close

स्कूलको सभाहलमा महानगरको नगरसभा

स्कूलको सभाहलमा महानगरको नगरसभा

Trulli
ADVERTISEMENT

ललितपुर । जवलाखेलस्थित सेन्ट जेभियर्स स्कूलको सभाहल छिर्ने वित्तिकै स्थानीय तह जस्तै लाग्छ । स्थानीय तहका जनप्रतिनिधि र नगर सभाका हुने कार्य सोही सभाहलबाट भइरहेको छ । स्थानीय तहमा हुने सम्पूर्ण कार्य सभाहलबाटै भएको देखिन्छ । 

सभाहलमा एक स्टेज निर्माण गरिएको छ । स्टेजमा ढाका टोपीसहितका बालक र साडी चाेली लगाएकी बालिका टिपोटकर्ताको भूमिकामा छन् ।  छेवैको सोफामा उपाध्यक्षको नेमप्लेटसहित दौरा सुरुवालमा सजिएका बालक छन् । साथै साडी र चौलीमा सभाध्यक्ष अर्थात् पालिकाको प्रमुख बसेकी छिन् । वडाका जनप्रतिनिधिहरुकाे भूमिकामा विभिन्न जातजातीको प्रतिनिधित्वसहितको पहिरणमा देखिन्छन्। 

सो स्टेजमा आसिन बालबालिकाले शुक्रबार सेन्ट जेभियर्स स्कुलकाे कक्षाकाेठामा ललितपुर महानगरपालिकाको दोस्रो नमुना बालसभा सञ्चालन गरेका थिए। महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य बज्रचार्य, प्रवक्ता राजु महर्जन र वडाध्यक्षहरु स्टेजमा भइरहेको बाल नगर सभाकाे दृश्यलाई नजिकबाटै नियाल्दै थिए।  

समाज कल्याण महाशाखा, अन्य सामाजिक सघंसंस्था र महानगरपालिकाको आयोजनामा सो नमुना बाल नगरसभा पुषा २६ देखि २९ गतेसम्म सञ्चालन भएकाे थियाे।

नगर सभामा विभिन्न वडाका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा बाल क्लबमा आबद्ध बालबालिकाहरु तीन दिन देखि ‘बालनगर सभा अभ्यास कार्यक्रम’बाट सिकेर कार्यक्रमकाे अन्तिम दिन बाल नगर सभा सञ्चालन गरेको जानकारी दिइएको छ । 

बालबालिकालाई स्थानिय तहको संरचना, पदाधिकारिका काम र कर्तव्य, नगर सभा सञ्चालन कसरी गरिन्छ र त्यहाँ कसरी निर्णय गरिन्छ भन्ने बारे बालबालिकालाई जानकारी  दिनको लागि सो कार्यक्रमको आयोजना गरिएको आयोजक टाेलीले जानकारी दियाे। 

कार्यक्रममा पालिकाभित्रका विभिन्न वडाको ७२ जना बालबालिकाको सहभागिता थियो ।  

नमुना बाल नगरसभाको दृश्य

मञ्चमा नगर सभाका सञ्चालकको रुपमा रहेका नमुना बाल प्रमुख प्रशासकिय अधिकृतले कार्यक्रम प्रारम्भ भएको जानकारी गराउँछन् । त्यस पछि उनले नमुना बाल नगर सभाका सभापति, नमुना बाल संयोजकहरु, नगरपालिकाका नमुना बाल नगर सभाका सदस्यहरु, महाशाखाका नमुना बाल प्रमुख र नमुना बाल कर्मचारीहरुलाई पालैपालो आसन ग्रहण गराए। 

आसन ग्रहणपछी राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रम शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अघि बढ्छ । 

बाल नगरसभाका उपप्रमुख अर्थात् सभाका उपाध्यक्षले लिखित स्वागत मन्तव्य वाचन गरेर सबैलाई स्वागत गरे भने नगर प्रमुखले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिन्। 

औपचारिक रुपमा उद्घाटन भएको बाल नगरसभामा पालिकाले गर्ने नगर सभा जस्तै नमुना बाल नगर प्रमुखले आउँदो एक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन्।  प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नसमेटिएका, चित्त नबुझेका तथा सुझावहरु हात उठाएर नमुना बाल नगर सभासद्ले पालैपालो राखे। सभासद्ले राखेका सबै जिज्ञाशा र प्रश्नको नगर प्रमुखले पालैपालो जवाफ दिइन्।

