close

भक्तपुरमै एमफिल र पीएचडी अध्यापन गराउन माग

भक्तपुरमै एमफिल र पीएचडी अध्यापन गराउन माग

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका युवाहरुले आगामी वर्षमा एमफिल र पीएचडी अध्ययनको वातावरण सृजना गर्न माग गरेका छन् । शुक्रबार नगरपालिकाको आयोजनामा बजेट निर्माणको लागि राय सुझाव संकलन गर्ने क्रममा सो माग गरेको हो । 

नगरपालिकाले कार्यपालिका भवनको सभाकक्षमा युवा विद्यार्थीहरुसँग बजेट निर्माणको लागि राय सुझाव संकलन गरेको हो । नगरपालिकाको अनुसार पालिकाद्धारा सञ्चालित ख्वप कलेजमा सो कक्षा सञ्चालन गर्नको लागि माग  गरेका हुन् । 

कार्यक्रममा सहभागी भएका विद्यार्थीले परम्परागत सीपहरुलाई व्यवसायिकरण गर्नुपर्ने, नगरस्तरीय पुस्तकालयलाई जीवन्तता दिन बजेट छुट्याउनुपर्ने,  अनलाइनमार्फत भुक्तानीको व्यवस्था गर्नुपर्ने, ढुंगाधाराहरुलाई जीवन्तता दिनुपर्ने, महेश्वरी खेलमैदान स्तरोन्नति गर्नुपर्ने, खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्ने, आन्तरिक पर्यटकहरुको लागि शौचालय व्यवस्था गर्नुपर्ने, ख्वप अस्पताललाई अपांगमैत्री बनाउनुपर्नेलगायतका सुझावहरु राखेका थिए । 

कार्यक्रममा नगरप्रमुख सुनील प्रजापतिले बेरोजगार समस्या समाधान गर्न नगरपालिकाले युवा लक्षित कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरु दिदै आएको बताए ।  पठन संस्कृतिको विकास गर्न वडा वडामा रहेका पुस्तकालयहरुलाई आर्थिक सहयोग समेत दिदैँ आइरहेको र आवश्यकताको आधारमा भेलाबाट नीति  तथा कार्यक्रम थप परिमार्जित हुने बताए ।

 कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत विजयकुमार शर्माले पर्यटकहरुलाई थप आकर्षित गर्नको लागि आर्थिक गतिविधिमा संलग्न गराउनुपर्ने बताए ।