close

प्रेमसिंह धामी स्मृति प्रतिष्ठानद्वारा छारुङमा तीन नेताको सालिक निर्माण

प्रेमसिंह धामी स्मृति प्रतिष्ठानद्वारा छारुङमा तीन नेताको सालिक निर्माण

Trulli
ADVERTISEMENT

काठमाडौँ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलो पटक उठाउने तथा त्यो मुद्दालाई राष्ट्रियरुप दिने दार्चुलाका तीन जना दिवङ्गत नेताको सालिक निर्माण गरिएको छ ।

व्याँस गाउँपालिका–१, छारुङको घाघाबगरमा पूर्व वन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुवरले पालिका खबरलाई जानकारी दिएका छन् ।

'कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले सालिक निर्माण गरेको हो,' उपाध्यक्ष कुवरले पालिका खबरसँग भने, ‘यसमा पालिकाले के कति सहयोग गरेको छ भन्ने बुझ्न पाएको छैन । मैले पनि त्यो सालिक हरेर आएँ ।’

कालापानीमा भारतीय अतिक्रमणको विषय पञ्चायती शासनकालमा तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले पहिलो पटक उठाएका थिए ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए ।

यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए । ऐतवाल र बोहरा छाङरुका बासिन्दा समेत हुन् ।

छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाको तयारी छ ।

व्याँस गाउँपालिकामा पर्ने नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा वर्षौँदेखि भारतीय सेनाको कब्जामा छ । भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपालले चुच्चे नक्सा समेत जारी गरे पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन कुनै पहल गरेको छैन ।

उपाध्यक्ष कुवर भने अतिक्रमित भूमि राष्ट्रिय मुद्दा बनिसकेको कारण व्याँस गाउँपालिकाले कालापानी, लिपुलेक र लिम्पियाधुरामा बसोबास गर्ने नेपालीसँग सांस्कृतिक सम्बन्ध मात्र भए पनि कायम राख्न पहल गरेको उपाध्यक्ष कुवरले बताए ।

साथै उनले अतिक्रमित भूमिमा रहेका बासिन्दा र स्थानीयलाई एकअर्का कहाँ आवत जावतमा नै लागेको रोक हटाउन समेत पहल गर्ने प्रयास गरिएको बताए । 'अहिले यहाँका जनताको माग भने घटीमा सांस्कृतिक सम्बन्ध कायम होस् भन्ने नै हो,' उपाध्यक्ष कुवरले भने ।