close

'प्रमुख प्रशासकीय अधिकृत आलु हुन्, तर मिसाउने चिजले स्वाद निर्धारण गर्छ'

तराईमा लामो समय टिकेका लामगादेको अनुभवमा भूगोलले फरक पार्दाेरहेनछ, उनका अनुसार नियति कि नियत भन्ने कुरा प्रधान रहेछ

'प्रमुख प्रशासकीय अधिकृत आलु हुन्, तर मिसाउने चिजले स्वाद निर्धारण गर्छ'

तराईमा लामो समय टिकेका लामगादेको अनुभवमा भूगोलले फरक पार्दाेरहेनछ, उनका अनुसार नियति कि नियत भन्ने कुरा प्रधान रहेछ

Trulli
ADVERTISEMENT

काठमाडौं । तराईंका स्थानीय तहमा कम समय प्रमुख प्रशासकीय अधिकृत टिक्ने गर्छन् । अरू स्थानीय तहमा लामो समय टिक्ने कर्मचारी तराईंका अधिकांश स्थानीय तहमा बढी ५/६ महिना मात्रै रहेर काम गर्ने गर्छन् । 

तर, रामचन्द्र लामगादेले प्रमुख प्रशासकीय अधिकृतको रूपमा ०७४ को स्थानीय तहको पहिलो निर्वाचनपछि महोत्तरीको भंगाह नगरपालिकामा दुई वर्ष काम गरे । यो नगरपालिकापछि प्रमुख प्रशासकीय अधिकृतको रूपमा उनले रामेछापको रामेछाप नगरपालिकामा २२ महिना अर्थात् करिब दुई वर्ष सेवा गरे । 

१३ वर्षअघि निजामती सेवामा प्रवेश गरेका अधिकृत लामगादेले संघीय सरकारसँगै महोत्तरीको भंगाहा, रामेछापको रामेछाप र नुवाकोटको ताँदी गरी चारवटा स्थानीय सरकारमा सेवामा रही सेवा प्रवाह गरेका उनी हालैमात्रै लमजुङको मध्येनेपाल नगरपालिकामा सरुवा भएका छन् । उनी जहाँ पुगे, त्यहीँ जमे । 

आफ्नो कार्यशैली र अडानले गर्दा आफू लामो समय तराईको स्थानीय तहमा टिकेर काम गर्न सकेको अनुभव उनको छ । तराईमा लामो समय टिकेका लामगादेको अनुभवमा कामलाई भूगोलले फरक पार्दाेरहेनछ, उनका अनुसार नियति कि नियत भन्ने कुरा प्रधान हुँदो रहेछ ।  प्रमुख प्रशासकीय अधिकृत आलु हुन्, तर जेमा मिसाइन्छ त्यसले स्वाद निर्धारण गर्छ भन्ने कुरा उनले बेला बेलामा प्रमाणित गर्दै आएका पनि छन् ।

उनका अनुसार प्रदेश वा भूगोलका आधारमा कर्मचारी टिक्ने वा सरुवा हुँदैन । कर्मचारी र जनप्रतिनिधिका कारणले मात्रै कर्मचारी टिक्ने वा नटिक्ने निर्धारण हुने उनको धारणा छ । 

कर्मचारी टिकाउ हुने हिमाल, पहाड र तराईंजस्ता भौगोलिक कारणले नभई जनप्रतिनिधि र कर्मचारी कस्ता हुन्छन् भन्ने कुरामा भर पर्ने उनले बताए । कर्मचारीको आफ्नै कार्यशैली र व्यवहारमा पनि भर पर्ने उनको अनुभव छ । ‘दुवै पक्ष मिल्यो भने हाकिम र कर्मचारी  टिक्छन्,’ उनले थपे । 

तराईंका मात्रै नभई पहाडी र हिमाली क्षेत्रका स्थानीय तहमा पनि सोही लागू हुने उनले बताए । उनका अनुसार अधिकृत नेपाल सरकारको कर्मचारी हुने भएकाले कानुनी मान्यता र विधिको शासन अनुरूप मात्रै काम गर्नुपर्छ । आफूले स्थानीय तह र विधिको शासनलाई नजिकबाट बुझेकाले हरेक क्षेत्रमा काम गर्न सहज भएको उनको भनाइ छ । 

