close

जुम्लाका जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च

नबुझाउनेमा पातारासी, तिला, गुठिचौर र सिंजा गाउँपालिका

जुम्लाका जनप्रतिनिधिले अझै बुझाएनन् निर्वाचन खर्च

नबुझाउनेमा पातारासी, तिला, गुठिचौर र सिंजा गाउँपालिका

Trulli
ADVERTISEMENT

जुम्ला । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर जुम्लाका निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । 

अहिलेसम्म ८६ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले पालिका खबरलाई बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा बुझाउने भनेको छ,’ प्रमुख शर्माले भने, ‘तर ८६ जनाले मात्रै विवरण बुझाएका छन् । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचित उम्मेदवारहरूले समेत तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।’ 

जुम्लामा ८ वटा स्थानीय तह र ६० वटा वडा छन् । जिल्लाको पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहरा, उपप्रमुख जनमाया रोकाया, तिला गाउँपालिकाका प्रमुख मोतीलाल रोकाया, उपप्रमुख गोरीकला बुढा, सिंजा गाउँपालिका उपप्रमुख सितली रोकाया, र गुठीचौर गाउँपालिका उपप्रमुख शान्त मल्ल भण्डारीले समेत निर्वाचन खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

अहिलेसम्म हिमाका ३३, सिंजाका १, तातोपानीका १३, चन्दननाथ नगरपालिका २१, गुठिचौरका १ र कनकासुन्दरी गाउँपालिकाका १७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन् । 

जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारहरूलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराए पनि अधिकांश निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाइएको छ ।