close

हर्क साम्पाङलाई धराने जनताले पानीमा चोबलेपछि...

हर्क साम्पाङलाई धराने जनताले पानीमा चोबलेपछि...

Trulli
ADVERTISEMENT

धरान । रातो, सेतो र कालो टिसर्टमा सजिएका तीनजना युवक, पछिपछि दर्जनौ युवा उत्साहका साथ पानीमा भिजिएका छन् । खुशी छन् । नाच्दैछन् । थप भिज्न चाहान्छन् । पूरै निथ्रुक्क भएका छन् तर लहडमा देखिन्छन् ।  

त्यतिकैमा एउटा आवाज सुनिन्छ,'मेयरसाब पनि आइपुग्नु भाछ है...' । उक्त आवाजसँगै दायाँबाट सेतो सर्ट अनि ढाकामा सजिएका धरानमा मेयर हर्क साम्पाङको आगमन देखिन्छ । त्यतिकैमा भिडियोमा देखिएका दर्जनौ युवामध्ये सेतो टिसर्ट लगाएका युवकले च्याप्प समातेर पानीमा चोबल्न थाल्छन् । सबैले घेर्छन् । एकैछिनमा मेयर साम्पाङ निथ्रुक्क भिज्छन् । 

त्यतिमात्र होइन । शीरैमा लगाइएको टोपी झर्छ । पानीको फोहोराबाट बाहिर आउन चाहेको देखिन्छ ।  तर युवाहरूको झोस अझै सकिएको छैन । फेरि समातेर उतै पानीको फोहोराभित्रै फर्काउछन् । मजाले भिजाउछन् ।  भर्खरै कपाल काटेका मेयरले अनुहार पुछ्दै मुस्कुाएको भिडियो मेयर साम्पाङ आफैले फेसबुकमा पोस्ट गरेका छन् । 

सोमबार धरानमा सर्दु खर्दु निशानेबाट पानी आइपुगेपछि सबैजना पाइपबाट आएको पानीको फोहोरामा भिजेर उत्सव मनाउँछन् । सबै धरानेहरू खोलाबाट आएको पानीमा भिजेर मख्ख छन् । पानीको हाहाकार भएको धरानमा पानीको मुद्दा उठाएर जितेका मेयरले शहरमा पानी ल्याएपछि उनीहरू खुशीले नाचेका हुन् । 

धरानमा मेयर साम्पाङले शहरमा पानी ल्याइपुराएकाछौं भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । यस कार्यका सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरूलाई पनि उनले धन्यवाद दिएका छन् । साम्पाङको अभियान अन्तर्गत धरानको सर्दु, खर्दु र निशाने खोलाबाट धरान-१३ को जानकी चोक आइपुगेसँगै खुशीयाली मनाएका हुन् ।

जानकी चोक पानी आइपुगेको अवसरमा धरानेहरू खुसीले रमाएका थिए । साथै श्रमदानमा निरन्तर खटिएकाहरू नुहाएका थिए । अबको ५/६ दिनपछि बजारबीचसम्म पुर्‍याइने उपमहानगरपालिकाले जनाएको छ । बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको मेयरले  जानकारी दिए ।