‘म हरेक काम कानुन र नियमअनुसार जनप्रतिनिधिसँगको समन्यवमा मात्रै गर्छु,’ उनले थपे, ‘म गएका सबै पालिकामा सहज र बुझ्ने जनप्रतिनिधि पाएको छु । त्यसैले पनि लामो समय टिक्न सफल भएँ ।’ 

नागरिकमैत्री, विधिको शासनमैत्री र विकासमैत्री जनप्रतिनिधि भएको पालिकामा कर्मचारीलाई काम गर्न सहज हुने उनको विश्वास छ ।

जनप्रतिनिधिले नियम, कानुन नमान्ने, काम नगर्ने हो भने कर्मचारी टिकाउ नहुने उनले बताए । जनप्रतिनिधिले पनि कर्मचारीलाई विश्वास गरेर कानुनी मान्यता अनुसार काम गर्नुपर्ने उनको धारणा छ । 

दुवै पक्षले एकअर्काले बुझ्न सकेमा लामो समय काम गर्नसक्ने कर्मचारी लामगाडे बताउँछन् । तर दुवै पक्षमा ‘हाकिम’ प्रवृत्ति हाबी हुने, समन्वय र सहकार्य नभएको अवस्थामा कर्मचारी छोटो समयमा सरुवा हुने उनले बताए । 

'रामेछाप र भंगाहा पालिकामा दुई/दुई वर्ष काम गरेँ । भंगाहा त सबै काम लथालिंग छाडिएका थिए,' उनले भने, भंगाहा भदौ महिनामा गएको थिए । तर नगरसभा र अघिल्लो वर्षको ६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेछ । 

आफ्नो नेतृत्वको कर्मचारीले नगरसभा र भुक्तानी गर्नुका साथै कार्यपालिकामा सफल गराउन सफल भएको दाबी उनको छ । आफ्नो कार्यशैलीले गर्दा नै आफूलाई काम गर्न सहज भएको उनले बताए । 

भंगाहा नगरपालिकाका सञ्जीवकुमार साह अधिकृत लामगादेलाई जनप्रतिनिधिलाई समन्वय गरेर संगै लैजाने कर्मचारी भएको बताउँछन् । उनले अघिल्लो र हालको कार्यकालमा चारजना प्रशअसँग काम गरिसकेका छन् । तीमध्ये लामगादे उत्कृष्ट कर्मचारी भएको उनले बताए ।

‘मैले चार जना प्रशअसँग काम गर्ने मौका पाएँ । तर, उहाँको काम गर्ने शैली फरक छ,' उनले भने, 'अरू अधिकृतमा कर्मचारीतन्त्र हाबी भएको पाउँछु । तर, उहाँसँग त्यस्तो छैन । हरेक काम सल्लाह र सुझावअनुरूप मात्रै गर्नुहुन्छ । 

सरकारको कर्मचारीसँग स्थायी सरकारको अहमता रहे पनि लामगादेमा त्यस्तो स्वभाव नरहेको उनले बताए । 

‘मधेशमा कर्मचारी टिक्न सक्दैनन् । तर, उहाँ हाम्रो पालिकामा दुई वर्ष सेवा गर्नुभयो,’ उनले स्मरण गर्दै भने, ‘जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्ने शैलीले उहाँ लामो समय टिक्नु भएको हो ।’ 

लामगादेको कार्यशैलीले आफूसमेत प्रभावित भएको उनले बताए । उनले आफू अझै पनि लामगादेलाई आफ्नो पालिकामा स्वागत गर्न तयार रहेको बताए । 

रामेछाप नगरपालिकाकी पूर्वउपमेयर सिर्जना खड्का उनलाई  परिवर्तन चाहने प्रशासकीय अधिकृतको रूपमा लिन्छिन्। खड्काले लामगादेसँग २२ महिना काम गर्न अवसर जुरेको बताइन् । 

