close

बुटवलका मेयरको पहिलो निर्णय ः सुकुम्बासीलाई बसोबासका आधारमा अस्थायी निस्सा बाँड्ने 

बुटवलका मेयरको पहिलो निर्णय ः सुकुम्बासीलाई बसोबासका आधारमा अस्थायी निस्सा बाँड्ने 

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि बुटवलमा मुख्य समस्याको रूपमा रहेको सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेका छन् ।

 

उनले भने, ‘अहिले अल्पकालीन रूपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम सुरु गर्नेछौँ । जग्गाधनी प्रमाणपत्र वितरणका लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गर्ने बताए । बुटवलमा करिब २० हजार सुकुम्वासी रहेको उपमहानगरको तथ्यांक छ ।

 

यस्तै, चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

 

त्यस्तै, उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । उपभोक्ताको हितका लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मूल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिइएको छ । 

 

सेवाप्रदायक तथा विक्रेताको नियमन अनुगमन गरी आमउपभोक्ताको हित प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

 

बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै नगरपालिकामा प्रस्ताव भईआएका यी दुई निर्णय सदर भएका छन् ।

 

यस्तै पाण्डेले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

 

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरू समर्थन थियो । पदभारग्रहण त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।