close

काठमाडौंमा भिख माग्न महानगरकाे राेक, १० दिनभित्र भिखारीमुक्त महानगर !

काठमाडौंमा भिख माग्न महानगरकाे राेक, १० दिनभित्र भिखारीमुक्त महानगर !

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना निकालेर महानगरभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो । 

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन पनि महानगरले आग्रह गरेको छ ।

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर–घरमा पुगी भिक्षा माग्न भने रोक नलगाइने ब्यहोरा जारी सूचनामा उल्लेख छ ।

यस्तै कुनै धार्मिक वा सांस्कृतिक कार्यमा पनि भिक्षा माग्न रोक लगाइने छैन । यसबाहेक सार्वजनिक ठाउँमा भिक्षा माग्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको पनि जारी सूचनामा उल्लेख छ । 

आश्रमको सेवा आवश्यक परेमा काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न पनि महानगरले भनेको छ । १० दिनभित्र भिखारी मुक्त महानगर बनाउने सोच राखेर सूचना निकालिएको हो । 

१० दिनपछि सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि महानगरले दिएको छ ।