close

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू निजगढ जाँदै

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू निजगढ जाँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता आज निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न जाने भएका छन् । 

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित शीर्ष नेताको टोली निजगढ जान लागेकाे हाे । 

शीर्ष नेताको टोली बिहान १० बजे निजगढ विमानस्थलको अवलोकनमा जाने पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । अवलोकन टोलीमा मन्त्री श्रेष्ठ पनि हुनेछन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ ।  प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो । त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो । 

ठूला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनले वन जङ्गल फडानी, पानीको मुहान, जैविक पैदावार लगायतका प्राकृतिक स्रोतसाधनमा पर्ने प्रभाव र बस्ती स्थानान्तरण लगायतका विषय समेटिएको थियो ।

गत जेठ १२ मा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो ।  सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँ जान लागेका हुन् ।