close

समानुपातिकतर्फ एक करोड मतगणना

समानुपातिकतर्फ एक करोड मतगणना

Trulli
ADVERTISEMENT

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड एक लाख ७१ हजार ३६३ मतगणना भएको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात एक करोड नौ लाख ७३ हजार २७ मत खसेकामा अब करिब आठ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख बिस हजार ६९२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४५७ सहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७८ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले चार लाख आठ हजार ९६४ मत पाएका छन् भने  जनमत पार्टीले तीन लाख ७६ हजार १९९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान निर्धारण गर्नेछ ।

दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।