close

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी-जोमसोम सडक अवरुद्ध

Trulli
फाइल फोटो
ADVERTISEMENT

पोखरा । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिरोले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।

पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । 

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय, मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् । 

सांसद प्रेम प्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताए । दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।

विभिन्न सडक अवरुद्ध

केही दिनयताको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन् । कतै पहिरो तथा कुनै स्थानमा सडक भासिदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ  । कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिराका कारण अवरुद्ध भएको छ । बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ । पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् ।

यसैगरी सोमबार राति १० बजेको समयमा पोखरा–२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभरफ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको छ । पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध भएको बाटो खुलाउने पहल भइरहेको जानकारी दिए । कास्कीमा गत शनिबार रातिदेखि निरन्तर ठूलो वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण आइतबार बिहान पोखरा–६ मा पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने अर्का एक घाइते भए । यसैगरी पोखरा–१३ स्थित कमलपोखरी क्षेत्रका दर्जनौँ घर अविरल वर्षाका कारण डुबानमा परेका छन् । 

मेलम्चीमा पहिरो, सडक अवरुद्ध 

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो