close

टर्कीमा बर्डफ्लू पुष्टि भएपछि १३ सय पंक्षी नष्ट

ब्रोइलर, टर्की र लोकल कुखुरा डिस्पोज

टर्कीमा बर्डफ्लू पुष्टि भएपछि १३ सय पंक्षी नष्ट

ब्रोइलर, टर्की र लोकल कुखुरा डिस्पोज

Trulli
ADVERTISEMENT

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लू पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लू पुष्टि भएको थियो ।  सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको पशुपंक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिए । टर्की बर्डफ्लूकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लू पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लू नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपश्चात् पशुपंक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लू देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पंक्षी नष्ट गरिएको थियो ।  

डिस्पोजल टोलीले बर्डफ्लू फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लू फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए ।