close

पुगेन राहत, न खाने प्रबन्ध नत सुत्ने बास

पुगेन राहत, न खाने प्रबन्ध नत सुत्ने बास

Trulli
ADVERTISEMENT

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत पाउन नसकेको गुनासो गरेका छन् । उनीहरू तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य भएको बताउँछन् ।

भूकम्प पीडितलाई सरकारी स्तरबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यामा परेका हुन् । गत मङ्गलबार रातिको भूकम्पबाट डोटीका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ ।

स्थानीय भरत बोहरा भन्छन्, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोली हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।”

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएकाको परिवारका सदस्यलाई १ लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट १ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो।

उता अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नाटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरू बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताइन्।

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले बैठक बसेर वितरण कार्य थालिने बताइन्। उनले भनिन्, “गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, थप राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर कम्बल र त्रिपाल वितरण गर्छौं होला।”

मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए । भूकम्पमा परी ८ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जनौँ घरमा क्षति पुगेको छ। सो भूकम्पपछि यहाँ ३ सयभन्दा बढी परकम्प समेत गइसकेको छ।

यसैबीच भूकम्पमा परी घरबारविहीन भएका डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पीडितका लागि तारागाउँ विकास समितिले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री खरिदमा गर्न ३४ हजार २ सय २ रुपैयाँ प्रदान गरेको छ।