close

तिलोत्तमाको विकासले पूर्व मेयर घिमिरेलाई पुर्‍यायो संसद भवन

तिलोत्तमाको विकासले पूर्व मेयर घिमिरेलाई पुर्‍यायो संसद भवन

Trulli
ADVERTISEMENT

काठमाडाैं । काम गर्नेलाई जनताले जिताउँछन् भन्ने उदाहरण हेर्नका लागि टाढा जानु पर्दैन । र पार्टी त छँदैछ, तर व्यक्तिको व्यक्तित्व र उसले समाजमा पुर्याएको योगदानले नै उसलाई सफल बनाउन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् रुपन्देही–५ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे ।

रुपन्देही–५मा निरन्तर नेपाली काँग्रेसले जित्दै आएकोमा घिमिरेले काँग्रेसको अखडा भत्काउँदै जित नेकपा एमालेको पक्षमा पार्न सफल भएका छन् । यो सबैको एउटै कारण हो, २०७४ सालमा तिलोत्तमाको नगर प्रमुख हुँदा घिमिरेले गरेको काम र योगदान । 

रुपन्देही ५ मा विगत तिन कार्यकाल निरन्तर नेपाली काँग्रेसका भरतकुमार शाहले विजय हासिल गर्दै आईरहेका थिए । उनि चौथो जित निकाल्न चुनावी मैदानमा रहेका थिए । तर पहिलो पटक संसदीय निर्वाचन लडेका तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख वासुदेव घिमिरे ९ हजार बढी मतले शाहलाई पराजित गर्दै प्रतिनिधिसभाको सदस्य बनेका छन् । यति धेरै फराकिलो मतले विजयी हुनुको पछाडिको कारण भने उनले तिलोत्तमामा गरेको काम नै हो । 

२०७४ मा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर घिमिरेले नौला र अनुकरणीय कामहरु मार्फत तिलोत्तमालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सफल भएका थिए । घिमिरेले आफूले पाउने ५ वर्षकै सेवा सुविधा सरकारी विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति बांड्नेदेखि काठमाडौं बाहिर पहिलो लगानी सम्मेलन, नगरलाई खुल्ला प्लाष्टिकमुक्त नगर, बालमैत्री नगर र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र दिलाउँदै दुई पटक उत्कृष्ट नगरपालिका बनाएका थिए ।

यही पहिचानका कारण अब्बल जनप्रतिनिधिको रूपमा प्रमाणित भएका कारण घिमिरेलाई नयाँ निर्वाचन क्षेत्र प्राप्त भए पनि मतदाता परिचित हुन धेरै समय लागेन । जसको फलस्वरुप घिमिरे जित आफ्नो पक्षमा पार्न सफल भए । 

पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमै चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरुको लागि सिकाई समेत बन्दै आएका छन् ।

संसदीय राजनीतिको लागि उनको दाबी क्षेत्र नं. ३ मा थियो, जहाँ एमालेले राप्रपालाई सिट छाडेपछि यो पटक उनले संसदीय राजनीतिको आशा मारेका थिए । तर, परिस्थिति यस्तो बन्यो कि क्षेत्र नं. ५ मा अप्रत्याशित टिकट लिएर पार्टीभित्रको सुरुवाती असन्तुष्टिका बीच घिमिरे जीतको ताज पहिरिन सफल भएका छन् । 

हुनत घिमिरेलाई तिलोत्तमाको नगर प्रमुखको टिकट पाउँदा पनि पार्टीभित्र ठूलै संघर्ष गर्नु परेको थियो ।  । पार्टीले मोहन चापागाईलाई दिएको टिकट खोसेर घिमिरेले पाएपछि निर्वाचित भएका थिए । अहिलेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि त्यस्तै भयो । शुरुमा वासुदेवले टिकट लिएर आएपछि पार्टीकै अर्का नेता खिमलाल भट्टराईले एकाएक राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर अर्को टिकट लिएर आएपछि को आधिकारिक भन्ने विवाद चर्कियो ।

विवाद मात्र भएन, खिमलाल पक्षधरले घिमिरेको मनोनयनपत्र दर्ता सम्बन्धी कागजपत्रको फाइल खोसेर गाडीमा लिएर भाग्न खोजेका थिए । वासुदेवले ड्राइभरको सिटनिरको शिशा जबरजस्ती खोलेर फाइल खोसेर ल्याएर मनोनयन दर्ता गरेका थिए । घिमिरेले मनोनयन दर्ता गरेको केही घण्टापछि भट्टराईले पनि मनोनयन दर्ता गरे । यसपछि घिमिरेलाई मनोनयन दर्ता फिर्ता लिन चारैतिरबाट दबाब आयो । तर घिमिरे पछि हटेनन् ।

त्यसपछि खिमलालले आफ्नो उम्मेदवारी फिर्ता लिए र वासुदेवको चुनावी कमाण्डर बने । तर वासुदेवले हार खाएनन् र आफु नगरप्रमुख हुदाँ गरेका कामहरु संस्थागत गर्न र अझ समग्र निर्वाचन क्षेत्रकै विकासका लागि मत मागिरहे । परिणाम स्वरुप पूर्व नगर प्रमुख घिमिरेलाई हामीले संसदमा देख्न पाउने भएका छौं । त्यसैले गफ होईन काम गर्यो भने जनताको मनमा बस्दै मत लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र समेत बन्न सफल भएका छन् पूर्व नगरप्रमुख वासुदेव घिमिरे ।