close

नीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम, हरित मार्गदेखि बिद्युत महसुल छुटसम्म

१ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँ वजेट विनियोजन

नीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम, हरित मार्गदेखि बिद्युत महसुल छुटसम्म

१ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँ वजेट विनियोजन

Trulli
ADVERTISEMENT

नीलकण्ठ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको दोस्रो नगरसभाको पहिलो अधिवेशनले आर्थिक बर्ष २०७९ / ०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

कृषि तथा पर्यटन प्रवर्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवर्धन विकासका लागि स्थापित नीलकण्ठ प्रज्ञा प्रतिष्ठान स्थापना गरिने बताइएको छ । जसका लागि २० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास

सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ । जसअन्तर्गत स्वास्थ्यमा ७ करोड ४६ लाख, शिक्षामा ३९ करोड ४३ लाख, युवा तथा खेलकुदमा २५ लाख बजेट विनियोजन गरिएको छ । नगरवासीको प्रेसर, सुगर, ब्लड ग्रुप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताबापत मासिक एक हजार दिने व्यवस्था मिलाइएको छ । नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकास

पूर्वाधार विकासअन्तर्गत आगामी पाँच वर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । सडक, पुल, भवन, सिंचाइका लागि २७ करोड ६४ लाख, कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन २ करोड १५ लाख विनियोजन गरिएको छ । जल उत्पन्न प्रकोप उद्धार भू तथा जलाधार संरक्षण कार्यक्रम संचालनका लागि ३५ लाख, विपद्जन्य घटना न्यूनीकरणलगायत विभिन्न विपद् प्रतिकार्यका लागि ९० लाख विनियोजन गरिएको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।

कृषि तथा औद्योगिककरणमा जोड

नगर सभाका सभाअध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले आर्थिक बर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरसभाले नागरिकको जिवन रक्षात्मक कार्यहरुमा जोड दिने, बालमैत्री नगर निमार्ण गर्ने, कृषिमा व्यवसायीकरण, औद्योगिकरण गर्ने,वडा कार्यालय सम्म पुग्ने मोटरबाटो पिच गर्ने, धार्मिक सम्पदाहरु निर्माण गर्ने,सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनुको साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने, शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण जस्ता क्षेत्रमा नगरवासीको सरल पहुँच पुर्‍याउने, उद्यमशीलताको अभिवृद्धि गरी स्वरोजगार बनाउने तथा उपलब्ध स्रोत र साधनको उच्चतम् प्रयोग गरी रोजगारी उत्पादनमा वृद्धि गरी आर्थिक विकास गर्ने कार्यक्रमहरु समावेश गरीएको छ ।

नमूना पूर्वाधारयुक्त पर्यटकीय गन्तव्य

नीलकण्ठ नगरपालिकालाई नमूना पूर्वाधारयुक्त पर्यटकीय सहरको रुपमा विकास गर्न  दीर्घकालिन योजना बनाईने भएको छ । नमूना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पर्यटन मैत्री पूर्वाधार कार्यक्रम अन्तर्गत नीलकण्ठेश्वर महादेवको मूर्ती निर्माण, पात्ले, विपी गाउँ र जुरेथुमको होमस्टेलाई व्यवस्थित गर्न नगरपालिकाले विशेष साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्यटकीय गन्तव्य कार्यक्रम अन्तर्गत सल्लेघारीको बाताबरणमैत्री पार्क, वडा नम्बर १० को बगैंचालाई थप आकर्षक बनाउन व्यवस्था मिलाइने, भैरबी मन्दिरलाई आकर्षक धार्मिक पर्यटन केन्द्रका रुपमा बिकास गरिने, नगर क्षेत्र भित्रको बागेश्वरी मन्दिर, चमेरे गुफा, लामास्थान, चुलिदेवी, पशुपति, गुप्तेश्वरी, कालिका खाल्टे, ज्वालमुखी लगायतका मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

पुरातात्विक सम्पदाहरुको खोज गरिने

साथै नगर क्षेत्र भित्र प्याराग्लाइडिङ, जीप फ्लायर, रक क्लाईम्बिङ जस्ता साहसिक पर्यटकीय खेलको प्रवर्धन गर्ने, रामकोट दरबार, पौवा दरवार, ज्यामरुङ दरवार, धुंवाकोट लगायतका पुरातात्विक सम्पदाहरुको खोज र उत्खनन गरी परम्परागत स्वरुपमा निर्माण थालिने भएको छ ।

