close

कर्णालीको मतगणनाः हुम्ला, मुगु र डोल्पामा मंगलबारदेखि मात्रै

कर्णालीको मतगणनाः हुम्ला, मुगु र डोल्पामा मंगलबारदेखि मात्रै

Trulli
ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश हुम्ला, मुगु र डोल्पाका  मंगलबारबाट मात्रै  मतगणना सुरु हुने भएको छ । तीन जिल्लाको मतपेटिका भोलि मात्रैजिल्ला सदरमुकाममा आइपुग्नेपछि मात्रै मतगणना सुरु हुने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिए ।

 माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उनले जनाए । 'भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,'  प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, 'हुम्ला, मुगु, र डोल्पा जिल्लामा भोलिसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । रुकुमपश्चिममा आज दिउँसोसम्म मतपेटिका आइपुग्दैछ ।'

उनका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालिकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका सङ्लनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकोप्टर माग गरिएको जानकारी दिए । 

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म हेलिकोप्टर पुग्न नसकेको बताए। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकोले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको उल्लेख गरे । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि भोलिदेखि मतगणना सुरु हुने उनले बताए । प्रजिअ महतकाअनुसार हुम्ला, डोल्पा र मुगुमा भोलिदेखि मात्र मतगणना हुनेछ ।