‘उहाँसँग मैले करिब दुई वर्ष काम गरेँ । तर, उहाँमा अरू कर्मचारीको तुलनामा फरक कार्यशैली पाएँ,’ उनले भनिन्, ‘अधिकांश कर्मचारीसँग कर्मचारीतन्त्रको अहमता पाएँ । तर, उहाँसँग त्यस्तो छैन ।’ 

लामगादेलाइ विधिको शासनको परिधिमा रहेर काम गर्ने कर्मचारीको रूपमा लिन्छिन् । ‘कानुनविपरीत रहेर काम गर्न मान्नु हुन्नँ । नीति नियमलाई टेकेर मात्रै काम गर्नुुहुन्छ,’ उनले भनिन्, ‘उहाँ आफ्नो अडानमा बसेर काम गर्नुहुन्छ ।’ 

उनले नगरप्रमुख वा उपप्रमुखको मात्रै नभई राजनीतिक दलको नेताको प्रेसरमा पनि नियमविपरित काम नगर्ने कर्मचारीको रूपमा लिने गरेको बताइन् ।

‘हामी परिवर्तन चाहने जनप्रतिनिधि हौँ । तर उहाँ नियममा बसेर काम गर्नुहुन्छ,’ उनले भनिन्, ‘नहुने कुरामा जनप्रतिनिधिलाई बुझाउनु हुन्छ । सम्झाउनुहुन्छ । तर कानुनमा बसेर मात्रै काम गर्नुहुन्छ ।’

लामगादेको कार्यशैलीको मूल्यांकनको आधारमा पूर्वउपमेयर खड्काले १०० पूर्णाङ्कमध्ये ९० नम्बर दिन्छिन् । उनले आफ्नो कार्यकालमा ५ जना प्रशासकीय अधिकृतसँग काम गरेको बताइन् । त्यसमध्ये उत्कृष्ट कर्मचारीको रूपमा लामगादेलाई लिन्छिन् । 

उनले महिला जनप्रतिनिधिलाई सहयोग र समर्थन गर्ने कर्मचारीको रूपमा लिन्छिन्, ‘मैले पाँचजना अधिकृतसँग काम गरे । तर, उहाँबाहेक अरूले उपमेयर वा महिलाले यस्तो गर्नुहुन्न भनेर बन्देज लगाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘लामगादे सरले उपमेयरलाई समर्थन गर्नुहुन्छ । सल्लाह दिनुहुन्छ ।’ 

आफ्नो कार्यकालमा प्रमुखको तुलनामा आफूले धेरै काम गरेकाले पनि लामगादेले धेरै सहयोग गरेको उनले बताइन् । ‘हामी दुवै समन्वयमा योजना बनाउनुका साथै कार्यान्वयन पनि गर्थ्यौँ,’ उनले भनिन्, ‘कानुनविपरीत भएमा सल्लाह र सुझाव गर्नुुहुन्थ्यो ।’

आफू पनि प्रमुख प्रशासकीय अधिकृतसँग सल्लाहमा काम गर्दै आएको अनुभव उनको छ । मसँग आर्थिक अधिकार छैन भन्ने भएन । ‘महिला लक्षित, नगरको विकासको लागि आफ्नो क्षेत्राधिकारको काम गरेँ,’ उनले भनिन् । 

अरू प्रशासकीय अधिकृतले रोक्दा पनि विरोधमा गएर काम गरेको उनले बताइन् । ‘तर उहाँले कामको क्षमता हेर्नुहुन्छ । उहाँसँग विद्रोह गर्नुपरेन,’ उनले भनिन् । 
उनका अनुसार कर्मचारी अधिकृत लामगाडे कार्यालयमा अनुपस्थित रहे पनि आफ्नो नेतृत्वको कर्मचारीलाई आवश्यक क्षेत्रमा खटाउने गर्छन् । 

‘उहाँमा मैले असल अभिभावकत्व पाएको छु । जुन मैले अरू कर्मचारीमा पाएकी थिइन्, उनले भनिन्, ‘त्यसैले मैले उहाँलाई एक असल प्रशासकको रूपमा लिएकी छु ।’