close

करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय

करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय

Trulli
ADVERTISEMENT

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो ।

रु ८० लाखको लागतका स्थापना भएको यस सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाख सहयोग थियो भने बाँकी लगानी चन्दाबाट जुटाइएको हो ।

संग्रालयको मंगलबार सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गरेकी छिन् । उत्घाटन समारोहमै सङ्ग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगत गरि ८१ लाख ८३ हजार १३८ रुपैयाँ सहयोग जुटेको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले बताए । जसमध्ये ८० लाख ३९ हजार ३४५ खर्च भएको उनले बताए । 

“अन्नपूर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन्”, उनले भने, “बाँकी स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । रु एक लाख ४३ हजार सात सय ९३ बचत भएको छ ।”

कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखिएको छ । करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको बताए । 

सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने पुन समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राखिएको छ । पुराना पुस्तक र धातुका सिक्का पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । विस २०७८ वैशाखमा निर्माण सकिएको भवनमा सामग्री जुटाउने र सजावटको काम सकिएपछि अवलोकनका लागि खुला गरिएको हो । परम्परागत शैली र प्रविधिको प्रयोग गरेर निर्माण गरिएको दुईतले भवनमा सामग्री सजावट गरेर राखिएको छ ।  

ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले भवन निर्माण गरिएको छ । पुन समुदायको अगुवाइमा सङ्ग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । पुन समुदायका कूलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको मन्दिर बनाइएको छ । मन्दिरभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् ।

मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरूले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मङ्गलबार र मङ्सिरको पहिलो उजेली मङ्गलबार पारेर पूजा गर्छन् । 

करबाकेलीसम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जनाभन्दा बढी पाहुना बास बस्न सक्ने सुविधा छ ।

समुद्री सहतबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताए ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।