close

८–१० महिनामै अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने योजना छ : मेयर भट्ट (भिडियो कुराकानी)

८–१० महिनामै अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने योजना छ : मेयर भट्ट (भिडियो कुराकानी)

ADVERTISEMENT

कैलाली । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका विरेन्द्र भट्टले कैलालीको गोदावरी नगरपालिकाको मेयरमा जित हासिल गरेका छन् ।

५ वर्षअघि नेकपा एमालेका हरि सिह साँउदसँग पराजित भएका भट्टले दोस्रो प्रयासमा एमाले कै गोकर्ण भट्टलाई पराजित गर्दै ५ वर्षअघिको हारलाई जितमा बदलेका हुन् । २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट चुनाव लड्दा गोकर्ण भट्ट तेस्रो भएका थिए ।

कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवस्थित गोदावरी नगरपालिकालाई समेटेर सुदूरपश्चिम प्रदेशको राजधानी समेत घोषणा गरिसकिएको छ ।

हिन्दुहरूको पवित्र नदी गोदावरीबाट सिञ्चित रहेको गोदावरी नगरपालिका धार्मिक महत्त्वको क्षेत्र पनि हो । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरी ज्ञान आर्जन गरेको साथै द्वापर युगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पाँच पाण्डव जस्ता तपस्वीहरूले समेत यस क्षेत्रको विचरण गरी यसै पवित्र गोदावरी नदीमा स्नान गरेर ज्ञान हासिल गरेको विश्वास गरिन्छ । जसको सम्झना स्वरूप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रान्तिमा विशेष मेला समेत लाग्ने गरेको छ ।

समृद्ध नगरको निर्माणमा विज्ञहरू सम्मिलित टोली बनाएर पञ्चवर्षीय योजना तयार पार्ने कार्यमा अहिले मेयर भट्ट जुटेका छन् । साथै विदेश पलायन भइरहेका युवाहरूलाई कसरी देश मै स्वरोजगार बनाउने तथा किसानहरूको आर्थिक अवस्था कसरी माथि लैजाने भन्ने विषयमा समेत काम अघि बढाउने दाबी उनी गर्छन् । साथै ८–१० महिनाभित्रै अव्यवस्थित बसोबासको समस्या समाधान गर्न आफ्नो पहल रहने समेत उनी बताउँछन् ।

सुदूरपश्चिममा स्थापना हुन लागेको गेटा मेडिकल कलेजमा प्रदेशका न्यून तथा मध्यम वर्गका विद्यार्थीले सहजरुपमा अध्ययन गर्ने वातावरण तयार गर्नु पर्ने माग समेत उनको छ ।

गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया बजार पूर्व पश्चिम राजमार्ग र यस प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गमा अवस्थित छ । यो नगरपालिका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूको प्रवेशद्वार रुपमा समेत परिचित छ । चुरे पर्वत शृङ्खलाको काखमा रहेको यो नगरपालिकाको सेवा केन्द्र केन्द्र अत्तरियामा छ । 

नवनिर्वाचित मेयरहरूसँगको कुराकानी प्रस्तुत गर्ने क्रममा पालिका खबरका सहकर्मी जनकराज पण्डितले गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टसँग गरेको संवादको सम्पादित अंश ।