनले सुनाए । ‘अनि त्यसैको सयौं फोटो खिचे पनि । तर मलाई राम्रो लागेका ६ वटा मात्रै तस्बिर यहाँ प्रदर्शनीमा राखिएको छ,’ उनले भने, ‘झिमरुकको सबै विशेषता चित्रमा त छैन । तर झिमरुकको प्रतिनिधित्व गरेको छ ।’

झिमरुक आफैँमा पर्यटकीय क्षेत्र भएकोले प्रदर्शनीमार्फत थप प्रोत्साहन हुने उनले विश्वास व्यक्त गरे । प्रदर्शनीमा समावेश भएका तस्बिरलाई झिमरुकमा ओखरकोट सांस्कृतिक संग्रहालय निर्माण गरेपछि संग्रह गरिने बताइएको छ । 

प्रदर्शनी हेर्न परिषद‍्मा पुगेको कुशल हमालले काठमाडौंबाट झिमरुकलाई हेर्ने मौका पाएको बताए । आफू सो क्षेत्रमा कहिल्यै नपुगेको भए पनि प्रर्दशनीमा राखिएको तस्बिरले झिमरुक पुगेको अनुभव पाएको उनले बताए ।

लामो समयदेखि चित्र कोर्दै आएका हमालले प्रदर्शनीबाट झिमरुक हेर्नका साथै चित्र बनाउने नयाँ विधि सिकेको बताए । 
प्रदर्शनीले झिमरुक क्षेत्रको विविध पक्षको प्रतिनिधित्व गरेको लीलाबहादुर जिसीले बताए । आफू झिमरुकको स्थानीय बासिन्दा भए पनि करिब दुई दशकदेखि काठमाडौंमा बस्दै आएको उनले सुनाए । 

‘काम परेकोबेला मात्रै गाउँ पुग्थेँ । तर सबै ठाउँमा घुम्ने अवसर हुँदैन थियो ।’ उनले भने, ‘तर यहाँ आए पनि सिंगो जिल्ला घुमेको जस्तो लाग्यो ।’प्रर्दशनीमा केही चित्र रहे पनि झिमरुकको परिचय झल्कने खालको तस्बिर रहेको उनले पालिकाखबरलाई बताए । 

झिमरुकलाई चिनाउन प्रदर्शनी 

झिमरुकको धर्म, संस्कृति, जातीय अवस्था, रहन-सहनलाई चिनाउनका लागि फोटो प्रदर्शनी गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । टेलिफोनमार्फत सम्पर्कमा आएका पोख्रेलले अघिल्लो कार्यकालको जनप्रतिनिधlको नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको बताए । 

उनका अनुसार तीन दिने प्रदर्शनीको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मुलुकमै पहिलो पटक झिमरुकले फोटो प्रदर्शनी गरेको उनले दावी छ । १० जना कलाकारको एक साता बसाइमा कोरिएको तस्बिरलाई प्रदर्शनीमा राखिएको उनले बताए । पोख्रेलको अनुसार काठमाडौंका कलाकार भएकोले सो क्षेत्रमा प्रदर्शनी गरिएको र प्रदर्शनीपश्चात् सो तस्बिरलाई झिमरुकको कार्यपालिका भवनमा राखिनेछ।