close

सामुदायिक विद्यालयमा ट्राफिक सचेतना

सामुदायिक विद्यालयमा ट्राफिक सचेतना

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ ।

आज महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उहाँसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक मीरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

‘हामी विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौँ ।’ कार्यक्रमका बारेमा उपप्रमुख डंगोलले भनिन्, ‘विद्यार्थीहरुले पाएको सीप र ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछ । विद्यार्थी सूचनाका संवाहक हुन् । उनीहरुबाट छिटै परिवर्तन ल्याउन सकिन्छ ।’

विद्यालयहरुमा सञ्चालन गरिने यसप्रकारको सचेतना कार्यक्रमबाट काठमाडौँको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिने प्रहरी नायब महानिरीक्षक चौधरीले बताए ।

सचेतना कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन हुनेछन् । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीकाअनुसार प्रार्थाना हुने समयमा सबैका लागि पहिलो कक्षा चलाइनेछ ।

त्यसपछि रुची र उमेरका आधारमा ठूला कक्षाका विद्यार्थीलाई ट्राफिक स्वयम्सेवक सम्बन्धी शिक्षा र ज्ञान दिइनेछ । यसरी सैद्धान्तिक कक्षा लिइसकेका विद्यार्थीहरुलाई स्वयमसेवकका रुपमा सडकमा प्रयोगात्मक सीप सिकाइनेछ । 

सामुदायिक विद्यालयबाट सुरु भएको कार्यक्रम संस्थागत विद्यालयहरुमा विस्तार गरिने लक्ष्य राखिएको छ ।