close

थारु बाहुल्य गाउँपालिकाका अध्यक्ष केसी भन्छन् : सरकारले सौतेनी व्यवहार गर्‍यो (भिडियो कुराकानी)

थारु बाहुल्य गाउँपालिकाका अध्यक्ष केसी भन्छन् : सरकारले सौतेनी व्यवहार गर्‍यो (भिडियो कुराकानी)

ADVERTISEMENT

बर्दिया । जनप्रतिनिधिले चाहेको खण्डमा पालिकाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ, बर्दियाको गेरुवा गाउँपालिका । 

२०७४ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जमानसिंह केसीको निरन्तर मेहनतकै कारण यो गाउँपालिकाको सबै वडामा भवन बनेका छ । पालिकाले समेत भव्य प्रशासनिक भवन बनाएर सेवा प्रदान गर्न थालिसकेको छ । जसले गर्दा भाडा वापत वर्षेनी लाखौँ रुपैयाँ तिर्नु पर्ने बाध्यताबाट गाउँपालिकाले मुक्ति पाएको छ । विकास निर्माणको कार्यमा उनले जगाएको  उत्साह कै कारण जनताले दोस्रो पटक पनि उनलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने गेरुवा गाउँपालिका चिसापानी क्षेत्रबाट छुट्टिने कर्णाली नदीको दुई भँगालाको बिच टापुका रुपमा अवस्थित छ । त्यसैले यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु अवलोकन गर्न सकिन्छ । यो गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो  गाउँपालिकाले जंगली जनावरकै कारण निकै पिडा व्यहोर्नु परिरहेको छ । 

बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरू मध्ये विकासको दृष्टिकोणले राम्रो सम्भावना बोकेको छ, गेरुवा गाउँपालिकाले । २०७४ सालअघि लामो अवधिसम्म निर्वाचित जनप्रतिनिधिको अभाव, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाइ हुँदा यस क्षेत्रकै अपेक्षित विकास हुन सकेन । अझ प्रदेश र केन्द्र सरकारले बितेको ५ वर्षमा सौतेनी व्यवहार देखाएर कुनै पनि योजना नदिएको अध्यक्ष केसीको गुनासो छ । यो गाउँपालिकाले खेतीबाटै आर्थिक समृद्धि हासिल गर्न सक्ने निकै सम्भावना छ । थारु समुदायको बाहुल्यता रहेको गेरुवा गाउँपालिकामा कर्णाली नदीकै कारण सिँचाइको राम्रो व्यवस्था छ ।

दोस्रो कार्यकालका लागि गेरुवा गाउँपालिकामा निर्वाचित अध्यक्ष केसीले ५ वर्षमा एक सय किलोमिटर सडक बनाएको, २ सय ९ सानातिना पुल, कल्भर्ट बनाएको र १५ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताए । उनले भाषाकै समस्याका कारण गाउँपालिकामा थारु हेल्प डेस्क संचालन गरेर सेवा दिएको पनि स्मरण गरे । साथै गाउँमा कायम रहेको बडघर प्रथाको जगेर्ना गर्नका लागि टर्चलाईट र साइकल वितरण गरेको उनले जानकारी दिए । 

गत ५ वर्षमा के गरियो त ? भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष केसी भन्छन्, ‘विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरेको छु । छोरी बचाऊँ, छोरी पढाऊँ अभियान निकै प्रभावकारी भएको ५ । छोरी जन्मँदासाथ २ हजार रुपैयाँबाट बैंक खाता खोल्दिने गरिएको थियो । त्यसलाई बढाएर अहिले ५ हजार रुपैयाँ पुर्‍याएको छु । सुत्केरीको स्याहारका लागि ५ हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको छु । जंगली जनावरबाट बच्नका लागि तारजाली लगाएर रोकथामको उपाय अघि बढाएको छु ।’

यति मात्रै होइन, बितेका ५ वर्ष अरू थुप्रै काम गरेका अध्यक्ष केसीसँग पालिकाखबरका लागि जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।