रैथाने बाली प्रवर्धन, बीउ बैंक स्थापना

नगर सभाले एक गाउँ एक उत्पादनको नीतिलाई प्रवर्धन गर्दै स्थानीइ रैथाने बाली प्रवर्धन गर्न बीउ बैंक स्थापना, कृषि उपज तथा तरकारी संकलन केन्द्र, शित भण्डारण केन्द्र स्थापना र कृषि उपज ढुवानीमा किसानहरुलाई सहयोग गने कार्यक्रम अघि सारेको छ ।

खेलकु्द र युवा लक्षित कार्यक्रम

खेलकुद विकास, बालमैत्री नगर, जेष्ठ नागरिक सम्मान, युवा लक्षित कार्यक्रम, दलितहरुको पेशा संरक्षणका लागि बिशेष कार्यक्रम, नगर भित्र सूचना प्रविधिको अधिकतम प्रयोग, बन तथा वातावरण संरक्षण, सौर्य उर्जा, बायो ग्याँस, बैकल्पिक उर्जा लगायतका क्षेत्रमा पनि नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । त्यसै गरी नगरविकासलाई व्यवस्थित गर्न नीलकण्ठ नगर विकास प्राधिकरण गठन गरिने भएको छ । त्यस्का लागि नीलकण्ठ नगर विकास प्राधिकरण ऐन जारी गरिने बार्षिक नीति तथा कार्यक्रममा बताइएको छ ।

९५ किलोमिटर चक्रपथ हरित मार्ग

नीलकण्ठ नगरपालिकाको सबै वडा केन्द्रहरुमा आगामी पाँच बर्ष भित्र कालोपत्रे सहितको पक्की सडक संरचना निर्माण गर्ने घोषणा गरिएको छ । त्यसै गरि नीलकण्ठ नरपालिकाको गौरवका आयोजनाका रुपमा नगर क्षेत्र भित्रको ९५ किलोमिटर चक्रपथलाई हरित मार्गको रुपमा विकास गरिने र धादिङबेसी करिडोर सडकलाई आगामी पाँच बर्ष भित्रमा स्तरबृद्धिका साथ पूर्णता दिईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

लिफ्टिङ खानेपानी तथा सिंचाईको बिद्युत महसुलमा छुट

बिद्युतबाट संचालित सामुदायिक लिफ्टिङ खानेपानी तथा सिंचाई आयोजनाको बिद्युत महसुल नगरपालिकाले ७० प्रतिशत भुक्तानी गर्ने भएको छ । नगरपालिकाले नगरकेन्द्रमा बिशेषज्ञ डाक्टर र अनुसन्धान सेवा सहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने र सवै वडाका स्वास्थ्य संस्थामा टेलिमेडिसिन सेवा सहितको स्वास्थ्य उपचारको शुरुवात गर्ने घोषणा पनि गरिएको छ ।

निःशुल्क स्वास्थ्य उपचार

त्यसै गरी नगरबासीलाई स्वास्थ्य बीमा मार्फत वार्षिक २ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा उपलव्ध गराउन आवश्यक समन्वय र सहयोग गरिने बताइएको छ । दलित अल्पसंख्यक, अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नगरवासीलाई स्वास्थ्य बीमामा जोडिन चाहिने प्रीमियम रकम नगरपालिकाले उपलव्ध गराउने भएको छ ।

बहुप्राविधिक शिक्षालय सञ्चालन

नगरपालिका क्षेत्रमा एउटा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न सम्वन्धन र पूर्वाधार तयार गर्नुका साथै नीलकण्ठ क्याम्पसमा स्नातकोत्तरसम्मका सबै संकायका बिषय अध्यापन गराउन स्तरोन्नती गर्दै आवश्यक कार्ययोजना र श्रोत व्यवस्थापन गरिने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी एक वडा एक नमूना श्रोत बिद्यालयको घोषणा गरि नगरपालिका भित्रका सबै बिद्यालयलाई इन्टरनेट, सूचनाप्रविधि र आवश्यक साधन श्रोत सम्पन्न बनाइने भएको छ ।

जातीय र धार्मिक संग्रहालय निर्माण

नगरक्षेत्र भित्रको कला संस्कृति र ललितकलाको प्रवर्धन तथा उन्नयनका लागि नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थित गरिने, नगर क्षेत्र भित्र रहेका मठ मन्दिर, गुम्बा, चर्च, मस्जिद लगायत धार्मिक संरचनाहरुको उचित संरक्षण तथा पुनर्निमाण, सांस्कृतिक तथा जातिय र धार्मिक संग्रहालय निर्माणमा पनि नगरपालिकाले सघाउने भएको छ ।