close

पहिरोका कारण सिंजाका ५१ घर पूर्ण क्षति

पहिरोका कारण सिंजाका ५१ घर पूर्ण क्षति

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका ५१ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । 

१९–२५ असोजसम्म परेको अविरल बर्षादसहित बाढीपहिरोले घर क्षतिग्रस्त भएका हुन् । १२० घर जोखिम पूर्ण अवस्थामा रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताले बताए ।  

उनले भने, १० किलोमिटर सडक जाँच जिप्रकादेखि भाडगाउँसम्मको  सडक बाढीपहिरोले अवरुद्ध भएको छ । 

३५ वटा साना ठुला काठेपुल बाढीले बगाउँदा नागरिकलाई एक अर्को ठाउँमा आवतजावत गर्न बन्देज भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकको सिजा गाउँपालिका क्षेत्रमा १० किलोमिटर सडकमा ६ स्थानमा पहिरो जाँदा एक सातादेखि सडक अवरुद्ध भएको छ ।  

सिंजा गाउँपालिका वडा नं. १, २ र ३ मा खेतीयोग्य जमिन बाढीपहिरोले बगाएपछि आठ सय रोपनीमा लगाएको धानबाली नष्ट भएको पालिका अध्यक्ष धितालले बताए । 

यस्तै, वडा नं. ४, ५ र ६ मा सिमी, आलु मकै लगायतको पाखेबाली पनि सखाप भएको छ । बाढीपहिरोमा परेर ३० पशुचौपायाँ बेपत्ता भएका छन् । 

१५ वटा विद्यालय भवन र प्राङ्गणमा  आंशिक क्षति भएको छ ।  गाउँपालिका भवन डुबानमा परेको र गाउँपालिकाभित्र राखेका ६ वटा मोटरसाइकल र फाइल कागजातसहित बाढीले क्षति गरेको जनाएको छ ।  

पालिकामा रहेका १० वटा सोलार प्यानल सहित गाउँपालिकामा जडान गरिएको सोलार सेट  ध्वस्त भएको छ । नराकोट प्रहरी चौकीमा पनि  क्षति पुगेको छ । 
नराकोट बजारका २२ वटा पसलमा सामान क्षति भएको छ । पालिकाभर करिब ६ हजार स्याउका बिरुवा पहिरोले पुरिएका छन्  । बाढीपहिरोले पिठो पिस्ने पानीघट्ट बगाएको छ ।

१९ वटा सिँचाइ कुलोका बाँध भत्केका छन्  ।  वडा नं. २, ३ र ४ मा रहेका चारवटा कुटानी पिसानी र तेल तथा काठ च्यात्ने मिल भत्केका छन् ।

दैनिक आपूर्ति हुने २० वटा खानेपानीका  परियोजना बाढीपहिरोले बगाएपछि खानेपानीको समस्या भएको सिंजा गाउँपालिकाले जनाएको छ । पाँच वटा साना लघु जलविद्युत्  परियोजना ध्वस्त भएपछि गाउँ अन्धकार भएका छन् ।

सिंजा गाउँपालिकामा रहेका जोडु, भाडगाउँ  चुलेलगाँउ बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालले बताए ।