close

यी हुन् प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभामा पुग्ने सात महिला

यी हुन् प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभामा पुग्ने सात महिला

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भईरहेको छ । हालसम्म प्रतिनिधिसभा तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १ सय २३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । यो नतिजा सार्वजनिक भएसँगै कति महिला उम्मेदवारले जित हात पारे त भन्ने विषय सबैका लागि चासोको विषय बनिरहेको छ । कुन दलबाट कति महिला निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश पाउँदैछन् त भन्ने विषयलाई हामीलाई हालसम्मको परिणाम हेरेर केलाउने प्रयास गरेका छौं । 

मुलुकले आगामी पाँच वर्षको लागि नयाँ सांसद पाउँदैछ र यीनै सांसदले नयाँ सरकार पनि चयन गर्नेछन् । प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १ सय ६५ निर्वाचन क्षेत्र रहेकोमा हालसम्म सार्वजनिक नतिजाअनुसार  ७ जना महिला उम्मेदवार सांसद चुनिएका छन् भने अन्य बाँकी सबै पुरुष छन् ।

आसन्न निर्वाचनबाट हालसम्म नेकपा एमालेबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना, र नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना महिला सांसद निर्वाचित भएका छन् । जारी मतगणनामा नेकपा एमालेकी भगवती चाैधरीले सुनसरी–३ मा अग्रता कायम गरिरहेकी छिन् भने रास्वपाकी गोमा तामाङ सुनसरी क्षेत्र नम्बर १ बाट अग्र स्थानमा छिन् । उता नेपाली काँग्रेसकी सिता गुरुङ्ग तेह्रथुममा अगाडी छिन् । यता स्याङ्जा क्षेत्र नं १ मा एमाले नेतृ पद्मा अर्यालको मतगणना हुनै बाँकी छ । यि सबै तथ्यांक केलाउँदै २०७४ मा भन्दा यसपटक संसदमा प्रत्यक्ष निर्वाचित महिलाकाे प्रतिनिधित्व बढ्ने सम्भावना देखिन्छ । 

प्रतिनिधिसभामा हालसम्म निर्वाचित हुने महिला सांसद को–को हुन् त ?
१‍. जुलीकुमारी महतो : धनुषा–३

धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी जुलीकुमारी महतो ३३ हजार ३५५ मत पाएकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झालाई १० हजार ३ सय मतले पछि पार्दै उनी निर्वाचित भएकी हुन् । 
२. ज्वाला कुमारी शाह : बारा–२
बारा क्षेत्र नम्बर २ बाट ज्वालाकुमारी शाह निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामवावु कुमार यादवलाई २ हजार ९७२ मतले पछि पार्दै विजयी भएकी हुन् । एमालेकी शाहले २० हजार २५१ मत पाउँदा जसपाका यादवले १७ हजार २७९ मत पाएका थिए । 
३. विद्या भट्टराई : कास्की–२
विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय मतले पछि पार्दै विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९९८ मत पाउँदा कंडेलले १२ हजार ४९५ मत पाएका थिए । 
४. डा.तोसीमा कार्की :ललितपुर–३
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसीमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी छिन् । नेकपा एमालेका अमृत खड्कासँग करिब दोब्बर मतको अन्तरले उनी निर्वाचित भएकी हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत ल्याएका थिए

५. सोभिता गौतम :काठमाण्डौ–२
रास्वपाकी उम्मेदवार सोभिता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएकी हुन् । उनले नेकपा एमालेका मणिराम फुयाललाई पछि पार्दै सो क्षेत्रबाट निर्वाचित भएकी हुन् । गौतमले १५ हजार २३८ मत पाउँदा फुयालले ११ हजार ५६६ मत ल्याएका थिए । 

६. रेखा शर्मा : दाङ्ग–२
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छिन् । उनी २६ हजार ८८० मतसहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शंकर पोखरेलले २६ हजार ६ सय ८७ मत ल्याएका थिए । 
७. रञ्जिता श्रेष्ठ : कैलाली–१
नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार बनेकी रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राम जनम चौधरीलाई १२ हजार ३९६ मतले पछि पार्दै विजयी भएकी छिन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा चौधरीले १८ हजार ८ मत पाए । 

नेपालको संविधान २०७२ ले ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेको छ । संख्यात्मक आधारमा हाल प्रत्यक्षबाट निर्वाचित हुने महिला सांसद ५ दशमलव ७८ प्रतिशत छ । 

संवैधानिक व्यवस्था अनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नको लागि प्रत्यक्षबाट एक तिहाइ महिला निर्वाचित नहुँदा समानुपातिक तर्फबाट महिला चुनिने गरेका छन् । ०७४ को चुनावमा महिला सहभागिता सुनिश्चित गर्नको लागि ११० समानुपातिक कोटामध्ये ८४ जना महिला र बाँकी २६ जना पुरुष सांसद थिए । अहिलेको संख्यालाई आधार मान्दा प्रत्यक्षबाट निर्वाचित हुने महिलाको संख्या अत्यन्त न्युन छ । प्रतिनिधिसभा सदस्यमा एक तिहाइ महिला समावेशी गराउन दलहरुले समानुपातिकबाट महिलालाई नै सांसद बनाउने पक्का छ । 

नेपालमा प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारको इतिहास

जनप्रतिनिधिका हिसाबले चुनाव नै लडेर पहिलोपटक निर्वाचित हुने साधना देवी नेपाल हुन् । उनी २०१० सालको काठमाडौं नगरको निर्वाचनमा वडा नं ८ मा निर्वाचित भएकी थिइन् । जम्मा खसेको ४११३ मतमा उनले २४५५ मत प्राप्त गरेकी थिइन् । सांसदका रुपमा भने २०१५ सालमा द्वारिका देवी ठकुरानी निर्वाचित भइन् । उक्त निर्वाचनमा उनीसहित १५ जना महिला उम्मेदवार थिए । बाँकी १४ पराजित भए ।

प्रत्यक्ष महिला उम्मेदवारका उठाउने विषयमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११४ मा ‘महिला उम्मेदवार’का सम्बन्धमा व्याख्या गरिएको थियो । भनिएको थियो– प्रतिनिधि सभाको लागि हुने निर्वाचनमा प्रत्येक राजनीतिक संगठन वा दलका उम्मेदवारहरु मध्ये कम्तिमा पाँच प्रतिशत महिला उम्मेदवार हुनु अनिवार्य हुनेछ ।

जसअनुसार, २०४८ मा भएको निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ८० जना महिला उम्मेदवार थिए । तीमध्ये ७ जना मात्रै विजयी भएका थिए । २०५० सालमा सम्पन्न उपनिर्वाचनमा थप १ जना महिला उम्मेदवार विजयी भएका थिए । सोही अनुसार, सो प्रतिनिधि सभामा ८ जना महिला सांसद थिए ।

२०४८ सालमा निर्वाचित हुनेहरुमा उमा अधिकारी, थममाया थापा, मीना पाण्डे, मैया श्रेष्ठ, लीला कोइराला, शैलजा आचार्य र सहाना प्रधान थिए। २०५० को उपनिर्वाचनमा निर्वाचित हुनेमा विद्यादेवी भण्डारी थिइन्। त्यो कार्यकालमा जम्मा संख्या ८ पुग्यो ।

२०५१ मा सम्पन्न निर्वाचनमा पनि ८६ जना महिला उम्मेदवार थिए । तीमध्ये ७ जना विजयी भएका थिए । शैलजा आचार्य, लीला श्रेष्ठ, लीला कोइराला, मीना पाण्डे, विद्यादेवी भण्डारी, सहाना प्रधान र कमलादेवी पन्त निर्वाचित भएका थिए ।

२०५६ सालमा सम्पन्न आमनिर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट ११७र स्वतन्त्रबाट २६ गरी कुल १४३ जना महिला उम्मेदवार थिए । जस मध्ये १२ जना विजयी भएका थिए । विजयी हुनेहरुमा उर्मिला अर्याल, कमला पन्त, काशी पौडेल, कुन्ता शर्मा, चित्रलेखा यादव, तीर्था गौतम, रेणु कुमारी यादव, विद्यादेवी भण्डारी, सावित्री बोगटी, सुशीला नेपाल, सुशीला स्वाँर र अष्टलक्ष्मी शाक्य थिए ।

२०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचन पछि भने नयाँ संविधान अनुसार निर्वाचन हुन थाल्यो । निर्वाचन प्रणाली पनि फरक अपनाइन थाल्यो।  २०४७ सालको संविधानमा रहेकाे अनिवार्य पाँच प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रावधान हटाइयो ।

६०१ जना कुल सभासद मध्ये १७४ जना महिला सभासदमा प्रत्यक्ष जित्ने २९ जना रहेका थिए भने समानुपातिक सभासद १४५ जना रहेका थिए । 

२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा ११ जना प्रत्यक्ष, १६२ समानुपातिक र मनोनित ४ जना लगायत कुल १७७ जना महिला निर्वाचित भएका थिए । 

प्रत्यक्षमा पुरुष, समानुपातिकमा महिला 
नेपालको संविधान २०७२ ले संसदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चिता गरेको छ । त्यसले प्रत्यक्ष चुनिएर आउने महिलाको संख्या घटाएको छ । 

संविधान जारी भएपछि २०७४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भने कुल १६५ जना प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित भएका थिए । जसमध्ये ६ जना मात्रै महिला सांसद प्रत्यक्ष निर्वाचित भए । कांग्रेसका कुनै पनि महिला सांसदले निर्वाचन जित्न सकेनन्। एमालेका पवित्रा खरेल निरौला र  पद्मा अर्याल विजयी भए । माओवादी केन्द्रका पम्फा भुसाल, कमला रोका र बीना मगर विजयी भएका थिए ।

पछि एमाले सांसद रवीन्द्र अधिकारीको मृत्यु भएपछि भएको उपनिर्वाचनमा विद्या भट्टराईले जितिन् । यसरी संख्या ७ पुग्यो। उता समानुपातिकबाट ११० जना सांसद चुनिनेमा ८४ जना महिला सांसद चुनिएका थिए । र, यसरि २०७४ मा प्रतिनिधि सभा सदस्यमा एक तिहाई महिला पुगेका थिए । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट १२९ महिलाले उम्मेदवार थिए । तर जित्ने सम्भावना भएका दलहरुले नै निकै कम संख्यामा महिलालाई उम्मेदवार बनाएका थिए । कांग्रेसले ७, एमालेले ५ र माओवादी केन्द्रले ४ महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएको थियो।

आसन्न निर्वाचनकाे मतगणना जारी भइरहँदा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ जनाको उम्मेदवारी परेकाे थियाे । जसमा २ सय २५ जना मात्रै महिला छन् । जुन उम्मेदवारी २०७४ को भन्दा पनि कम हो । दलहरुबीच चुनावी गठबन्धन हुनु, दलका नेताहरुलाई भागबण्डा गर्नु पर्ने भएकाले पनि दलहरुले प्रत्यक्ष तर्फ सोचे जति महिला उम्मेदवार दिन नसकेका हुन् ।

उम्मेदवारको संख्या कम भएसँगै निर्वाचित हुने संख्या कम हुनु पनि स्वभाविकै हो । दलहरुले प्रत्यक्ष निर्वाचनमा महिलालाई चुनाव लड्ने अवसर नदिए पनि संवैधानिक व्यवस्था बमोजिम महिलालाई एक तिहाइ समावेश गर्न समानुपातिकमा सिट छुट्याएर राख्ने गरेका छन् ।