close

सैनामैनामा भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरु

सैनामैनामा भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही । सैनामैना नगरपालिकामा भूमिहीनलाई लालपुर्जा दिन प्रक्रिया सुरु भएको छ । 

नवनिर्वाचित प्रतिनिधिले यहाँका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गृहकार्य सुरु गरेका हुन् । सुकुम्बासी समस्या समाधानका लागि पहिलो चरणको प्रक्रियालाई अघि बढाएको जनप्रतिनिधिहरूले बताएका छन् ।

राष्ट्रिय भूमि आयोग रुपन्देही, नापी कार्यालयका कर्मचारी, सैनामैनाका जनप्रतिनिधिहरु, क्रियाशिल राजनीतिक दल र स्थानीयको उपस्थितिमा आजदेखि नापजाँच प्रक्रिया सुरू भएको छ । सैनामैना-१ देखि नै नापजाँचको प्रक्रिया अघि बढिसकेको नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले आयोग सुकुम्बासी समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । समयमै सम्झौता नगर्दा सैनामैनामा सुकुम्बासी समस्या समाधानका प्रक्रिया विलम्ब हुन गएको बताउँदै अध्यक्ष आचार्यले वास्तविक भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी तथ्यांक दिनसमेत नगरपालिकालाई निर्देशन दिए । 

उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीले भन्दा पहिला भूमिहीन दलितले छिटो लालपुर्जा पाउँछ, त्यसपछि क्रमश सुकुम्बासी र अव्यवस्थित समस्या समाधान हुन्छ । ’

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले सैनामैनाका सुकुम्बासी जनतालाई मालिक बनाएर छाड्ने दृढता व्यक्त गरे । उनले जनताले दिएको अभिमतलाई दुरुपयोग नगर्ने अडान राख्दै लामो समयदेखि प्रमुख समस्याकै रुपमा रहेको सुकुम्बासी समाधान गर्न प्रक्रियालाई सुचारु गरिसकेको बताए । 

राष्ट्रिय भूमि आयोगबाट खटिने प्राविधिक टोलीसँग सैनामैनाका प्राविधिक टोली, जनप्रतिनिधिको रोहवरमा जग्गा नापजाँच अघि बढेको उनको भनाइ छ ।