close

भक्तपुरको फोहरबाट मोहर, अरूले सिक्ने कहिले?

भक्तपुरको फोहरबाट मोहर, अरूले सिक्ने कहिले?

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन चुनौती बनेको छ । लामो समयदेखि फोहर व्यवस्थापनलाई राजनीतिक दलले आफ्ना एजेन्डा बनाएको छन् । तर, जनतालाई फोहरबाट राहत दिन भने सधैँ चुकेका छन् ।

स्थानीय शासन कार्यान्वयनमा आएपछि उपत्यकाको फोहर व्यवस्थापनले अझ प्राथमिकता पाउँदै आएको छ । तर, स्थानीय सरकारले एक कार्यकाल व्यथित भई दोस्रो कार्यकाल आरम्भ हुँदासम्म दुर्गन्धित काठमाडौं उपत्यकाको यो समस्या ताजै छ ।

सम्बन्धित निकायले उपत्यकाको फोहर व्यवस्थापनका लागि विकल्प खोजिरहेका बेला छिमेकी जिल्ला भक्तपुरको भक्तपुर नगरपालिकाले नगरको फोहर नगरभित्रै सहज रूपले व्यवस्थापन गरिरहेको छ ।

उपत्यकाका अन्य स्थानीय सरकारले सिसडोल, बन्चरेडाँडा र काभ्रेपलाञ्चोकमा पुर्‍याइरहँदा भक्तपुरको फोहर व्यवस्थापन सबैको लागि उदाहरणीय कार्य बन्न सक्छ ।

फोहर व्यवस्थापनलाई चुनौतीको रुपमा लिएका उपत्यकाका नगरपालिका आफैँले फोहरको व्यवस्थापन गर्न सकेमा काठमाडौं सफा हुनसक्ने भक्तपुर नगरपालिकाको राय छ । 

 

यसरी गर्छ, भक्तपुर नगरपालिकाले फोहर सङ्कलन 

भक्तपुरले लामो समयदेखि आफैँले स्रोतबाट नै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्छ । घनाबस्ती भएको पुराना क्षेत्रमा दैनिक रूपमा ६ ट्राइसाइकलले फोहर सङ्कलन गर्छ भने नयाँ बस्तीमा दुई दिनमा एक पटक सङ्कलन गर्दै आएको छ । 

सडकको फोहर लिन गएको गाडीमा मानिसहरूले फोहरको प्रकृति नछुट्याएरै फालिदिएका हुन्छन् । नकुहिने फोहरमध्ये पुनः प्रयोग गर्न मिल्ने फोहरलाई छुट्याएर कबाडी व्यापारीलाई बिक्री गरिन्छ । बाँकी नदी किनारका खाली जग्गामा गाडिन्छ । 

नदीका किनार भक्तपुर नगरपालिकाको डम्पिङसाइड हो ।

गन्धरहित कम्पोष्ट मल बनाउने नयाँ विधि

नगरले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउँछ । जापानी सि.एन.बि.एम प्रविधिबाट उत्पादन गरिने यो रिकिशी कम्पोष्ट मल बनाउँदा कुनै प्रकारको दुर्गन्ध आउँदैन । हाल भक्तपुर–८ स्थित ठुसासामा यस किसिमको मल उत्पादन भइरहेको छ । 

भक्तपुर नगरपालिका स्यानिटेसन शाखाका अधिकृत दिलिपकुमार सुवालले चैतदेखि अनुसन्धान सुरु भई मल बनाउन थालिएको पालिका खबरलाई बताए । 

‘चैत १० गते यस प्रविधिको परीक्षण भएको हो । पहिलो चरणमा सात सय टन कम्पोष्ट मल उत्पादन भएको छ । मल प्याकिङको काम सकिएपछि मल किन्ने र बेच्ने व्यवस्था गरिनेछ,’ उनले भने, ‘उत्पादित मलको नतिजा राम्रो आएको छ । हरेक दिन आएका फोहरको कम्पोष्ट मल बनाउने प्रक्रिया निरन्तर चलिरहेको छ ।’

मल उत्पादन परीक्षणकाल नसकिएकाले उत्पादनस्थलमा सरसफाइ अनुगमन समूहबाहेक अरूलाई स्थलगत भ्रमणको अनुमति नदिएको उनले बताए । 

‘ओपनिङ सेरोमनी गरेर मात्र अरूलाई भिजिटिङ गराउने निर्णय गरिएको हो । त्यसैले घुम्न र फोटो खिच्न दिइएको छैन,’ उनले भने ।प्रचारप्रसारमा भन्दा कामको सफलतालाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । अध्ययनबाट रिकिशी प्राङ्गारिक मल उत्पादन गर्ने निष्कर्षमा पुगेको उनले बताए । 

‘ठिमीमा यस विधिबाट मल उत्पादन भइरहेको खबर पाएर स्थलगत अध्ययन गर्‍यौँ । सो क्रममा हामीले त्यहाँ कुनै पनि प्रकारको गन्ध नआएको पायौँ,’ उनले पालिका खबरसँग भने,‘ एउटा टहरामा पनि मल उत्पादन गर्न सकिने भएकाले यो विधिको प्रयोग गरिएको हो ।’ 

फोहर व्यवस्थापन अध्ययनका लागि नगरपालिकाले फोहरमैला व्यवस्थापन अध्ययन कार्यदलको स्थापना गरेको छ । भक्तपुर इन्जिनियरिङ कलेज र ख्वप: कलेजका विज्ञ प्राध्यापकसहितको कार्यदलले भक्तपुरका लागि उपयुक्त फोहर व्यवस्थापनको विकल्पको खोजी गरिरहेका छन् । 

फोहर व्यवस्थापन पूर्णरूपमा भइनसकेकाले अझै भक्तपुर नगरपालिका फोहर व्यवस्थापनका अन्य सम्भावित विकल्प गरिरहेको स्यानिटेसन शाखाका अधिकृत सुवालले बताए ।

फोहर व्यवस्थापनका लागि बक्स विधि ल्याउने तयारीमा नगरपालिका रहेको छ । फलफूल तरकारी आउने काठका बाकसमा फोहर उत्पादन गरिनेछ । 

यसको लागि आवश्यक सामान नगरपालिकाम आइसकेको छ । र्‍याक बनाएर बक्स फिटिङ गरेर मल उत्पादन गर्न थाल्ने र जग्गा उपलब्ध भएपछि रिकिशी कम्पोष्ट मल थप उत्पादन गर्ने तयारीमा नगरपालिका रहेको उनले बताए । 

कम्पोष्ट मलको उत्पादन दर बढाउँदा गाड्नुपर्ने फोहरको अनुपात घट्ने अधिकृत सुवालको दाबी छ । 

कम्पोष्ट मलको बजार

फोहर व्यवस्थापन खर्चिलो हुन्छ । घर,सडकबाट फोहरको सङ्कलन गर्दा डम्पिङस्थलमा पुर्‍याउँदा ढुवानी र जनशक्तिको खर्च धेरै हुन्छ । 

फोहरको प्रकृति छुट्याएरै आएको कुहिने फोहर डम्पिङमा पुर्‍याउने खर्चले कम्पोष्ट मल बनाउने ठाउँमा पुर्‍याउन सकिन्छ । भाडाको जग्गा र मल तयार पार्न चाहिने थप जनशक्ति अलि खर्चिलो बनाउँछ । 

नगन्हाउने गरी मल उत्पादन गर्न थप प्राकृतिक कच्चा पदार्थको आवश्यकता पर्छ । यस्ता कच्चा पदार्थलाई ‘टोकोजे’ नामाकरण गरिएको छ । जुन जापानिज प्रविधि हो । 

नगरपालिकाले १ किलो कम्पोष्ट २० रुपैयाँमा बेच्ने तयारी गरेको छ । मल किन्नेलाई विभिन्न खालको अनुदान दिने तयारीसमेत नगरपालिकाले गरेको सुवालले बताए । उनका अनुसार नगरपालिकालाई फाइदा हुनेगरी मल बेच्ने कि किसानलाई नाफा हुने गरी भन्ने कुरामा छलफल भइरहेको छ । 

विगतमा कम्पोष्ट प्लान्टबाट उत्पादित मल उपत्यकाका किसानले पनौतीदेखि इन्डियाबाट मल किनेर ल्याउने गरेको स्थानीय किसानको भनाइ छ । 

विगतमा कुहिने फोहरबाट कम्पोस्ट मल बनाइएको थियो । तर, फोहरको गन्धका कारण नगरबासी समस्यामा परेपछि पालिकाले कम्पोष्ट मल बनाउने स्थान विभिन्न सार्दै आएको छ ।