close

तीन दिनदेखि बुढानीलकण्ठमा विद्युत् वितरणमा समस्या, प्राधिकरण भन्छ : अझैँ ४/५ दिन लाग्छ

विद्युत वितरण भएको छ तर, लो भोल्टेजका कारण पानी तान्ने मेसिन समेत चल्दैन : स्थानीय

तीन दिनदेखि बुढानीलकण्ठमा विद्युत् वितरणमा समस्या, प्राधिकरण भन्छ : अझैँ ४/५ दिन लाग्छ

विद्युत वितरण भएको छ तर, लो भोल्टेजका कारण पानी तान्ने मेसिन समेत चल्दैन : स्थानीय

Trulli
ADVERTISEMENT

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका कतिपय स्थानमा गत बुधबारदेखि विद्युत् वितरणमा समस्या आएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ लगायत केही स्थानमा नेपाल विद्युत् प्राधिकरणले देखावटीका लागि लो भोल्टेजमा विद्युत् वितरण गरेको हुँदा स्थानीय आक्रोशित बन्न थालेका छन् ।

विशेष गरेर त्यस क्षेत्रमा पशुपालन गर्ने किसानको संख्या अधिक छ । तर, २ दिनदेखि चौपायालाई खुवाउन पानीसमेत अभाव भएको उनीहरूको गुनासो छ ।

बोरिङको पानी गाईलाई खुवाउने गरेका स्थानीय किसान सुशन श्रेष्ठ विद्युत् आपूर्तिमा समस्या आएपछि नजिकका मुहानबाट पानी ल्याएर खुवाउनु परेको बताउँछन् ।

‘बिजुली नै छैन भन्ने होइन । आएको छ तर, लो भोल्टेज । गर्मीमा पङ्खा त नचल्ने भोल्टेजले कसरी बोरिङको पानी तान्ला ?’ उनको प्रश्न छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले पालिका खबरसँग सुरुमा त यो विषय महाराजगन्ज वितरण केन्द्रलाई थाहा हुने तथा आफूलाई केही थाहा नभएको भनेर झारा टार्ने प्रयास गरे ।

३ दिनदेखि चपलीस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा खराबी आएपछि आएपछि विद्युत वितरणमा समस्या आएको जानकारी उनलाई नहुने कुरो थिएन ।

चपली सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमा गत बुधबार बिहान ५ बजेदेखि समस्या आएको थियो । तर, वैकल्पिक व्यवस्था हुन नसक्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बुढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा अहिले पनि विद्युत आपूर्तिमा समस्या छ ।

चपली सबस्टेसनमा कार्यरत एक कर्मचारीका अनुसार भूमिगत लाइनलाई ट्रान्सफर्मरमा जोड्न खोज्दा गल्ती गरिएको तथा त्यही कारण ट्रान्सफर्मर जलेको हो ।

‘प्राविधिकले तार जोड्न नजानेर समस्या आएको हो, अझै ४–५ दिन यो समस्या कायमै रहन्छ,’ उनले बताए । यो विषयमा जानकारी लिन खोज्दा महाराजगन्ज वितरण केन्द्रको टेलिफोन व्यस्त मात्र भेटियो । 

उता प्रवक्ता भट्टराईसँग ‘प्राधिकरणको मुख्यालयलाई यो समस्या अवगत छैन भनेर लेखे हुन्छ?’ प्रश्न गरेपछि मात्रै उनले केही खुल्न चाहे ।

‘हामी सरकारी निकाय हौँ । निजी जस्तो होइन । ट्रान्सफर्मरमा खराबी आएर नयाँ जोड्न धेरै प्रक्रिया पुरा गर्नु पर्छ । बिमा गर्नु पर्छ । अनि मात्रै ट्रान्सफर्मर पठाउन सकिन्छ,’ पालिका खबरसँग उनले भने, ‘मेरो हिसाब अझै ४/५ दिन यस्तै अवस्था रहन्छ ।’ 

अन्त्यमा उनले पन्छिने पारामा भने, ‘कतै कम भोल्टेज आएको छ भने महाराजगन्जमा गएर गुनासो सुनाए हुन्छ । त्यहीबाट मिलाउँछन् । मलाई नै सबै कुरा कहाँ थाहा हुन्छ र!’

चपली सबस्टेसनका ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएका थिए ।

नेपाल विद्युत प्राधिकरणले अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरेको दाबी गरेको छ तर, मानिस र जनावरका लागि आवश्यक पानी समेत तान्न नसक्ने भोल्टेजमा विद्युत वितरण गरेर झाडा टार्ने प्रयास गरेको स्थानीयको गुनासो छ ।

बुधबार नै प्राधिकरणले समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्ने प्रयास थालिएको बताएको थियो तर, ३ दिन बित्दा समेत अँध्यारोमा बस्न बाध्य जनतालाई राहत दिन सकेको छैन ।

उता  बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले पालिका खबरसँगको कुराकानी विद्युत प्राधिकरणको कमजाेरीका कारण जनताले दुख पाएको बताए । 'जलेको भनेको ट्रान्सफर्मर नै जगेडा रहेनछ । विदेशबाट मगाएर जडान गर्नु पर्ने रहेछ । यो त अलि लापरवाही नै भएन र?' मेयर अधिकारीले भने ।

साथै उनले आफूले आजै समस्याका परेका जनतासँग प्रत्यक्ष भेटेर नगरपालिकाले गर्न सक्ने जति सहयोग गर्ने समेत बताए ।

'मलाई जानकारी छ, जनताको घरमा पानी समेत छैन भन्ने । यहाँका अधिकांश घर बोरिङ वा इनारको पानीमा निर्भर छन् । त्यसमाथि पशुपालक किसानले बोरिङ नै गरेर चौपायालाई खुवाउने गर्छन् । विद्युत आपूर्तिमा समस्या आउने बित्तिकै उनीहरुको पनि समस्या सुरु हुन्छ । मलाई लाग्छ, अझै केही दिन यो समस्या समाधान हुँदैन,' मेयर अधिकारीले भने ।

साथै उनले यो विषयमा गम्भीर बन्न प्राधिकरणसँग समेत आग्रह गरेका छन् ।

तर, प्राधिकरणका प्रवक्ता भने हलुका पारामा अझै ४/५ दिन जनतालाई यो दुख सहेर बस्न निर्देशन दिन्छन् । प्रवक्ता भट्टराईको लवजले त्यही भन्थ्यो ।