close

प्रथम शिवपुरी वडाकप फुटबल स्पर्धा हुँदै

प्रथम शिवपुरी वडाकप फुटबल स्पर्धा हुँदै

Trulli
ADVERTISEMENT

नुवाकोट–‘शिवपुरीको शान, युवा खेलाडीको पहिचान’ नारासहित शेराबगर विकास समाजले आयोजना गर्ने प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता २०७८ आउँदो १३ देखि १७ फागुनसम्म सञ्चालन हुने भएको छ । 

 

नुवाकोटको शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो । शिवपुरी पालिकाका ८ मध्ये ७ वटा वडाले भाग लिने प्रतियोगिताको समूह ‘ए’ मा ३ वटा वडा र समूह ‘बी’ मा ४ वटा वडा रहनेछन् । लिगकम नकआउट नाइन ए साइड ढाँचामा शिवपुरी रंगशालामा प्रतियोगिता हुनेछ ।

 

खेल तालिकाअनुसार समूह ‘ए’ मा वडा नम्बर ४, वडा नम्बर २ र वडा नम्बर ६ रहेका छन् । समूह ‘बी’ मा वडा नम्बर ५, वडा नम्बर ३, वडा नम्बर ७ र वडा नम्बर १ रहेका छन् । वडाभित्रका खेलाडीले मात्र भाग लिनुपर्ने आयोजकको नियम भएकाले वडा नम्बर ८ ले भने खेलाडी नपुगेका कारण भाग नलिने बताएको छ । प्रतियोगिताको पहिलो खेल १३ फागुनमा वडा नम्बर ४ र वडा नम्बर २ बीच हुनेछ ।

 


त्यसपछि औपचारिक उद्घाटन कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन दिउँसो साढे १२ बजे वडा नम्बर ५ र वडा नम्बर ३ बीचको खेल हुनेछ भने अर्को खेल दिउँसो ३ बजे वडा नम्बर ७ र वडा नम्बर १ बीच हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार दिइनेछ । 

 

शिवपुरीका विभिन्न वडामा रहेका खेलाडीको पहिचान, तिनको क्षमता अभिवृद्धि, खेलको माध्यमबाट शिवपुरी पालिका र यहाँ रहेको शिवपुरी रंगशालाको प्रचार–प्रसार गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए । 

 

खेलतालिका सार्वजनिक कार्यक्रममा शिवपुरी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर थापा, एन्फा रेफ्री सुकराज घले र प्रकाश सिटौला तथा सहभागी ७ वटै वडाका टिम क्याप्टेन उपस्थित थिए ।