close

रुकुम-पश्चिममा भिडियो एक्सरेमार्फत् गर्भ जाँच

रुकुम-पश्चिममा भिडियो एक्सरेमार्फत् गर्भ जाँच

Trulli
ADVERTISEMENT

काठमाडौं । रुकुम पश्चिमकाे ग्रामीण भेगमा गाउँमै भिडियो एक्सरेमार्फत् गर्भ जाँच गरिएको छ ।

सानीभेरी गाउँपालिकाका चार ठाउँका एक सय ६ महिलाको गर्भ जाँच गरिएको हो ।

ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाइनाबगरमा १५, गाउँपालिका २ को गिठाकोटमा २२, गाउँपालिका १० को अर्मामा २६ जना र गाउँपालिका ७ को छोटेबगरमा ४६ जनाको गर्भ जाँच गरिएको जिल्ला अस्पताल सल्ले रुकुमका अस्पताल नर्सिङ निरीक्षक प्रेमा केसीले जानकारी दिइन् । 

ग्रामीण भेगका महिला सुगम ठाउँमा गर्भ जाँच गर्न जान नसक्ने भएकाले गाउँमै गएर अल्ट्रासाउन्ड मार्फत गर्भ जाँच गरिएको नर्सिङ निरीक्षक केसीले बताइन् । 

जाँचका क्रममा ११ जना महिलाको पेटको बच्चा उल्टो भेटिएकोले आवश्यक परामर्शसहित रेफर गरिएको उनले जानकारी दिइन् । 

अल्ट्रासाउन्ड मेशिन र तालिम प्राप्त जनशक्तिको अभावका कारण धेरैजसाे महिलाले भिडियो मार्फत गर्भ जाँच सेवा लिन पाएका छैनन् । गर्भ जाँच गराउन आएका धेरैजसाे महिलाले पहिलो पटक आफ्नो पेटको बच्चाको भिडियोमार्फत जाँच गरेको बताएका छन् ।

भिडियाेमार्फत् बच्चा र आफ्नोसमेत स्वास्थ्य अवस्था जान्न पाउँदा उनीहरूले खुसी व्यक्त गरेका छन् । 

बेलैमा गर्भावस्थाको समस्या पत्ता लगाउन भिडियो एक्सरे मेशिन नै बोकेर गाउँमा गएकोले मातृ तथा शिशु मृत्युदर घटाउन यस्ता कार्यक्रम प्रभावकारी देखिएकाे छ ।

सानीभेरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोकाले हरेक टोलमा रहेका गर्भवतीहरूकाे यसरी नै गर्भ जाँच गर्ने सेवा मिलाउन आवश्यक रहेको बताइन् ।