close

नार्पाभूमि, यस्तो गाउँपालिका जहाँ न सडक छ नत राज्य नै (भिडियो)

नेपालको सबैभन्दा अग्लो स्थानमा मानव बस्ती भएको गाउँपालिका रूपमा चिनाउनु छ : अध्यक्ष लामा

नार्पाभूमि, यस्तो गाउँपालिका जहाँ न सडक छ नत राज्य नै (भिडियो)

नेपालको सबैभन्दा अग्लो स्थानमा मानव बस्ती भएको गाउँपालिका रूपमा चिनाउनु छ : अध्यक्ष लामा

Trulli
नार्पाभूमि गाउँपालिका अध्यक्ष लामासँग कुराकानीको क्षण
ADVERTISEMENT

नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका हो, मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका । 

गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये अहिलेसम्म यातायात सञ्जालले छुन नसकेको गाउँपालिका समेत हो, नार्पाभूमि । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती समेत नार्पाभूमि मै छ । यही तथ्यलाई प्रमाणित गराउन प्रयास थालेका छन्, नवनिर्वाचित गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा । उनको पहिलो प्राथमिकता नै यही हो । 

जम्मा ६१५ जनसङ्ख्या रहेको यो गाउँपालिकामा ५ वटा वडा छन् । अहिले यहाँका सबैजसो बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर लागेको हुँदा आफू काठमाडौँ आएको अध्यक्ष लामा बताउँछन् । 

सम्पन्न नार्पाभूमि, प्रसन्न नार्पा जाति भन्ने चुनावी नारा सहित निर्वाचनमा होमिएका कोन्जो नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्दै १ सय ५८ मत ल्याएर विजयी बनेका थिए । यस अघि २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदा निर्विरोध उपाध्यक्ष बनेका कोन्जो यस पटक मतदानमार्फत नार्पाबासीको मन जित्न सफल बनेका हुन् । 

छिट्टै नार्पाभूमिलाई सडक सञ्जालमा जोड्न अहिले गाउँपालिकाले खरिद गरेको एक्स्काभेटर र डोजरले काम गरिरहेका छन् । अबको पाँच वर्षमा गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने अध्यक्ष कान्जोको प्रतिबद्धता छ । 

राज्यको उपस्थिति नै नदेखिने यो गाउँपालिकाको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल र भौतिक पूर्वाधारलाई प्राथमिकताका साथ अघि बढाउने उनको योजना छ । 

नार्पा जातिहरूको पहिचान सहितको गाउँपालिका बनेपछि नार्पालीहरु दङ्ग भने परेका छन् । उनीहरूले यसलाई सुनौलो युगको रूपमा समेत व्याख्या गर्ने गरेका छन् । 

नार्पाभूमि गाउँपालिको सीमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । चीनसँग जोडिएको क्याङछिमी नाका सञ्चालन गर्ने र सीमा स्तम्भहरूलाई व्यवस्थित बनाउने योजना समेत उनको छ । 

नार्पाभूमि गाउँ पालिका बारे बाहिर नआएका कतिपय विषयमा हामीले नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामासँग कुराकानी गरेका थियौँ । पालिका खबरका लागि जनकराज पण्डितले उनीसँग गरेको गरेको भिडियो कुराकानी :