close

पूर्वाधार निर्माणमा भन्दा व्यवस्थापकीय पक्षमा महानगरवासीको चासो

पूर्वाधार निर्माणमा भन्दा व्यवस्थापकीय पक्षमा महानगरवासीको चासो

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आइतबार राष्ट्रिय सभा गृहमा सम्पन्न महानगरको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिक मार्फत यस्ता अपेक्षा गरेका हुन् । 

प्रश्नकर्ताले दिएका सुझाव तथा सोधिएका प्रश्नहरु, सडक पेटी, पैदल यात्रामैत्री सडक, पार्किङ् व्यवस्थापनबाट सहरी गतिशीलता, फोहोरको दिगो संकलन र व्यवस्थापन, विकास निर्माण र सुविधा वितरणमा काम गर्ने सरकारी कार्यालयबिच समन्वयलगायत विषयसँग सम्बन्धित रहेको सार्वजनिक सुनुवाइ भएको थियो। यस्तै पूर्वाधार निर्माण गर्दा मौलिकता जोगाउँदै समावेशी र अपाङ्मैत्री संरचनामा ध्यान दिनुपर्ने लगायत विषयमा सुनुवाइ भएको थियो। 

खुल्ला मञ्च व्यवस्थापनको योजना के हो ? सामुदायिक कुकुर व्यवस्थापन महानगरले कसरी गर्दै छ? जस्ता विषयमा नागरिकको चासो अभिव्यक्त भएको महानगरले जनाएको छ । 

महामारी नियन्त्रणलगायत सहरी स्वास्थ्य प्रवर्धन, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, सेवा प्रवाह र कार्यालय सञ्चालन प्रणालीका विषयमा सेवाग्राहीको प्रश्न थियो । सार्वजनिक स्थलहरुमा नागरिकको सुरक्षा, सरल र पहुँचयुक्त सार्वजनिक यातायात, तार, होर्डिङ् बोर्ड र डिजिटल बोर्डको व्यवस्थापनमा सेवाग्राहीको चासो छ । 

नागरिकका प्रश्न सुनिसकेपछि सुनुवाई कार्यक्रमको अध्यक्षता गरेकी महानगरकी उपप्रमुख सुनिता डंगोलले सेवाग्राहीसँगको दोहोरो संवादबाट सुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने बताइन् । ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिवद्ध छौँ ।’ उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ््यपुस्तक अझै सरल बनाउनु पर्ने जिज्ञासाको उत्तरमा भनिन्, ‘ती पाठ्य पुस्तकबाट भाषा पढाउने भन्दा काठमाडौंको मौलिकतालाई आम नागरिकको जानकारीमा पु¥याउने लक्ष्य राखिएको छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहरी विकास र सुविधा वितरणका लागि धेरै निकाय भएकोले महानगर एक्लैको प्रयासले सोचेको जस्तो उपलब्धी नदेखिने बताए। ‘असरल्लतार काट्ने र अनावश्यक झिकेर जोडिदिने गरिएको छ । होर्डिङ् बोर्ड हटाउने कामलाई तीब्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ् सुविधालाई व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।’ विश्वास, विचार र विकासको रणनीतिमा काम गरिरहेको उनले बताए। 

प्रवक्ता नविन मानन्धरले भने, ‘नागरिकको विश्वास जितेका छौँ । कार्यकाल सुरु भएको १ वर्ष हुन लागेको छ । अहिले नागरिकको विचार बुझ्ने काम गरिरहेका छौँ । यसरी प्राप्त विचारका आधारमा विकास गर्ने छौँ ।’ सहरी सुरक्षा, मौलिकताको प्रवर्धन र विकास निर्माण सँगै स्वास्थ्य शिक्षा र रोजगारीलाई प्राथमिकता दिइएको प्रवक्ता मानन्धरको भनाइ छ । 

महानगरको योजना वैङ्क भएका कार्यक्रम, वडाले सम्पादन गर्ने काम, सेवा लिन जाँदा सेवाग्राहीप्रति गरिने व्यवहार प्रश्नकर्ताले सेवाग्राहीको अनुभवका रुपमा सोधिएका थिए । सुनुवाई सुरु गर्नुअघि स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । 

महानगरका १५० जना सेवाग्राहीसँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, पारदर्शितालगायत शीर्षकमा सोधिएका प्रश्न जवाफमा आधारित नतिजा आएको जनाइएको छ । सोधिएका प्रश्नमा नागरिकले दिएको उत्तरलाई नागरिक प्रतिवेदन पत्रका रुपमा प्रस्तुत गरिएको थियो । 

त्यसै गरी सेवालिएर कार्यालयबाट बाहिर निस्कने सेवाग्राहीलाई सेवा कति सहजतापूर्वक प्राप्त भयो भनेर सोधिएको प्रश्नबाट प्राप्त भएको जवाफ समेटेर बहिर्गमन अभिमतको परिणाम तयार पारिएको महानगरले जनाएको छ।  प्रतिवेदनमा धेरै उत्तरकर्ताहरु तटस्थ पाइएको छ। सेवा लिन जाँदा सुचना पर्याप्त प्राप्त गरेको, कम समयमा नै सेवा प्राप्त हुने गरेको, खोजेको कागज तुरुन्तै पाइने गरेको बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।