close

मेलम्चीलगायत विभिन्न नदीमा बाढीको चेतावनी

मेलम्चीलगायत विभिन्न नदीमा बाढीको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । वर्षासँगै मेलम्ची नदीमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान ५ बजे सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा भएको र मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको बताइएको छ ।

मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन भनेको छ ।

त्यसैगरी झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा मापन गरिएको छ । बिहान ३ बजे झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टा अति भारी वर्षा भएको छ ।

मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महशाखाले आग्रह गरेको छ ।

गएराति ११ बजेदेखि भोजपुरमा पनि भारी वर्षा भएको छ । उक्त क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।