सभाकी अध्यक्षले नगरसभाबाट नीति तथा कार्यक्रमका प्रस्ताव सुनाइन्। योजनामा समर्थन जनाउनेले हुन्छ भने । र हुन्न भन्दै केहीले असमर्थन जनाए। समर्थन जनाउनेको बहुमत भएका योजना पारित गर्न नगर प्रमुखले अनुरोध गरिन्। सबैले तालि बजाएर योजना पारित गरे । केहि योजना संसोधन गरेर पारित भए।  

नीति तथा कार्यक्रम पारित भएपछि  विगत एक वर्षमा नगरपालिकाले गरेको क्रियाकलापको समिक्षा भयो। समिक्षा पछी आगामी वर्षको बजेट उपप्रमुखले प्रस्तुत गरे। उपप्रमुखले प्रस्तुत गरेको बजेट सर्वसम्मत, बहुमत र संसोधन गरेर पारित भयो। अन्त्यमा नगर सभासद र नगर प्रमुखको समापन मन्तव्यसँगै दोस्रो नमुना बाल सभा समापन भयो। कार्यक्रमको क्रममा विभिन्न समुदायका पोसाकमा सजिएका बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए।  

बालमैत्री स्थानीय सरकारको माग
कार्यक्रमको बन्द सत्रमा बालबालिकाले तीन दिनको अभ्यासबाट आएको मागहरु महानगरकी उपप्रमुख सामु राखेका थिए। नगरसभाहरुमा बाल सहभागिता बढाउन, वडा र विद्यालयमा बाल संरक्षण नीति बनाउन, बालश्रम अन्त्य गर्न महानगरपालिकाले चासो देखाउनुपर्ने बालबालिकाको माग रहेको बताए। 

विद्यालयमा  स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, सहज सडकमार्ग, लैंगिक हिंसामुक्त महानगरको माग बालबालिकाले कार्यक्रममा गरेका थिए। अपांगता तथा अन्य कारणले विद्यालय जान नपाएका बालबालिकालाई  पनि गुणस्तरीय शिक्षाको माग सभामा सहभागि बालबालिकाले गरेका थिए। 

बालमैत्री सार्वजनिक संरचना, बाल बिवाह मुक्त समाजका साथै मनोरञ्जन र खेलकुदको व्यवस्था गरिदिन बाल नगर सभामा बालबालिकाले माग गरेका थिए। उनीहरुले स्थानिय तहमा बालबालिकाका लागि निर्णयमा बाल सहभागिताको माग गर्दै आफ्ना कर्तव्य पूरा गर्ने प्रतिबद्धता समेत जनाएका थिए। 

बालबालिकाको माग सम्बोधन गर्छौँः उपप्रमुख शाक्य

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले स्थानिय सरकारको विविध विषयमा पछिल्ला पुस्तालाई जानकारी गराउन बाल नगर सभाको आयोजना गरिएको बताइन्। उनले किताब पढेर परिक्षामा पास भएर मात्र नहुने बताउँदै गर्दै सिक्दै व्यवहारिक ज्ञान हासिल गर्ने परिपाटीको विकास गर्न बाल नगर सभाको आयोजना गरिएको बताइन्। 

नमुना बाल नगर सभाले बालबालिकाको आवश्यकता बुझ्न सहयोग गरेको बताइन् । साथै उनले अभ्यास कार्यक्रमका प्रशिक्षार्थी तथा आयोजक संस्थालाई आगामी नमुना बाल नगर सभामा बालबालिकाको आफ्नो आवश्यकता, अपेक्षा उनीहरु आफैंले उठाउन सक्ने वातावरण बनाउन आग्रह गरिन्। 

तालिममा सिकाएर भन्दा  महशुस गरेको आवश्यकता र मागको आफै पहिँचान गर्न सघाउनुपर्ने उनको भनाई छ। बालबालिकालाई व्यवहारिक शिक्षा दिन अभिभावक शिक्षकलाई उनले अनुरोध गरिन् ।  ‘हामी धेरै कुरा जानेको बुझेको सोच्छौँ। बुझेका पनि छौँ। तर बालबालिकाको समस्या र आवश्यकताको विषयमा बालबालिकाले भन्दा बढी बुझेका छैनौँ, उनी भन्छिन्, उहाँहरु आफैलाई आफ्नो आवश्यकता र मागका विषयमा बोल्न सक्ने बनाउनु पर्छ।’

बालबालिकाको अधिकत आवश्यकता समेटिएर महानगरपालिकाले नीति तथा कार्यक्रम बनाइएको र बजेट छुट्याएको उनको भनाई थियो । यस नीति तथा कार्यक्रममा छुटेका विषवस्तुलाई महानगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने उनले सोही कार्यक्रममा प्रतिबद्धता जनाएकी छिन् ।